प्रधानमन्त्री ओलीको चीन भ्रमणको औपचारिक घोषणा, पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने
काठमाडौं :प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको औपचारिक घोषणा भएको छ। शुक्रबार परराष्ट्र मन्त्रालयले प्रेस वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीको चारदिने भ्रमणको घोषणा गरेको हो।
चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणमा ओली मंसिर १७ गते चीन प्रस्थान गर्नेछन् भने २० गते स्वदेश फर्किनेछन्। भ्रमण टोलीमा प्रधानमन्त्रीकी पत्नी राधिका शाक्य, उनका मुख्य सल्लाहकार विष्णु रिमाल, आर्थिक सल्लाहकार युवराज खतिवडालगायत ८७ जना रहनेछन्।
प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङलगायत शीर्ष नेताहरूसँग भेटघाट गर्नेछन्। प्रधानमन्त्री ओलीले पेकिङ विश्विविद्यालयमा सम्बोधन गर्नेछन्। यसैगरी उनी अन्य विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गरेको थियो। भ्रमण टोलीमा सहभागी ८७ जनामध्ये सरकारी खर्चमा ३९ जना र निजी खर्चमा ४८ जना चीन जानेछन्।
यो पनि पढ्नुहोस