चितवनका हात्ती, गैंडा. . .

चितवनका हात्ती, गैंडा. . .

तीजजस्तै हामीहरू जितिया पर्व यसैगरी नाचेर मनाउँछौं। राति ११–१२ बजे चामलको ‘अनदी’लाई उसिनेर तितर (मीठो भोजन) बनाउँछौं अनि मिष्ठान्न भोजन गर्छौं।

धान् बाली पहेँलो भयो पीपलु छायाँले 

याँ सबै सञ्चै छौ दाजु हजुरका मायाले।

अमेरिकामा देउडा गीत बीजारोपण गरेर नेपाल फर्किएँ। लगत्तै नमस्ते लघुकथा मञ्च नेपालले देउडा गीत प्रस्तुुतिका लागि सो संस्थाका संस्थापक सभापति कृष्णजी शर्मा, घनश्याम डल्लाकोटीले चितवनको रापतीमा बोलाए। पूर्वी चितवनका लहलहाउँदा पहेँला धानका फाँटले शरद ऋतु बोलाइरहेको थियो। दाइँ गर्नुलाई सुदूरपश्चिम र कर्णाली प्रदेशमा धान चुट्नु भनिन्छ। शरद ऋतुबारे देउडा गीत ४०/४५ वर्षपहिले रेडियोमा गाएको याद दिलायो अन्नको भण्डार मानिएको चितवन जिल्लाले।

मानौं, कर्णाली प्रदेशमा दसैंको बेला मनाइने जात रामरमिता र देउडा खेलिने पर्वमय उल्लास देखियो चितवनमा। यस्तो संयोगमा मनभरि कयौं गीतका भंगाला बगिरहन्छन्, सुनाउन मन लाग्छ। तर अलि बिरानो बस्तीका गीत सुनाउँदा देउडाका भाका न बुझेर अपमानित होइएला कि भन्ने पनि मनभित्रको पीर। गीतसंगीतका व्याख्याता प्रकाश सायमीले भने जस्तै संगीतको कुनै भाषा हुँदैन, गीत नबुझ्नुमा बेअर्थ हँुदैन। यही कुरा लागू भयो, साहित्यिक र गीतिमय साँझ चितवनमा मलाई।

२०६२/०६३ को जनआन्दोलन सफल पार्न नागरिक अगुवाका रूपमा चितवन जिल्लालगायत देशभरिका धेरै जिल्ला सदरमुकाममा देउडा गीत सुनाउँदै हिँडें साथीसँग। ठाउँ विशेषका गीतहरूले विशेष अर्थ राख्छ। चितवनका आदिवासी, चौधरी जातिलाई दुल्लु र दैलेखमा पाइने पञ्चदेवल र गणिकाबारे गीति शैलीमा जानकारी गराउँदा संस्कृति अगुवा सन्तकुमार चौधरीले समावेशी भाषामा सुनाइदिए चितवन पनि थारू संस्कृतिका लागि सुन्दर फूलबारी हो। उनी भन्दै थिए, गढी भनेका किल्लाहरू हुन्, सिन्धुलीगढी, हरिहरपुरगढी आदिले अंग्रेजविरुद्ध गोर्खाली फौजले लडेका थिए रे, हामीहरूको रक्षा गरेका थिए रे !

सन्तकुमारकै पहलकदमीमा जुमेरा होटलको सभाहलमा उपस्थित थारूहरूले फागू पूर्णिमामा नाचिने फगुवा नाच नाचे। रामायणको कथामा आधारित सो नाच रामभक्त हनुमान, भाइ लक्ष्मणले राम र सीतालाई गरेका आदर र मर्यादामा आधारित कथाहरू रहेछन्। होरिया होरिया होरङ होरङजैसा होरी भन्दै आफ्नो मातृभाषा थारू भाषामा गाउँदै पिठ्यूमा मयूरका प्वाँख राखेर आफ्नो संस्कृति देखाउँदा कताकता गुल्मी जिल्लाको सरौं र सल्यानमा टप्पा गीतमा नाचिने नाचजस्तो देखिन्थ्यो। तर विधि फरक रहेछ। संस्कृितकर्मी सौमिन्द्र, फगुना, कारिका चौधरी आयोजक घनश्याम डल्लाकोटी, डा. विदुर चालिसेलगायत पंक्तिकार पनि थारू नाचमा नाच्यौं।

पुरुषहरूको मौलिक नृत्यपछि थारू महिलाले मौलिक नाच ‘झम्टा’ नाचे। महिला संस्कृति अगुवा शुभद्रा चौधरी जानकारी गराउँदै थिइन्, ‘हामी तीज पर्व मनाउँदैनौं, बरु झम्टा नाच गोलो आकारमा घुमेर आफ्नै भाषामा थारूहरूको परम्परागत संस्कृति, पितापुर्खाहरूले मनाएको पर्वको चर्चा गर्दै मनाउँछौं। गोडाको चाल करिबकरिब देउडा नाचको जस्तै देखिन्छ। नाच्ने परम्परा पनि गीतको सबालजवाफ जस्तै रहेछ। बरु फरक यति छ कि थारू चेलीबेटीले हातहातमा लट्ठीजस्तै काठ बोकेर शब्दैपिच्छे तालमा लट्ठीले हिर्काउँदा रहेछन्। यसबाट निस्कने नयाँ धुनले पैतला मिलाऊ, गीत नबिगार भन्ने सन्देश दिन्छ भनी जानकारी गराइन्, संस्कृति अगुवा   श्रीमती शुभद्रा चौधरी।

शुभद्रा थप जानकारी गराउँछिन्, तीजजस्तै हामीहरू जितिया पर्व यसैगरी नाचेर मनाउँछौं। राति ११–१२ बजे चामलको ‘अनदी’लाई उसिनेर तितर (मीठो भोजन) बनाउँछौं अनि मिष्ठान्न भोजन गर्छौं। आदिकालदेखि हाम्रो थारू संस्कृतिको जगेर्ना हामीले नै गर्दै आइरहेका छौं। सरकारले थप हौसला देओस् भन्दै थिए, नृत्यमा सहभागी भागीरथी, शान्तिदेवी, सीता चौधरीहरू। अबोध नारीको झंै पवित्र आवाज सुनेर मलाई थारूजस्तै पछाडि परेका देशका सयौं संस्कृतिको ढोका लोकतान्त्रिक सरकारले नखोले कसले र कहिले खोल्ने ?   सभामा गण्डकी अञ्चलको सालैजो, गुरुङ जातिको रोधी, पूर्वाञ्चलको मारुनी संस्कृतिले पनि सबैको मन तान्यो।

उत्तरका हिमशृंखला मधेसका एकनासका चारकोशे झाडी र हिमालबाट बग्ने महाकाली, सेती, कर्णाली, गण्डकी, कोशी नदीजस्तै रहेछन्, नेपालका हरेक क्षेत्र, जनजाति र भूगोलमा मनाइने अथाह संस्कृति। जात र भूगोलअनुसार ताŒिवक भिन्नता देखिएता पनि सयपत्री फूलको सुन्दर मगमगाउँदो मालाजस्तै रहेछन्, नेपालको संस्कृति, रहनसहन, भाषा र शैली। थारूहरूको मौलिक नाचमा गोडा चलाउन हातमा मयूर र डम्फु समातेर उनीहरूले जस्तै नृत्य गर्न पंक्तिकारलाई गाह्रो परेन। थारू संस्कृतिमा एकाकार हुन उनीहरूसँगै रमाइरमाई नाचे। साथै देउडा संस्कृतिबारे संक्षिप्त जानकारी पनि गराएँ।

देउडा सुदूरपश्चिम र कर्णाली प्रदेशको मौलिक संस्कृति हो। डेढी कदममा खेलिने यो संस्कृति बचाउन गीत गाउन र सो अनुरूपको पैतला चलाउनु पर्छ। एक कदम अगाडि आधा कदम पैतला पछाडि चलाएर देब्रेतिरबाट दाहिनेतिर अगाडि बढ्नुपर्छ भन्दै उनीहरूका सामु गीत पनि गाएर नाचे। पंक्तिकारले नाचेको देखेर खुसी हुँदै उनीहरू पनि नाच्न अग्रसर भए। संस्कृतिमा गहिरो अभिरुचि भएकाले देउडा नाच्न गाह्रो भएन थारू महिला, पुरुषलाई। सुदूरका मौलिक भाका ओ वाज झुम्य्रौली वाज, झम्क्यो डालीमा, ¥याट्टी ¥याट्टी फर्क छो¥याट्टी, छणका नन्दकेश लय मञ्चमा गाइरहँदा सन्तकुमार चौधरी, शुभद्रा चौधरीलगायत मात्र नभएर सभाहलमा उपस्थित सबैजना स्वतःफूर्त नाचिरहे। घनश्याम डल्लाकोटी, लघुकथाकर मीठुकुमारी पाठक, सुरेशकुमार पाण्डे, विष्णु पन्थी, सुरेशकुमार काफ्ले, यमुना प्रधानांग आदिले देउडामा सहभागिता देखाए। समावेशी संस्कृतिको विकास र विस्तार यसरी गरिनुपर्दो रहेछ :
हिमाल अग्लो नेपालको देवता दर्नाली 
आउँदा जाँदा पानी पिउँला न सुक्नु कर्णाली।

कर्णाली नदीलाई कहिल्यै पनि नसुक्नु भनी गीतमा अनुरोध गरिरहँदा उपस्थित केही संस्कृतिकर्मीले अब नसुक्नु नारायणी नदी भन्नुहोला कलाकारज्यू भनी सल्लाह पनि दिए। देउडा गीतमा माथि उल्लेख गरे जस्तै गीतका दुईवटा पंक्ति हुन्छन्। एउटामा १४ र अर्को पंक्तिमा पनि १४ वटा अक्षर मिलाएर २८ वटा अक्षर मिलाएर लोकछन्दमा आधारित देउडा गीत बन्छन्। पहिलो पंक्तिले गीतको मुखडा देखाउँछ भने दोस्रो पंक्तिले पूरै अर्थको व्याख्या गर्छ। यी गीतलाई समष्टिरूपमा खेल भनिन्छ। यी सबै गीत सुदूरपश्चिम र कर्णालीका वनगीत हुन्, साहित्यका अनमोल भण्डार हुन्।

देउडा गीतहरू अब त थारू, गुरुङ, मारुनी, सेब्रो, मिथिलाञ्चलको वैभवशाली संस्कृतिका मितेरी गीत र संस्कृति बन्न पुगेका छन्। पूर्वी चितवनको जुमेरा होटेलको सभाहलमा मौलिक देउडा गीतहरू सयौं संस्कृति, गीत र साहित्यप्रेमीलाई जानकारी गराउन पाउँदा निकै खुसीको अनुभूति भयो। २०३७–४० सालतिर यस्ता मौलिक भाका रेडियो नेपालमा र पछि म्युजिक नेपालमा रेकर्ड भएका थिए। म्युजिक नेपालमा परशुराम चौधरी (सुनसरी)ले दर्जनौं देउडा गीत रेकर्ड गरी सहयोग गरेका थिए। अहिले चितवनका धरतीपुत्र पुत्रीहरूलाई तिनैमध्येका केही देउडा गीत सुनाउन पाउँदा आफूलाई भाग्यमानी सम्झें।

चितवनका हात्ती, गैंडा, मयूरका ताँती 
देउडा गीत र मयूर नाचको रूपै भाँती भाँती।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.