एउटै वडामा ८ करोड ३५ लाखको ६५ योजना
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१२ ले ८ करोड ३५ लाख २५ हजार ५ सय रुपैयाँको ६५ योजना एकैसाथ शुभारम्भ गरेको छ।
आर्थिक वर्ष २०८१/०८२ मा तीनै तहका सरकारबाट विनियोजित बजेट र बजेट कार्यान्वयनको लागि काम अगाडि बढाउने तयारी साथ समग्र वडाका योजनाका निर्माण कार्यको सुरुवात गरिएको वडा अध्यक्ष दिपेन्द्रप्रसाद नेपालले बताए। ती योजनाहरूको शुभारम्भ बागमती प्रदेशका सांसद युवराज दुलालले भञ्ज्याङ वरको बोट चौतारीमा फल्चा निर्माणको शिलान्यास गरी एकैसाथ गरेका हुन्।
संघीय सरकारबाट वडाको ३ वटा योजनाका लागि विनियोजित १ करोड ८३ लाख रुपैंयाबाट बच्छला सडक, साँगाचोकगढीको संरक्षण र जनजनगृति माध्यमिक विद्यालयको पार्क निर्माण गरिने जनाईएको छ। त्यस्तै प्रदेश सरकारबाट विनियोजित ४ करोड ८५ लाख रुपैयाँबाट ९ वडा योजना सम्पन्न गरिने जनाइएको छ।
सो रकमबाट छोडेडाँडा सडक, स्वाँराथोक सडक, साँगाचोकगढीको संरक्षण, मुलाबारी सिँचाइ, शान्ति पार्क निर्माण, जनजनगृति माद्यमिक विद्यालय, जुगल क्याम्पस, छाप सडक र स्वास्थ्य चौकी निर्माण गरिने भएको हो। त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिकाबाट वडाको लागि विनियोजित १४ योजना ६७ लाख ५२ हजार ५ सय रुपैंयाबाट १४ वटा योजना सम्पन्न गरिने वडाले जनाएको छ।
नगरले विनियोजन गरेको बजेटबाट सेतिदेवी मन्दिर निर्माण, बाहुनेगरा सिँचाइ पोखरी निर्माण, आरुबोटे सिँचाइ पोखरी निर्माण, नयाँ गाउँ महिला भवन, साँचाचोक भञ्ज्याङमा चौतारी निर्माण, शौचालय निर्माण, रानाथोक सडक, स्वाँराथोक सिँचाइ पोखरी निर्माण, प्रधानमन्त्री रोजगार, यन्त्र उपकरण खरिद, जनजागृति मावि डिस्पेन्सरी, कोशेलीघर स्तरोन्ती, धिमे बाजा प्रशिक्षण र फिजियोथेरापी औजार खरिदमा खर्च गरिने उल्लेख छ।
त्यस्तै वडाले १ करोड रुपैंयाबाट ३९ वटा विकासे योजना सम्पन्न गर्ने वडा अध्यक्ष नेपालले बताए।
वडाको योजनामा गुठी पूजा खर्चमा सहयोगदेखि सामाजिक सुरक्षा भत्ता लिन सदरमुकाम जाने नागरिकलाई भाडा व्यवस्थापनसम्मका छन्। ‘उपभोक्त समिति गठनदेखि भुक्तानीसम्मको प्रक्रियाबारे जानकारी दिने र वडामा तीनै तहले गरेको बजेट विनियोजनबाट हुने विकास निर्माणलाई समयसीमा भित्रै पूरा गर्ने उद्देश्यले एकसाथ सबै आयोजनाको सुरुवात गरिएको हो,’ वडा अध्यक्ष नेपालले भने– ‘प्रभावकारी कार्यान्वयन, निष्पक्षता र पारदर्शी कार्य होस् भन्ने हाम्रो मूल ध्येय हो।’
वडाका सबै आयोजनाहरूको एकै पटक शुभारम्भ गरी विकासको योजनाबद्ध सुरुवातको सन्देश प्रवाह गरिएको बताउँदै नेपालले जनताका अनेकन अपेक्षा रहने र दर्जनौं विकास आयोजनाहरू पूरा गर्न थप बजेट आवश्यक पर्ने हुँदा संघ, प्रदेश र नगरपालिकालाई त्यसतर्फ ध्यान दिन जोड दिए।
विकास आयोजनाहरूको शुभारम्भ गर्दै बागमती प्रदेशका सांसद युवराज दुलालले आवश्यकतामा आधारित दिगो विकास अबको आवश्यकता रहेको बताए। संघीयता कार्यान्वयन पछि समग्र प्रदेशमा चौतारा साँगाचोकगढी नगरपालिकाले विकासमा फड्को मारेको भन्दै दुलालले नागरिकलाई प्रत्यक्ष प्रभाव पार्ने विकास योजनाहरू निर्माण गर्नुपर्ने बताए।
‘नगरका १४ वटै वडा कालोपत्रे सडक सञ्जालमा जोडिएका छन्, सांस्कृतिक धरोहर, कृषि र सामाजिक विकासका काममा उल्लेख्य प्रगति भएको छ,’ उनले भने– ‘अब तल्लो स्तरका नागरिक उन्मुख योजनाहरू सुरु गर्नुपर्दछ।’ ग्रामीण क्षेत्रमा विकासको लहर नै चले पनि बस्तीहरू खाली हुँदै गएकाले आवश्यकतामा आधारित विकासमा केन्द्रीत हुन दुलालले आग्रह गरे।