मुस्ताङमा पहिलो पटक करदाता शिक्षा सचेतना
जोमसोम : मुस्ताङमा पहिलो पटक करदाता शिक्षा सचेतना कार्यक्रम आयोजना गरिएको छ। आन्तरिक राजश्व कार्यालय बागलुङको आयोजना तथा कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङको समन्वयमा बिहिबार जिल्ला प्रशासन कार्यालय मुस्ताङको सभाहलमा करदाता शिक्षा सचेतना कार्यक्रम आयोजना गरिएको हो।
मुस्ताङमा कृषि र पर्यटन लगायत विभिन्न क्षेत्रमा कार्यरत तथा यस्ता व्यवसायमा जोडिने तयारीमा रहेका उद्योगी, व्यवसायी र संघसंस्थाका व्यवसायीहरू कर प्रणाली तथा यसको सहजताका विषयमा पर्याप्त ज्ञान नहुँदा विभिन्न खाले समस्या भोग्न बाध्य छन्। यिनै समस्याको समाधान गर्न आन्तरिक राजश्व कार्यालय बागलुङको चार सदस्यीय एक टोली मुस्ताङ आएको हो। आन्तरिक राजश्व कार्यालय बागलुङका कर अधिकृत नारायण भण्डारी, मोहनप्रसाद आचार्य र राजनमणि शर्मा लगायतको टोली करदाता शिक्षा सचेतना चलाउन मुस्ताङ आएको हो।
जिल्ला प्रशासन कार्यालय मुस्ताङको सभाहलमा आयोजित करदाता शिक्षा सचेतना कार्यक्रममा स्थानीय उद्योगी, व्यवसायी र विभिन्न संघसंस्थाका व्यक्तिहरूको सहभागिता थियो। राष्ट्रिय कर दिवस तथा कर सप्ताहको अवसरमा मुस्ताङमा करदाता शिक्षा सचेतना कार्यक्रम आयोजना गरिएको हो।
आन्तरिक राजश्व कार्यालय बाग्लुङको टोलीले मुस्ताङको जोमसोममा उद्योगी ,व्यवसायी तथा विभिन्न संघसंस्थाका सञ्चालकहरूलाई स्थायी लेखा नम्बर दर्ता,कर दर्ता,आय व्यय विवरण, मूल्य अभिवृद्ध कर दर्ता, अन्तःशुल्क इजाजतलगायत कर प्रणाली र कर नीतिका बारेमा जानकारी गराएको छ। यसैगरी कार्यक्रममा करदाता पार्टल तथा अनलाइन वेबसाइटमार्फत कर चुक्ता लिने प्रक्रियाका बारेमा आन्तरिक राजश्व कार्यालय बागलुङको कर अधिकृत टोलीले जानकारी दिएका थिए। करदाता शिक्षा सचेतना तथा अभिमुखीकरण कार्यक्रममा वर्तमान कर व्यवसाय तथा आर्थिक विधेयकमा भएका विभिन्न कर छुट सुविधाका बारेमा समेत व्यवसायीहरूलाई जानकारी गराइएको थियो।