कलैयाका क्याम्पस प्रमुख कुशवाहाको हत्याका अभियुक्त ६ महिनापछि पक्राउ
बारा : बाराको कलैयास्थित रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको गोली हानी हत्या गर्ने मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । गत जेष्ठ ३२ गते बाराकै आदर्शकोतवाल गाउँपालिका-२ खजुरीया भन्ने ठाउँमा क्याम्पस प्रमुख कुशवाहाको गोली हानी हत्या गरिएको हो ।
क्याम्पस प्रमुख कुशवाहाको हत्यामा संलग्न मुख्य अभियुक्त आदर्शकोतवाल गाउँपालिका– २ घर भएका ४१ वर्षीय सुरेन्द्र कुशवाहालाई प्रहरीले हत्या भएको ६ महिनापछि पक्राउ गरेको हो । हत्या घटनापछि भागेर भारतमा लुकिछिपी बसेका कुशवाहालाई प्रहरीले मोरङ जिल्लाबाट बुधबार पक्राउ गरेको बाराका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
पक्राउ परेका कुशवाहा नेपाली सेनाका भगौडा पनि रहेको प्रहरीले जनाएको छ । यसअघि क्याम्पस प्रमुख कुशवाहाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको थियो । ती मध्ये दुईजना धरौटीमा छुटिसकेका छन् भने ८ जना पुर्पक्षको लागि कारागार चलान भएका थिए ।
पुर्पक्षको लागि कारागार चलान हुनेमा चन्द्रमणी प्रसाद कुशवाहा,चाँदशी प्रसाद कुशवाहा, सुमेद कुमार कुशवाहा, विनोद राउत कुर्मी, राधेश कुमार पटेल, अबधलाल कुशवाहा, चुल्हाई भन्ने श्रबण कुमार साह, हरिन्दर महरा चमार,ब्रहमदेव राम र मोतीलाल चौधरी रहेका छन् । राधेस कुमार पटेल र विनोद राउत कुर्मी भने अदालतमा धरौटी बुझाएर छुटेका हुन् ।
क्याम्पस प्रमुख कुशवाहाको हत्यामा प्रयोग गरिएका पेस्तोल थान–२,गोली ७ राउण्ड, मोटरसाइकल ४ थान, मोबाइल ४ थान, ल्यापटप २ थान, सिम कार्ड ७ थान प्रहरीले बरामद गरेको थियो ।