रुकुममा बाटोमै बच्चा जन्माउन बाध्य महिला
रुकुमपूर्व : रूकुम पूर्वको सिस्ने गाउँपालिका-१ कि एक महिला बाटोमै सुत्केरी भएकी छिन्। सुत्केरी व्यथाले च्यापेपछि पैदल हिँडेर सिस्ने स्वास्थ्य चौकी आउँदै गर्दा सिस्ने १ लाम्माखाकी २४ वर्षीयन माया बुढाले बीच बाटोमै पाखापानी भन्ने ठाउँमा दोस्रो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी हुन्।
सिस्ने स्वास्थ्य चौकीबाट गएका स्वास्थ्यकर्मीले बाटोमै सुत्केरी बनाएको स्वास्थ्य कार्यालय रुकुम पूर्वका सूचना अधिकारी तथा ल्याब टेक्निसियन निमप्रसाद गिरीले बताए। सूचना अधिकारी गिरीका अनुसार बाटोमै सुत्केरी व्यथाले च्यापेको खबर प्राप्त भएपछि सिस्ने स्वास्थ्य चौकीका इन्चार्ज काशीराम ओली लगायतको टोलि स्ट्रेचर लिएर त्यस तर्फ गएको थियो।
तर बुढा बाटोमै सुत्केरी भएपछि सिस्ने स्वास्थ्य चौकीका इन्चार्ज काशीराम ओलीसहितको स्वास्थ्यकर्मीको टोलीले आमा र शिशुलाई बोकेर सिस्ने स्वास्थ्य चौकी पुर्याएको थियो। अहिले आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
सिस्ने १ मा अझैसम्म पनि सडक सञ्जाल नजोडिंदा गर्भवती तथा सुत्केरी महिलाहरूले वर्षेनि अकालमा ज्यान गुमाउनु परेको छ। एउटा मात्रै स्वास्थ्य संस्था रहेको यस वडामा स्वास्थ्य चौकीसम्म पुग्न पनि घण्टौं पैदल हिँड्नुपर्ने बाध्यता रहेको छ। जिल्ला अस्पताल रूकुमकोट पुग्न त झनै १ देखि २ दिनसम्म पैदल हिँड्नुपर्ने बाध्यता छ।