अहिले म आफैं भन्छु, खोज्दै जाँदाखेरि सबैभन्दा पुरानो नेपाली लोकगीत कहाँ छ त ? कोहीसँग छ यस प्रश्नको उत्तर ?
नेपालको लोकसंस्कृति, लोकगीत, लोककला विश्वकै पुरानोमध्येको एक मानिन्छ तर यसको विश्वव्यापीकरण भने हुन सकेन। जसकारण यो मुख्यतः देशकै वरिपरि मात्र घुमिरह्यो। प्रथम विश्वयुद्ध तथा द्वितीय विश्वयुद्धमा लड्न गएका नेपालीले आफ्नो लोकगीत, संस्कृतिलाई त्यस समयमा एसिया तथा युरोपका विभिन्न स्थानमा पुर्याएको कुरा विभिन्न खोज तथा अनुसन्धानबाट पत्ता लागेका छन्।
यसभन्दाअघिको समयमा पनि विदेशीहरूले नेपाल भ्रमण गरेको र यहाँको समाज, संस्कृति आदि बारेको जानकारी बाहिरी विश्वमा लगेको चर्चा हुने भए। तर पनि त्यसको अध्ययनका लागि पर्याप्त प्रमाणहरू भेटिन्नन्। त्यसका प्रमाणका रूपमा जर्मनी, बेलायत, अमेरिकालगायतका देशका अनुसन्धान केन्द्र, संग्रहालय, विश्वविद्यालयमा रहेका सीमित अडियो, भिडियो, हस्तलिखित टिपोट/ग्रन्थ आदि छन्। यिनैलाई आधार बनाएर केही नेपाली तथा विदेशीले विभिन्न अनुसन्धान तथा प्रकाशनसमेत गरेका छन्।
प्रविधिको पहुँचदेखि टाढा रहेको त्यस समयमा नेपाली लोकगीतहरू श्रुतिपरम्परामै हुर्किए, फैलिए र पहिचान बनाए तर त्यसको विस्तृत/पर्याप्त दस्ताबेजीकरण भने हुन सकेन। श्रुतिपरम्परामै अघि बढेका लोकगीतहरूमा बिस्तारै धेरै कुरा परिवर्तन आए। त्यसैका जगमा हाम्रो लोकसंस्कृति, लोकगीत, लोककला आदि आजको अवस्थामा आइपुगेका छन्। यी पनि बिस्तारै परिवर्तन हुँदैछन्। नेपालका धेरै समुदायको लोकसंस्कृति, लोकगीत, लोककलाको अध्ययन नै भएको छैन।
अध्ययन नै नभइकन थुप्रै लोपसमेत भइसकेका छन्। कतिपय लोप हुनेक्रममा छन्। अध्ययन भएका पनि पुस्तक/डकुमेन्टमा मात्र सीमित छन्। त्यसको पर्याप्त अडियो/दृश्यलगायतका सामग्री नहुनाले इतिहास पढ्नमात्र पाइन्छ तर कुन शैली, लय, भाका, भाषाको हो भन्ने ठ्याक्कै ज्ञान मिल्दैन। नहुनुभन्दा त लिपिबद्ध भएकाबाट इतिहासको एक पाटो त थाहा हुन्छ नै तर समग्र पाटो भने मिल्न सक्दैन।
भनिन्छ, एकजना वृद्ध आमा, बुवा बित्दा उहाँहरूसँगै एक युगको इतिहास पनि सँगै जान्छ। अहिले पनि हामीले आआफ्ना घरमा हुनुभएका अग्रजको सम्झना तथा लोकज्ञानसँगै इतिहासका विविध विषयलाई रेकर्ड (अहिले सबैको हातहातमा मोबाइल छ, त्यसैबाट पनि अडियो, भिडियो, फोटो लिएर रेकर्डमा राख्न सकिन्छ) गरी संरक्षण गर्ने अग्रसरता देखाउन आवश्यक छ। यिनै सामग्री भोलीका पुस्ताका लागि अध्ययनको स्रोत बन्छन्। पुर्खाको लोकसंस्कृति, ज्ञान, इतिहासलाई पुस्तान्तरण तथा जानकारीका लागि अहिलेका युवा सचेत बन्दा पनि थुप्रै कुरा संरक्षण गर्न सकिन्छ। अहिले दस्ताबेजीकरण (यसको पाटोमा हामीले पर्याप्त ध्यान दिएका छैनौं र पछाडि परेका छौं) गरिएन भने पछि पछुताउनुको कुनै अर्थ पनि रहँदैन।
प्रस्तुत लेखमा माथि उल्लिखित विभिन्न पाटाको चर्चा गर्दै पंक्तिकारले वाङ्मय शताब्दी पुरुष तथा संस्कृतिविद् स्व. सत्यमोहन जोशीसँग गरेको कुराकानी र उहाँको दृष्टिकोणबाट नेपाली लोकगीत, संगीतको व्याख्या गरेको छ। २०७४ जेठ ११ गते बिहीबार १२ बजेतिर संस्कृतिविद् सत्यमोहन जोशी घरमै भेटिनुभयो। नेपाली गीत–संगीतबारे चर्चा सुरु भयो हामीबीच। गीत गाउने, संकलन तथा दस्ताबेजीकरण गर्ने उहाँको जीवनको सबैभन्दा लगाव रहेको सजिलै बुझिन्थ्यो। त्यसका साक्षीका रूपमा उहाँका कापी तथा डायरीमा सात दशकभन्दा अघिदेखि संकलन गरेका गीतहरू इतिहास बनेर बसेका देखिन्थे।
तिनै माझबाट एउटा कापी झिकेर जोशीले केही गीतहरू गाएर पनि सुनाउनुभयो। नेपाली गीतसंगीतको इतिहासको कुरा गरिरहँदा उहाँको हातमा भएको कापीले पनि संरक्षणको आग्रह गरिरहेको भान हुन्थ्यो। सो विषयमा कुरा गर्दा उहाँले त्यस कापीमा आफूले संकलन गरेका करिब दुई सय गीतलाई पुस्तकका रूपमा प्रकाशित गर्न चाहेको बताउनुभयो।
नेपालको एक युगलाई देख्नुभएका जोशीले कुराकानीका क्रममा भन्नुभयो, ‘त्यो वेला संगीतै भनेर, गीतै भनेर अथवा गायनै भनेर लागिपर्ने मान्छे पनि थोरै थिए। बुझ्न पनि गाह्रो, कसैले कसैलाई वास्ता गरेको नि होइन। छन त थियो, तर उपेक्षित रूपमा, नेग्लेक्टेड लाइक एनि थिङ। त्यसको (गीतसंगीतको) रहस्य, त्यसको प्रचार–प्रसार गर्नुपर्छ र त्यसको यति महŒवपूर्ण स्थान छ भन्ने कुरा थिएन।’ जोशीले यसरी सो समयको नेपाली गीत–संगीतको अवस्थाका बारेमा चर्चा गर्दा चाडबाडमा गाउने, ऋतुमा गाउने (फागुमा फागुगीत, दसैंमा माल श्री, तिहारमा धना श्री, वैशाखमा घाटु गाउने इत्यादि) मेलापातमा गाउनेलगायतका विभिन्न गीतको पनि चर्चा गर्नुभयो। ‘त्यतिबेला चाहे नेवार, गुरुङ, मगर, राई वा थारूको होस्, जे भए पनि सांस्कृतिक विविधता हाम्रो राष्ट्रिय सम्पदा भयो। संगीतलाई त्यो रूपले हेर्न सकिन्छ। विगतमा मान्छेले कुनै पनि ठाउँमा बसोवास गरेर, बस्ती बसालेर, सबै कुरा जान्दै बुझ्दै आएपछि संगीत पनि सभ्यता र संस्कृतिसँगै जोडिएर आयो’, उहाँले भन्नुभयो।
जोशीले आफू विद्यार्थी हुँदाताका ‘द मोडर्न रिभ्यु’मा प्रकाशित भारतका विद्वान् देवेन्द्र सत्यार्थी (उहाँलाई लोकगीत संकलक, कवि, कथाकार, सम्पादक आदिका रूपमा चिनिन्छ) का केही लेख पढ्नुभएको थियो। ‘त्यो लेखको हेडलाइन नै ‘स्विट नेपाल ः अ ल्यान्ड अफ फोल्क–सङस’। यति राम्रो, अहिले पो झल्झल्ती सम्झिएँ। कति विद्वतापूर्ण, कति दूरदर्शी भावनाले उनले त्यो आफ्नो लेखलाई नाम दिएका रहेछन्। लोकगीतको देश भनेपछि कति लोकगीत रहेछ त हाम्रो देशमा ? ’ जोशीले विगत सम्झनुभयो। सत्यमोहनले सम्झनु भएको उक्त लेख रामानन्द चटर्जी संस्थापक तथा सम्पादक रहेको ‘द मोर्डन रिभ्यू’ नामक मासिक पत्रिका (सन् १९०७ देखि सन् १९९५ सम्म प्रकाशनमा रहेको) को ५६औं अंक (सन् १९३४ मा प्रकाशित) मा प्रोफेसर देवेन्द्र सत्यार्थीले लेख्नुभएको थियो। जसमा सत्यार्थीले हिमालको दक्षिणतर्फ प्रकृतिको सुन्दर काख (कोक्रो)मा रहेको देश नेपालका तराई, उपत्यका, पहाड र उच्च हिमाली क्षेत्रको विस्तृत चर्चा गर्दै यहाँका लिम्बूहरूको लैबरी र हाक्पारे गीत, गन्धर्व (गाइने) गीत, झ्याउरे गीत, सवाई गीत, माल श्री गीत, भैलो तथा देउसी गीत, जुवा (हा)री गीत, संगिनी गीत, रसिया गीत, बालन गीत, रत्यौली गीत, नानी फुल्याउने गीत, बाह्रमासे गीत, असारे गीत, साउने गीत, चैते गीतलगायतको चर्चा गर्नुभएको छ।
विशेषतः नेपाली लोकगीतका लय, भाका, शब्द, बिम्ब, दृष्टिकोण, सन्देश विश्वमै पृथक् रहेको उहाँको बुझाइ थियो। भारतमात्र नभई नेपाल, भुटान, श्रीलंकालगायतका भारतीय उपमहाद्वीपका अन्य देशमा पनि लोकगीत संकलन गर्न पुग्नुभएका सत्यार्थीले करिब तीन लाख लोकगीत संकलन गरेको बताइन्छ। जोशीले भन्नुभयो, ‘यहाँ थारूको आफ्नै लोकगीत छ, डोटेलीहरूको आफ्नै किसिमको परम्परा छ। स्थान हेरेर राईको, गुरुङको, लिम्बूको, मैथिलको, नेवारको, धिमाललगायत अन्यको सबैको आ–आफ्नो भाषा छ। आफ्नो भाषासँग सम्बन्धित थिति–रीति छ, जात्रा छ, मेला महोत्सवलगायतका विभिन्न उत्सवहरू छन्। मेला महोत्सव, उत्सव र चाडबाडमा ठाउँठाउँमा गाउने गीत, भजनहरू छन्। यो नै हाम्रो विशेषता हो।
यस्ता अनेक विशेषताका आधारमा यतिवेला यदि सम्बन्धित निकायले, एकेडेमीले, मन्त्रालयले हाम्रो अमूर्त संस्कृतिमा अध्ययन, अनुसन्धान गर्न विद्वान्लाई लगाइदिएको भए धेरै राम्रो हुन्थ्यो। हाम्रो संस्कृति संसारको ज्यादै पुरानो संस्कृतिमध्ये एक हो। युनेस्कोको परिभाषाअनुसार त यो संस्कृति विश्वसम्पदा सूचीमा रहने संस्कृति हो। मेचीदेखि महाकालीमा बस्ने नेपालीका मात्र गीत होइनन्, ती गीत त सम्पूर्ण विश्वकै मानवको एउटा साझा सम्पत्ति हो। यदि यो कुरा भएन भने त हामी अगाडि मात्र बढ्छौं, हाम्रो संस्कृति, सम्पदा, इतिहास लोप हुँदै जान्छ। युनेस्कोले यस्ता किसिमका संगीतहरू, विभिन्न लय, तालमा बजाउने बाजाहरू, गीतहरू कुन सन्दर्भमा कहाँ गाउँछन्, सबै रेकर्ड गरेर यसलाई सुरक्षा गर भन्छ। यदि हामीले संरक्षण गरेनौं भने ठूलो नोक्सानी हुनेछ। हामी अघि बढिरहेको भनिरहँदा हामीले कहिल्यै पछि फर्केर हेरेनौं। सायद, इतिहासको कुरा गर्दा विगतलाई नहेरी होला त ?
२००१ सालमा सरकारी कामका सिलसिलामा तनहुँ र लमजुङमा पुगेका बखत जोशीले थुप्रै लोकगीत (स्थानीयहरू ती गीतलाई लोकगीत नभनेर ग्रामे गीत, झ्याउरे गीत, पाखे गीत, गाउँले गीत इत्यादि भन्दथे) संकलन गर्नुभएको थियो। उहाँले भन्नुभयो, ‘मुख्यतः श्रुतिपरम्परामा नै हाम्रा गीतसंगीत तथा संस्कृति बाँचेको छ। जान्ने मान्छे हरायो वा मर्यो भने अरू सबै खत्तम। जस्तो हामी अहिले सेतुरामको मेलवादेवीको कुरा गर्छाैं। उनीहरू त धेरैअघिका होइनन् नि ? उनीहरूभन्दा अगाडि पनि त धेरै थिए, गीतसंगीतका क्षेत्रमा केही गर्नेहरू तर श्रुतिपरम्परा मात्र भएकाले उनीहरूको नामोनिसान केही छैन तर पनि कहीँकतै इतिहास बाँचिराखेको छ।’
लमजुङको यात्राको प्रसंग सुनाउँदै जोशीले लमजुङको परिचय बनेको ठाडो भाकाको इतिहास पनि सम्झिनुभयो। ‘मैले त्यहाँ एउटा जिउँदो मान्छे फेला पारेको त पञ्चे सुब्बा हो, २००१ सालमा। (त्यस समयमा देउबहादुर दुराको भने निधन भइसकेको थियो) त्यो ठाडो भाका अहिले हराएरै गयो भन्छन्, अहिलेचाहिँ भेडीखर्के साइँला (उहाँको २०७४ भदौ २६ गते निधन भइसकेको छ)ले गरिरहेको भन्ने सुनेको छु।
त्यस बेलाचाहिँ मैले पञ्चे सुब्बालाई नै भेटेर कुरा गरेर उनले एक जना तामाङनीसँग (कतिपयले पञ्चे सुब्बासँग ज्ञानमाया थापा मगर र मदनकुमारी मगर्नीले गीत गाउँथे भनेर पनि भन्ने गरेका छन्) मात्र गीत गाउन सक्छु, अरू जोडामा गीतै गाउँदा दोहोरी चल्दैन भनेपछि त्यो तामाङनी र उसले गाएको गीतचाहिँ मैले सुनेको। (देउबहादुर दुरा र पञ्चेसुब्बा गुरुङलाई लमजुङवासी ठाडो भाकासँगै त्यहाँका यानीमाया, सालैजोलगायतलाई जीवन्त बनाउने अग्रज स्रष्टाका रूपमा चिन्छन्) लोकगीतबाटै नेपाली संगीतको आजको बाटो कोरिएको बताउँदै जोशीले भन्नुभयो, ‘सेतुराम, त्यसपछि मित्रसेन, मेलवादेवी, मास्टर रत्नदास प्रकाश उनीहरूले मोर्डन टाइपमा अलिकति लोकभाकामा गीत गाएर नेपाली गीतसंगीतलाई अगाडि ल्याए। त्यो जेनुइन चाहिँ होइन, बनाएका हुन्। भाका मात्रै हो, जेनुइन (वास्तविक) त गाउँघरकै हो।’
यी कुराहरू गरिरहँदा जोशीले पृथ्वीनारायण शाहले आफ्नो दिव्योपदेशमा उल्लेख गरेको कुरा अहिले मनन् गर्न जरुरी भइसकेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘त्यो बेला आफ्नो कल्चरल पोलिसीअन्तर्गत शाहले विदेशी गीतहरूले पार्ने प्रभावका बारेमा सोचेरै सो कुरा गरेका थिए।’
जोशीले थप्नुभयो, ‘नेपाली गीतको इतिहास खोज्न र त्यसलाई जोगाउन त कहाँकहाँ नेपाली मूलका मानिसहरू बसेका छन्, त्यो ठाउँ जानुपर्छ। भारत, म्यानमारलगायतका देशमा नेपाली मूलका मानिसहरू भएका देहरादुन, दार्जिलिङ, कालिङपोङ, बर्मालगायतका स्थानमा गएर उनीहरू त्यहाँ कसरी आए ? कसरी उनीहरूले लोकगीतलाई बचाइराखेका छन् ? त्यसका निम्ति खोज–अनुसन्धान गराउन सकिन्छ, एकाधबाहेक यस्तो कुरामा कसैको ध्यान जान सकेन। यस्तै, नेपाली बाजाहरूको अवस्था पनि उस्तै छ, बाजा भए पनि बजाउने मान्छे नै छैनन् अर्थात् ती बाजा कसरी बजाउने भन्ने ज्ञान नै छैन। यस्ता काम गर्नेलाई कहिल्यै प्रोत्साहन दिइएन। खालि देशको गहना भनेको भरमा मात्र हुन्छ र ? अहिले म आफैं भन्छु, खोज्दै जाँदाखेरि सबैभन्दा पुरानो गीत कहाँ छ त ? कोहीसँग छ यसको उत्तर ?’
नेपाली गीतको इतिहास खोज्न र त्यसलाई जोगाउन त कहाँकहाँ नेपाली मूलका मानिसहरू बसेका छन्, त्यो ठाउँ जानुपर्छ। भारत, म्यानमारलगायतका देशमा नेपाली मूलका मानिसहरू भएका देहरादुन, दार्जिलिङ, कालिङपोङ, बर्मालगायतका स्थानमा गएर उनीहरू त्यहाँ कसरी आए ? कसरी उनीहरूले लोकगीतलाई बचाइराखेका छन् ?