रञ्जित दिल्लीको त्यो दिन सम्झँदै भन्छन्, ‘जसरी भारतले पाकिस्तानलाई हराएर खुसी मनायो, त्यसैगरी छोरी पूजाले यूएईलाई हराएर नेपाललाई जिताइन्, आईसीसी यू–१९ विश्वकपमा पुर्याइन्।’
सिनेमा जगत्मा फिल्महरू फ्लप भइरहेका बेला ‘पूर्णबहादुरको सारंगी’ एकाएक हिटमात्रै भएन, सुपरहिट भयो। जहाँ पूर्णबहादुरले सारंगी रेटेर छोरालाई डाक्टर बनाएको भुइँमान्छेको संघर्षपूर्ण कथा समेटिएको छ। गरिब तथा विपन्नतासँग लड्दै, चुनौतीको पहाड फोड्दै पूर्णबहादुर अघि बढेको वर्णन यो चलचित्रको कथा छ। एक बुवाले सन्ततिका लागि कस्तो दु : ख, कष्ट गर्छन्, भोग्छन् ? संघर्षका कथावस्तुलाई मार्मिक ढंगले देखाइएको छ, अभिनय जीवन्त छ। ‘पूर्णबहादुरको सारंगी’भन्दा कम छैन, ठेला चालक मजदुर रञ्जित महतोको कथा। उनको संघर्षको कथा लेख्ने हो र भन्दै जाने हो भने अर्को सुपरहिट फिल्म बन्न सक्छ, ‘रञ्जितको क्रिकेट !’
रञ्जित तिनै नेपालकी यू–१९ महिला टोलीकी कप्तान पूजा महतोका बुवा हुन्, जसले भारतको दिल्लीमा दिनको २० घण्टा पसिना चुहाएर छोरी पूजालाई हुर्काए, पढाए। प्रशिक्षण दिलाएर क्रिकेटर बनाए। तिनै कर्मवीर ठेलाचालक महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानाका रञ्जितले छोरी पूजालाई विश्वले चिन्ने ठाउँमा पुर्याएका छन्।
नेपालकी यू–१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोले दुर्लभ विश्व कीर्तिमान राख्न सफल भइन्। पूर्णबहादुरको सारंगीमा छोरो डाक्टर बनेको खबर थाहा नपाउँदै बुवा बित्छन्। तर, रञ्जित वास्तविक जीवनमा छोरीको सफलता देखेर मक्ख छन्। कुनै बेला हेपाइले दुखेका मनमा पूजाले सफलताको मलमपट्टि लगाइदिएकी छन्। कारण हो, छोरी पूजाको सफलताको विश्वचर्चा। पूजाको प्रगतिमा देशवासीले गौरवान्वित छन्। छोरीबुवालाई सम्मान र पुरस्कार थाप्न भ्याइनभ्याइ छ।
क्रिकेटमा पूजाको विश्व कीर्तिमानी : दिल्लीका गल्लीमा रञ्जितको ठेला गुडिरहन्थ्यो। बरफिलो चिसो होस् या लु लाग्ने प्रचण्ड गर्मी। भारी बोकेर गोदामदेखि पसल अनि बसपार्कसम्म दौडिरहन्थे उनी। शिरदेखि चुहिएको पसिना पाउमै पुग्थ्यो, त्यही सुक्थ्यो। भोक र प्यासले आकुलव्याकुल हुन्थे उनी। तर, छोरीलाई अब्बल क्रिकेटर बनाउने सपनालाई पछ्याइरहन्थे। सपना बोकेर फेरि पनि हरेक दिन ठेला निकाल्थे रञ्जित दिल्लीका गल्ली छोरीलाई सफल क्रिकेटर बनाउन। छोरीलाई क्रिकेटर बनाउन रञ्जितले परदेशमा गर्नुसम्म दु : ख गरे। हजारौं हन्डर खाए।
कहिले २० घण्टासम्म ठेला कुदाए। खर्च नपुगेपछि रञ्जितले कहिले चिया पसलमा जुठो गिलास मस्काए त कहिले फोहोर टिपे। देश दुनियाँ बुझ्न स्कुल पढाए। प्रशिक्षणको तारतम्य मिलाएर ब्याट, बल हातमा पक्राएर क्रिकेट मैदानमा उतारे। उनै पूजाले ब्याट र बलसँग नाता जोडेर नेपाल र नेपालीको शिर विश्वमा उचो पारेकी छन् यतिबेला।
हो, हालै संयुक्त अरब इमिरेट्समा आयोजना भएको एसियाली छनोट प्रतियोगिता जित्दै नेपालले सन् २०२५ मा आयोजना हुने आईसीसी यू–१९ विश्वकपमा प्रवेश पाएको छ। आईसीसी यू–१९ विश्वकपअन्तर्गत एसियाली छनोटमा नेपालले घरेलु टोली संयुक्त अरब इमिरेट्सलाई स्तब्ध पारेको थियो। प्रतियोगिताभर पूजाले कप्तानी इनिङ खेलेकी थिइन्। जसमा २७२ रन बनाउनुका साथै १० विकेट लिएकी थिइन्। हालै पूजालाई एनपीएलका लागि जनकपुरधाम बोल्ट्सले ‘फेस अफ दी बोल्ट्स’को उपाधि दिएको छ।
दिल्लीको चिसा पसलमा टुसाएको सपना : सन् २००६। दिल्लीको चिया पसल। जहाँ भारत र पाकिस्तान भिडेको थियो क्रिकेट, बल र ब्याटसँग। लक्ष्य थियो उनको, खेल जित्ने। त्यही अभ्यासले आज पूजा महतोलाई क्रिकेटमा टेवा पुर्यायो। रञ्जित उसबेलाको सन्दर्भ सम्झन्छन्, ‘भारत र पाकिस्तान क्रिकेट मैदानमा थियो। चिया पसलमा दर्शकले भारतको पक्षमा हुटिङ गरिरहेका थिए। त्यो क्रिकेट म्याचले मेरो ध्यान खिचेको थियो।’
रञ्जित त्यो दिन सम्झँदै भन्छन्, ‘जुन खेलमा तत्कालीन भारतीय टिमका कप्तान महेन्द्रसिंह धोनीले टिमलाई जिताउन गरेको उत्कृष्ट प्रदर्शनले भारतवासीको मन जितेको थियो। जितपछि दिल्लीमा खुसीयाली मनाइएको थियो। भारतको जयजयकारको नारा गुञ्जिएको थियो।’ छिमेकी देशको जितमा रञ्जित पनि खुसी भएका थिए त्यसबेला। त्यो माहोलमै रञ्जितले पहिलोपटक सन्तानलाई क्रिकेटर बनाएर छाड्ने सपना बुनेका थिए। र, उनले मनमनै सोचेका थिए, जसरी आज भारतले पाकिस्तानलाई हराएर खुसी मनाइरहेको छ, यसैगरी मेरो छोरीले अर्को देशलाई हराएर पक्का एकदिन नेपालीलाई खुसी बनाउनेछिन्।’
चिया पसलमा देखेको त्यो सपनाबारे छोरीलाई सुनाएका थिए उनले। पूजाले पनि दु : खमा बाँच्न सिकिन्। पढ्दै घरको जिम्मेवारी पूरा गर्दै क्रिकेट एकेडेमीमा पुगिन्। उनका लागि यो सबै फलामको च्युरासरी नै थियो। ‘ श्रमिककी छोरी क्रिकेट खेल्ने रे !’ रञ्जितलाई गाउँमा उल्लीबिल्ली पार्थे। ‘छोरीको विवाह नगरेर रञ्जित नाटक देखाइरहेको छ’ आफन्तजन भन्थे। तर, रञ्जित रत्तिभर पनि डगमगाएन्। ‘खेलकुदमा अल्मल्याएर पढाइमा अव्बल पूजाको भविष्य किन खराब गरेको ? ’, आफन्तजनले प्रश्न गर्दै सल्लाह दिन्थे, ‘डाक्टर, इन्जिनियर, सरकारी अफिसर केही बनाएर छोरीको जीवन किन बनाउन नलगाएको ? ’ सबैका सल्लाहलाई उनी सुनिरहन्थे। छोरीलाई क्रिकेटर बनाउन बेलाबखत हौस्साइरहन्थे।
त्यो चिया पसलमा काम पाउन पनि रञ्जितले भनसुन गर्नु परेको थियो। नेपालको कमाइले नपु्गेपछि हानिएर उनी दिल्ली पुगेका थिए, काम, माम र दामको खोजीमा। त्यसले रञ्जितलाई परिवार पाल्न धौ धौ पथ्र्यो। खर्च जोहो गर्न समय मिलाएर ठेलामा मालसमान ओसार्नेदेखि सहरमा फ्याँकिएका कबाड बटुल्थे। बडो दु : खले मात्र भान्छामा नुनरोटी जुट्थ्यो। कहिलेकाहीँ खर्च नहुँदा चुलो बल्दैन्थ्यो।
जति दु : ख भए पनि भोग्ने तर लक्ष्यबाट विचलित नहुने अठोट रञ्जितमा थियो। त्यस्तो अवस्थामा उनले देखेको त्यो सपना १८ वर्षपछि पूरा भयो। समय धेरै लागेपछि छोरी पूजा क्रिकेटर भएर एकाएक चर्चामा आइन्। नेपाल सन् २०२५ मा आयोजना हुने आईसीसी यू–१९ विश्वकपमा प्रवेश पाउनमा कप्तानी पूजाको भूमिका अहम् रह्यो। यो जितसँगै रञ्जितले अब नयाँ सपना देखेका छन्, ‘अब मेरी छोरी देशकै छोरी भइन्। अब विश्वकप जितेर अर्को नयाँ सफलता हात पारुन्। त्यो हाम्रो अर्को खुसीको दिन हुनेछ। म त्यो दिनको प्रतीक्षामा छु।’
पूजा आफ्ना बुवा रञ्जित (बायाँ) र हजुरबुवा रामदेव महतोका साथमा।
क्रिकेट नै रञ्जितको सहयात्री : भोको पेट अनि खाली खुट्टा सन् २००६ मा रञ्जित भारतको राजधानी दिल्ली पसेका थिए। जतिबेला उनको परिवारको अवस्था दयनीय थियो। सन् २०१० मा परिवारजनलाई पनि रञ्जितले दिल्ली नै लगे। उनका तीन सन्तान छन्। २ छोरी र १ छोरा। सबै क्रिकेट खेलाडी हुन्। सबैलाई दिल्लीमै उनले पालनपोषण गर्दै क्रिकेटको प्रशिक्षण दिलाए। कप्तान पूजा उनकी माइली छोरी हुन्।
बाल्यकालदेखि नै पढ्न पूजा मेधावी थिइन्। दिल्लीमै उनले कक्षा १२ सम्म पढिन्। उनले दिल्लीका स्थानीय भारतीय क्रिकेट टिममा आबद्ध भएर थुप्रै म्याच खेलिसकेकी छन्। उपाधि र पुरस्कार कब्जा गरिसकेकी छन्।
पूजाका बुवा रञ्जित भन्छन्, ‘छोरीलाई लिएर फुर्सदको बेला साथीभाइसँग क्रिकेट खेलेर रमाइलो गर्थे। दिल्लीमा मेरो सहयात्री भनेको एउटा क्रिकेट नै थियो।’ सन् २००६ मा महोत्तरीको गौशाला नगरपालिका–९ डुबरवन्नाको एक गरिबी परिवारमा पूजा महतोको जन्म भएको थियो। रञ्जित भन्छन्, ‘त्यसबेला दिल्लीको एक क्रिकेट एकेडेमीले नि : शुल्क प्रशिक्षणको बन्दोबस्त गरिदियो। त्यसैले त हामीजस्ता गरिबका सन्तानको क्रिकेटर बन्ने सपना पूरा भयो।’
यसरी पूजालाई क्यानले मैदानमा उतार्यो : नेपाली महिला क्रिकेट टोलीमा पूजालाई सहभागी गराउन नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशन सिंहको अहम् भूमिका रह्यो। २०७९ सालमा जलेश्वरमा यू—१५ छनोट प्रक्रिया चलिरहेको थियो। पूजाका ८ वर्षीय भाइ कृष्णकुमार महतो पहिलो खेलमै ‘प्लेयर अफ द म्याच’ बनेका थिए। त्यसपछि क्यानका उपाध्यक्ष सिंह र कृष्णका बुवाबीच चिनजान भयो। यही क्रममा क्रिकेटर पूजा महतोका बारेमा क्यानले सूचना पाएको थियो।
जलेश्वरमा खेल सम्पन्न भएपछि कृष्ण दिल्ली पुगे। अनि आफ्ना दिदीहरूले क्रिकेट खेलेको भिडियो पठाए। त्यसपछि पूजाले जिल्लास्तरीय हुँदै क्रमिक रूपमा प्रदेशस्तरीय, राष्ट्रियस्तर हुँदै अहिले अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै विश्व कीर्तिमानी बनाइन्। पूजाले गत वर्ष राष्ट्रिय क्रिकेट टिमबाट डेब्यु गरेपछि एसिया क्वालिफायर खेल्न भ्याइन्। त्यसपछि मलेसिया र हडकडमा सम्पन्न यू—१९ सिरिज पनि खेलिन्।
विश्वकपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने लक्ष्य : पूजाको गृहनगर गौशालामा मंसिरको पहिलो साता उनलाई सम्मान गर्नेको लहर नै लागेको थियो। युनाइटेड अरब इमिरेट्स (यूएई) मा यू–१९ महिला टी–२० विश्वकप प्रतियोगितामा नेपाल छनोट भएदेखि पूजालाई भेट्ने, बधाई दिने, सम्मान तथा पुरस्कार प्रदान गर्नेको भीड नै लाग्यो।
पूजालाई बधाई र सम्मान गर्न सांसद लक्ष्मी महतो कोइरी, पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेल, गौशाला नगरप्रमुख डा. दीपेन्द्र महतो, मधेस प्रदेश सरकारका खेलकुदमन्त्री प्रमोदकुमार जयसवाललगायत घर पुगेका थिए। पूजा भन्छिन्, ‘विश्वकपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने र एसिया कप उचाल्ने अबको लक्ष्य छ। सबैको प्रेम र हौसलाले ऊर्जा थपेको छ।’
पूजाको सफलता, अरूलाई प्रेरणा : मधेसमा छोरी जन्मिनु भनेको अभिभावकको टाउको दु : खाइको विषय बन्थ्यो खासगरी विगतमा। यसको कारण हो, दाइजो। तर, पूजा महतोले छोरीलाई दाइजो होइन, शिक्षा र अवसर दिए पुग्छ भन्ने उदाहरण पेस गरेकी छन्।
अभिभावकको दु : ख होइन, खुसी बनेकी छन्, गौरव बनेकी छन्। गौशाला नगरपालिका–११ का दिनेश्वर महतो भन्छन्, ‘एक मजदुरको घरमा जन्मिएकी पूजाले विश्व कीर्तिमानी राख्छिन् भन्ने कसैले सोचेकै थिएन। लक्ष्य लिँदा एक दिन पूरा हुनेरहेछ।’
दिल्लीमा रञ्जितसँगै काम गरेका छिमेकी रामदयालसिंह कुशवाहा भन्छन्, ‘मैलै पूजाको परिवारको संघर्ष निकै नजिकबाट नियालेको छु। संघर्षले एक दिन सफलता हासिल गर्छ भन्ने सिद्धान्तलाई पूजाले पुष्टि गरिदिएकी छन्।’ मधेसी महिलाहरू घुम्टोमै सीमित थिए। यो मान्यतालाई तोड्दै पूजाले नयाँ युगको सुरुआत गरेको गौशालाकी शिक्षिका सुनिताकुमारी महतो बताउँछिन्। ‘पूजा परिस्थितिसँग डराउने होइन, डटेर सामना गर्ने पात्र हुन्’, उनी भन्छिन्, ‘पूजाको सफलताले मधेसका छोरीलाई सपना देख्न र संघर्ष गरेर सफलता हात पाने प्रेरणा दिएको छ।’