काठमाडौं : मंसिर १५, नेपाली क्रिकेटप्रेमीहरूले निकै प्रतीक्षाका साथ कुरिरहेको दिन। यो दिन नेपाली क्रिकेटका लागि मात्रै विशेष दिन हुने छैन, संसारभरका क्रिकेटप्रेमीहरूले पनि सम्झिने दिन बन्नेछ। किनभने यस दिनबाट नेपाली क्रिकेटकै प्रतिष्ठित नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदैछ।
नेपाल क्रिकेट संघका प्रवक्ता छुम्बी लामा एनपीएल नेपाली क्रिकेटका लागि विशेष भएको बताउँछन्। ‘यो नेपाल क्रिकेट संघको ‘ड्रिम प्रोजेक्ट’ हो। समस्त नेपाली क्रिकेटप्रेमीको सपना हो। यसलाई संसारका उत्कृष्ट लिगमध्येमा पार्न हामी प्रयत्नरत छौं’, प्रवक्ता लामा भन्छन्, ‘यसले अहिले नै नेपाली क्रिकेट इतिहासमा आफ्नो नाम लेखाइसकेको छ।’
प्रवक्ता लामाले भनेजस्तै एनपीएलले पाएको जस्तो ‘हाइप’ सायदै अरू प्रतियोगिताले पाएको थियो। गत भदौ ३ गते एनपीएलको लोगो सार्वजनिक र मिति घोषणासँगै तातेको नेपाली खेलकुद क्षेत्र स्टार स्पोर्ट्समा प्रत्यक्ष प्रसारण हुने भएपछि यसको रापले नेपालमा मात्रै होइन, संसारभर गर्माएको छ।
अझ भारतीय सञ्चारमाध्यमले प्रतियोगिता सुरु हुनु अगाडि नै एनपीएल एसोसिएट राष्ट्रकै उत्कृष्ट प्रतियोगिता भनेपछि त यसको ‘हाइप’ निकै अकासिएको छ। यो कुरालाई स्वीकार गर्छन्, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द पनि। ‘हामीले आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेका छौं। यो क्यानको गौरवको योजना हो। यसले नेपाली क्रिकेटलाई मात्र उचाइमा पुर्याउँदैन, यो नेपाली क्रिकेटको टर्निङ प्वाइन्ट पनि बन्नेछ’ अध्यक्ष चन्द भन्छन्, ‘सबैको साथ र सहयोगले सफल पार्नेछौं।’
यसैगरी, फ्रेन्चाइज टोली कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपालमा एनपीएल पनि हुन्छ भन्ने सपना रहेकोमा अहिले साँच्चिकै त्यो सपना साकार भएको बताउँछन्। ‘हामीले पनि विश्वका चर्चित खेलाडीसँगै फ्रेन्चाइज लिग खेल्न पाउँछौं र ! भन्ने लाग्थ्यो। अझ भनौ सपना देख्थ्यौं। तर, आज त्यो सपना पूरा भएको छ’, सोमपाल भन्छन्, ‘हामी पनि विश्वका चर्चित खेलाडीसँगै आफ्नै देशमा खेल्नेछौं।’
सिंगारियो त्रिवि मैदान
एनपीएलका लागि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान दुलहीझैं सिंगारिएको छ। दर्शकको सुरक्षालाई ध्यान दिँदै क्यानले साधारण प्यारापिटतर्फ पहिलोपटक जोन छुट्ट्याएको छ। टिकट खरिद गर्दा नै जोनअनुसार खरिद गर्नुपर्नेछ भने जोनका लागि अलग–अलग गेट बनाइएको छ।
साधारण प्यारापिटमा चार वटा जोन बनाइएको छ। यस्तै पहिलो पटक भीआईपी टिकटको व्यवस्था गरिएको छ। भीआईपीका लागि दुई स्थानमा गरी दुई हजार दर्शक क्षमताको कुर्सी राखिएको छ। त्रिवि मैदान परिसरमा भीआईपी र फ्रेन्चाइज लाउन्ज पनि बनेको छ।
यसैगरी पहिलोपटक डिजिटल स्कोरबोर्ड राखिएको छ। त्रिवि मैदानमा अर्को सुधार गरिएको पक्ष हो, पिच। बंगलादेशका क्युरेटरको नेतृत्वमा पिचलाई स्तरीय बनाइएको छ। आउटफिल्ड पनि निकै राम्रो बनेको छ भने बाउन्ड्री पनि केही बढेको क्यानका प्रवक्ता लामा बताउँछन्।
‘त्रिवि मैदान परिसरमा धेरै परिवर्तन गरिएको छ। हेर्दा सानो सानो लागे पनि महत्त्वपूर्ण कामहरू भएको छ’, क्यानका प्रवक्ता लामा भन्छन्, ‘यो परिवर्तन तत्कालका लागि नभई दीर्घकालीन योजना अनुरूप गरिएको छ। यसले त्रिवि मैदानको स्तर सुधार मात्रै भएको छैन, नेपाली क्रिकेटको विकासमा पनि दीर्घकालीन काम भएको छ। यहाँ बनेका संरचना भोलिका दिनमा अन्यन्त्र पनि लैजान मिल्नेछ। हामीले सरकारको मास्टर प्लानलाई बिगार्ने कुनै पनि काम गरेका छैनौं। यी सबै संरचना अस्थायी हुन। जहाँ पनि लगेर राख्न मिल्छ।’
उनले त्रिवि मैदान सिंगारिएको बताउँदै आठ वटा पिच तयारी अवस्थामा राखिएको बताए। ‘एनपीएलका लागि हामीले आठ वटा पिच तयार पारेका छौं। क्युरेटरको सल्लाहअनुसार पिचमा खेल खेलाइन्छ’, प्रवक्ता लामाले भने, ‘विकेटको अवस्थाअनुसार पिचमा खेल खेलाइन्छ।’
उद्घाटनमा विराटनगर र जनकपुर भिड्ने
एनपीएलको उद्घाटन खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्सले प्रतिस्पर्धा गर्ने भएका छन्। कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार दिउँसो सवा १२ बाट उद्घाटन खेल सुरु हुनेछ। पहिलो दिन एक खेलमात्रै हुनेछ भने तेस्रो दिनदेखि दैनिक दुई खेल हुनेछन्।
शुक्रबार आयोजित प्रिम्याच कन्फरेन्समा विराटनगर र जनकपुरका कप्तानले आफूहरू उद्घाटन खेलका लागि तयारी अवस्थामा रहेको बताए। छोटो समयमा पनि उत्कृष्ट तयारी गरेको जनाउँदै विराटनगरका कप्तान सन्दीप लामिछानेले आफूहरू जित्नकै लागि मैदान उत्रिने बताए। ‘हामी तयारी अवस्थामा छौं। हाम्रो तयारी पनि राम्रो भएको छ। हाम्रो टोली सन्तुलित छ’, विरानटनगरका कप्तान सन्दीप भन्छन्।
जनकपुर बोल्टका कप्तान अनिल साहले राम्रो मैदान नभएका कारण घरेलु भूमिमा तयारी गर्न नपाए पनि काठमाडौंको तयारी उत्कृष्ट भएको बताए। ‘हामीले काठमाडौंमा आएर तयारी गरेका हौं। एउटा तयारी खेलले पनि टिम तयारीमा सहयोग पुर्यायो’, उनले भने, ‘हाम्रो बलियो पक्ष भनेको विदेश खेलाडी हुन्। उहाँहरूको आगमनले टिम निकै बलियो पनि देखिएको छ।’
सिंगल राउन्ड रोबिनमा खेल
सिंगल राउन्ड रोबिनका आधारमा हुने एनपीएलमा लिग चरणमा कुल २८ खेल हुनेछन्। लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन्। जहाँ पहिलो र दोस्रो हुने टिमबीच पहिलो क्वालिफायर हुनेछ। यस खेलको विजेताले सीधै फाइनल स्थान बनाउनेछ भने तेस्रो र चौथो हुने टोलीले एलिमिनेटर खेल खेल्नेछन्।
एलिमिनेटरमा पराजित हुने टोली बाहिरिँदा एलिमिनेटरको विजेता र पहिलो क्वालिफायरको पराजित टोलीबीच दोस्रो क्वालिफायर खेल हुनेछ। यसको विजेताले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। एनपीएलको फाइनल खेल ६ पुसमा हुनेछ। प्रतियोगिताको खेलहरू विश्वचर्चित भारतीय टेलिभिजन च्यानल स्टार स्पोर्ट्सले प्रत्यक्ष प्रसारण गर्नेछ।
१६ गते खेल नहुने
एनपीएलको उद्घाटन खेल मंसिर १५ गते हुँदा १६ गते दोस्रो दिन भने कुनै पनि खेल हुने छैन। मंसिर १६ गते देशभर स्थानीय निकायको उपनिर्वाचन हुँदैछ। सो दिन कीर्तिपुर नगरपालिकामा पनि उपनिर्वाचन हुँदैछ।
उपनिर्वाचनमा कीर्तिपुरमा दुई वडा अध्यक्षसहित मेयर पदको पनि निर्वाचन हुँदैछ। उपनिर्वाचनमा आचारसंहिता लागू हुने र सो दिन सवारीसाधन सञ्चालनसँगै अन्य गतिविधि गर्न नपाइने भएकाले मंसिर १६ मा एनपीएलका खेल नहुने क्यानका सचिव पारस खड्काले बताए। ‘उपनिर्वाचनमा आचारसंहिता लागेको हुन्छ। अझ कीर्तिपुरमै उपनिर्वाचन हुँदैछ। त्यसैले सो दिन एनपीएलका कुनै पनि खेल हुँदैनन्’, सचिव खड्काले भने।
विदेशी खेलाडीको आकर्षण
एनपीएल आकर्षणको केन्द्र बन्नुको अर्को कारण हो, विदेशी खेलाडीको ओइरो। विश्व चर्चित खेलाडीहरू एनपीएलको हिस्सा बनेका छन्। अझ विश्वकै कुनै पनि फ्रेन्चाइज प्रतियोगितामा सहभागी नभएका भारतीय खेलाडीलाई भित्र्याएपछि एनपीएलको चर्चा चुलिएको हो। कर्णाली याक्सले भारतका चर्चित खेलाडी शिखर धवनलाई अनुबन्ध गरेपछि एनपीएलको चर्चा र चासो भारतमा पनि हुन थालेको हो। अहिलेसम्म १५ देशका ४० खेलाडी नेपाल आउने निश्चित भइसकेको छ।
एनपीएलले नेपाली क्रिकेटलाई मात्र उचाइमा पुर्याउँदैन, यो नेपाली क्रिकेटको टर्निङ प्वाइन्ट पनि बन्नेछ। सबैको साथ र सहयोगले सफल पार्नेछौं।
चतुरबहादुर चन्द - अध्यक्ष, नेपाल क्रिकेट संघ (क्यान)
हामीले पनि विश्वका चर्चित खेलाडीसँगै फ्रेन्चाइज लिग खेल्न पाउँछौं र ! भन्ने लाग्थ्यो। अझ भनौ सपना देख्थ्यौं। तर, आज त्यो सपना पूरा भएको छ।
सोमपाल कामी- कप्तान, कर्णाली याक्स
एनपीएलको प्रावधानअनुसार एक टोलीले अधिकतम ६ जना विदेशी खेलाडी राख्न पाउँछ। तीमध्ये अधिकतम चार विदेशी खेलाडीलाई भने सुरुवाती ११ मा राख्न पाइनेछ। सोही प्रावधान बमोजिम टोलीले आफ्नो आवश्यकताअनुसार विदेशी खेलाडी भित्र्याइरहेका छन्। अहिलेसम्म तीन दर्जनभन्दा बढी विदेशी खेलाडी नेपाल आउने निश्चित भइसकेको क्यानका अध्यक्ष चन्द बताउँछन्। ‘अहिलेसम्म तीन दर्जनभन्दा बढी विदेशी खेलाडी आउने निश्चित भइसकेको छ। धेरैजसो खेलाडी त नेपाल आइसकेकै पनि छन्’, अध्यक्ष चन्द भन्छन्, ‘विश्वका चर्चित खेलाडीसँग खेल्न पाउँदा हाम्रा खेलाडीको स्तर पनि निकै बढ्नेछ भने नेपाली दर्शकले पनि संसारका चर्चित खेलाडीको खेल आफ्नै देशमा हेर्न पाउनेछन्। यसले नेपाली खेलकुदसँगै देशको आर्थिक समृद्धिमा पनि सहयोग पुर्याउनेछ।’
अहिलेसम्म अनुबन्ध भएका सबैभन्दा स्टार खेलाडी हुन्, भारतका शिखर धवन। भारतका पूर्वक्रिकेटर धवनलाई कर्णाली क्याक्सले टोलीमा भित्र्याएको हो। धवनले कर्णालीबाट कम्तीमा चार खेल खेल्ने जनाइएको छ। उनले प्रत्येक खेलको ३० हजार अमेरिकी डलर पारि श्रमिक पाउने गरी सम्झौता भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। तर, अन्य विदेशी खेलाडीको पारि श्रमिकका बारेमा भने कुनै पनि टोलीले खुलाएका छैनन्।
एनपीएलका लागि पोखरा एभेन्जर्सले मात्र ६ विदेशी खेलाडी अनुबन्ध गरेको छ। विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, लुम्बिनी लायन्सले पाँच/पाँच र कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सले चार/चार विदेशी खेलाडी अनुबन्ध गरेका छन्।
चितवन राइनोजका मर्चेन्ट डी ल्याङ भने प्रतियोगिताबाट बाहिरिएका छन्। प्रशिक्षणका क्रममा चोट बोकेपछि उनी प्रतियोगिताबाट बाहिरिएका हुन्। उनको स्थानमा चितवनले पाकिस्तानका सोहेल तनभिरलाई टोलीमा भित्र्याएको छ।
यी हुन् एनपीएलका विदेशी खेलाडी
विराटनगर किङ्स
मार्टिन गप्टिल (न्युजिल्यान्ड), क्रिस सोल (स्कटल्यान्ड), निकोलस किर्तोन (क्यानडा), अकिव इल्यास (ओमान) र इस्मात आलम (अफगानिस्तान)
जनकपुर बोल्ट्स
बेन माइक (इङ्ल्यान्ड), जिमी निसम (न्युजिल्यान्ड), मोहमद मोहसिन (पाकिस्तान), लाहिरू मिलन्था (अमेरिका) र जोसुआ ट्रम्प (अमेरिका)
चितवन राइनोज
रवि बोपारा (इङ्ल्यान्ड), ल्युक मार्टिन बेनकेन्स्टाइन (इङ्ल्यान्ड), हसन इसाखिल (अफगानिस्तान) जान निकोल लोफ्टी इटन (नामिबिया) र सोहेल तनभिर (पाकिस्तान)
काठमाडौं गुर्खाज
नाथन सोटर (इङ्ल्यान्ड), स्टेफन इस्किनाजी (इङ्ल्यान्ड), ड्यान डौथवेट (इङ्ल्यान्ड), माइकल लेभिट (नेदरल्यान्ड्स) र जेहार्ड एरास्मस (नामिबिया)
पोखरा एभेन्जर्स
म्याट किट्ले (इङ्ल्यान्ड), बास डे लिड (नेदरल्यान्ड्स), रेमन रेइफर (वेस्ट इन्डिज), माइकल लिस्क (स्कटल्यान्ड) र आन्द्रेस गौस (अमेरिका)
लुम्बिनी लायन्स
बेन कटिङ (अस्ट्रेलिया), टम मुर्स (इङ्ल्यान्ड), रेमन सिमन्ड्स (वेस्ट इन्डिज), उन्मुक्त चन्द (अमेरिका) र साद विन जाफर (क्यानडा)
कर्णाली याक्स
शिखर धवन (भारत), हुनेस तलात (पाकिस्तान), चाडविक वाल्टन (वेस्ट इन्डिज) र बाबर हायत (हङकङ)
सुदूरपश्चिम रोयल्स
सेफ अलि जेब (इङ्ल्यान्ड), स्कट कुगेलेइन (न्युजिल्यान्ड), ब्रान्डन मक्मलेन (स्कटल्यान्ड) र रोहन मुस्तफा (यूएई)
ट्रफीमा सगरमाथाको आधारशिविरको पत्थर
नेपाल प्रिमियर लिगको अर्को विशेषता हो, उपाधि विजेतालाई प्रदान गरिने ट्रफी। प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेको ट्रफी विभिन्न कारणले विशेष मानिएको छ। ट्रफीको मुख्य आकर्षण सगरमाथाको आधारशिविर कालापत्थरको ढुंगा हो। नेपालीको भावनालाई प्राकृतिक सम्पदासँग जोड्न कालापत्थरको ढुंगा राखिएको हो। ट्रफीमा राखिएको ढुंगा पर्वतारोही निमा शेर्पा र मिङ्मा शेर्पाले कालापत्थरबाट ल्याएका थिए।
यस्तो छ टिकट दर
क्यानले एनपीएलको टिकट दर निर्धारण गरिसकेको छ। क्यानले चार प्रकारका टिकट दर निर्धारण गरेको छ। जसमा उद्घाटन, लिग, प्लेअफ र फाइनलका भिन्दाभिन्दै दरमा टिकटको मूल्य तोकिएको छ। उद्घाटन खेलका लागि साधारणतर्फ तीन सय र भीआईपीतर्फ सात सय रुपैयाँ तोकिएको छ। यसैगरी अन्य लिग खेलका लागि साधारणतर्फ तीन सय र भीआईपीतर्फ पाँच सय रुपैयाँ राखेको छ।
यस्तै प्लेअफका खेलमा पाँच सय र सात सय तथा फाइनलका लागि साधारणतर्फ पाँच सय र भीआईपीतर्फ एक हजार रुपैयाँ मूल्य तोकिएको छ। यसैगरी दर्शकले ४ हजार ४ सय ८० रुपैयाँमा साधारण र ८ हजार २ सय ४० रुपैयाँमा भीआईपीतर्फको सिजिनल टिकट पनि खरिद गर्न सकिने जनाएको छ। क्यानले भीआईपीतर्फ १ हजार २ सय र साधारणतर्फ १० हजारसम्म टिकट बेच्ने जनाएको छ।
उत्कृष्ट खेलाडीलाई ओमोडा गाडी
नेपाल प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई एक थान गाडी पुरस्कार पाउने भएका छन्। एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले गाडी प्रदान गर्न लागेको हो। शारडा समूहले प्रतियोगिताका उत्कृष्ट नेपाली खेलाडीलाई ६२ लाख बजार मूल्य रहेको ओमोडाको ई–५ गाडी प्रदान गर्न लागेको हो।
नेपाली क्रिकेट इतिहासमै पहिलो पटक खेलाडीले पुरस्कारमा गाडी पाउन लागेका हुन्। एनपीएलले पाएको उचाइलाई थप साकार पार्न पनि खेलाडीलाई गाडी पुरस्कार दिनु अत्यावश्यक रहेको नेपाल क्रिकेट संघका सचिव पारस खड्काले बताए। ‘नेपाली क्रिकेटको इतिहासमै पहिलो पटक खेलाडीले पुरस्कारमा गाडी पाउँदै छन्।
एनपीएल खेलेपछि कम्तीमा खेलाडीले गाडी चढ्नुपर्छ भन्ने लक्ष्यका साथ यो कदम चलेका हौं। यस सहकार्यका लागि शारडा समूहलाई विशेष धन्यवाद दिन चाहन्छु’, सचिव पारस भन्छन्। यसैगरी एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडा यो सहकार्यले नेपालमा क्रिकेटको प्रवर्द्धन र विकासमा महत्त्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गर्छन्। ‘क्रिकेटले पछिल्लो समय लोकप्रियता र सफलता पाउँदै गरेको परिदृश्यमा यो सम्झौता क्रिकेटको विकास र विस्तारमा महत्त्वपूर्ण बन्न सक्छ’, निर्देशक गौरव शारडाले भन्छन्, ‘क्रिकेट खेलेर पनि गाडी चढ्न सकिन्छ भन्ने भएपछि यस खेलप्रति खेलाडीको चासो पनि बढ्ने छ।’
यी हुन् आठ टोली
पहिलो संस्करणको नेपाल प्रिमियर लिगमा आठ टोलीले प्रतिस्पर्धा गर्दैछन्। जसमा कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किङ्स र लुम्बिनी लायन्स छन्।
यस्ता छन् टिम प्रबर्द्धक
- चितवन राइनोज
- स्वामित्व : चितवन मेडिकल कलेज
- टिम प्रबर्द्धक : डा.हरिशचन्द्र न्यौपाने, आयुश न्यौपाने
- लुम्बिनी लायन्स
- स्वामित्व : फोर्चुन हेल्थ केयर
- टिम प्रबर्द्धक : ईश्वर जिसी
- जनकपुर बोल्ट्स
- स्वामित्व : ड्रिम स्पोर्ट्स प्रालि
- टिम प्रबर्द्धक : अमित श्रेष्ठ
- पोखरा एभेन्जर्स
- स्वामित्व : नेपाल टीटेन्टी प्रालि
- टिम प्रबर्द्धक : सुबोध त्रिपाठी, मनोबल श्रेष्ठ
- सुदूरपश्चिम रोयल्स
- स्वामित्व : इम्पायर स्पोर्ट्स प्रालि
- टिम प्रबर्द्धक : स्वतन्त्रप्रताप शाह
- कर्णाली याक्स
- स्वामित्व : हिमालयन बिल्डर्स प्रालि
- टिम प्रबर्द्धक : झनकदत्त खनाल, गृहेन्द्र घिमिरे
- काठमान्डु गोर्खाज
- स्वामित्व : काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर
- टिम प्रबर्द्धक : उपेन्द्र महतो, कैलाश सिरोहिया, अरुण सर्राफ
- विराटनगर किङ्स
- स्वामित्व : एमएडी ड्रिम स्पोर्ट्स प्रालि
- टिम प्रवर्द्धक : पारस लुनिया
८ टिमका ८ मार्की खेलाडी
- विराटनगर किङ्स : सन्दीप लामिछाने
- जनकपुर बोल्ट्स : आसिफ सेख
- काठमाडौं गोर्खाज : करण केसी
- चितवन राइनोज : कुशल मल्ल
- पोखरा एजेन्जर्स : कुशल भुर्तेल
- लुम्बिनी लायन्स : रोहित पौडेल
- कर्णाली याक्स : सोमपाल कामी
- सुदूरपश्चिम रोयल्स : दीपेन्द्रसिंह ऐरी