युवकको बयान : होसमा थिइनँ, महिलाको शव बोक्ने मै हुँ, हत्या गरेको होइन
युवकले कालीमाटीको डिभाइन कम्प्लेक्सको सडक छेउबाट उक्त महिलाको शव बोकेर सडकमै फालेका थिए। सोही आधारमा प्रहरीले शव बोक्ने युवकलाई पक्राउ गरेर नियन्त्रणमा लिएको छ।
काठमाडौं : गत मंसिर ७ गते कालीमाटीस्थित संगीत मार्गको सडक छेउमा एक महिला मृत भेटिइन् । कुलेश्वर बस्ने दोलखाकी ४५ वर्षीया जानुका सुर्खेतीको शव सडकमा फालिएको अवस्थामा भेटिएको थियो ।
एकाबिहानै सडकमा महिलाको शव भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरी वृत्त कालीमाटी र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गर्यो । अनुसन्धानको क्रममा उक्त एरियाको सीसीटिभी फुटेज हेर्ने क्रममा सोही दिन रातको ३.१७ बजे एक युवकले उनै महिलाको शव बोकिरहेको भेटिएको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार सीसीटिभी फुटेज अनुसार ती युवकले कालीमाटीको डिभाइन कम्प्लेक्सको सडक छेउबाट उक्त महिलाको शव बोकेर सडकमै फालेका थिए । सोही आधारमा प्रहरीले लास बोक्ने युवकलाई पक्राउ गरेर नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा बझाङको बित्थडचिर–९ का २२ वर्षीय कविन्द्र मल्ल छन् । उनलाई कुलेश्वरबाट पक्राउ गरिएको थियो । उनीविरुद्ध ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । महिलाको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको थियो ।
प्रहरी वृत्त कालीमाटीका डीएसपी रूपक खड्काका अनुसार सीसीटिभी फुटेजमा ती युवकले महिलालाई कुनै कुटपिट गरेको देखिँदैन । महिलाको शरीरमा चोटपटक पनि छैन ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार उक्त घटनामा मृत्यु भएकी महिलाको पोस्टमार्टम रिपोर्ट आएको छ । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक चिकित्सकले गरेको शव परीक्षण रिपोर्टअनुसार लिभरको समस्याका कारण उनको मृत्यु भएको देखिएको छ । पोस्टमार्टम रिपोर्टमा उनको मृत्युको कारणबारे लेखिएको छ, ‘डिजिज अफ द लिभर ।’
हत्या गरेको पुष्टि भएन
हत्या आशंकामा पक्राउ परेका बझाङका मल्ल प्रहरी हिरासतमा छन् । पोस्टमार्टम रिपोर्टमा भने ती महिलाको मृत्यु कलेजोको समस्याले कारण भएको भन्ने छ । यही रिपोर्टलाई हेर्ने हो भने पनि कविन्द्रले ती महिलाको हत्या गरेको देखिँदैन । उनको स्वभााविक मृत्यु भएको देखिन्छ ।
प्रहरी वृत्त कालीमाटीका डीएसपी रूपक खड्काका अनुसार सीसीटिभी फुटेजमा ती युवकले महिलालाई कुनै कुटपिट गरेको देखिँदैन । महिलाको शरीरमा चोटपटक पनि छैन । युवकले बोक्नु अघि ती महिला त्यहीको सडकमा बसिरहेको अवस्थामा सीसीटिभी फुटेजमा देखिन्छ । उनको मृत्यु कहाँ, कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए ।
खड्का भन्छन्, ‘प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका युवकले आफू लागूऔषध अम्मली भएको बताएका छन् । घटना भएको युवकले आफू होसमा नरहेको र किन कसको लास बोकेको भन्ने केही थाहा नभएको बताएका छन् । तर, उनले महिलाको शव बोक्ने आफू नै भएको स्विकार गरेका छन् तर हत्या गरेको विषयमा अस्वीकार गरेका छन् ।’
पक्राउ परेका मल्ल पहिलोपटक पक्राउ परेका भने हैनन् । उनको पृष्ठभूमि आपराधिक प्रवृत्तिको छ । यसअघि १० पटक विभिन्न कसुरमा हिरासत बसिसकेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार महिलाको हत्या आरोपमा संलग्न मल्ल १० पटक पक्राउ परिसकेका छन् । २०७७ चैतमा प्रहरी वृत्त जनसेवाले उनीविरुद्ध अभद्र व्यवहार मुद्दा चलाएको थियो ।
२०७८ वैशाख र भदौमा प्रहरी वृत्त कालीमाटीमा, २०७९ वैशाखमा बझाङमा, २०७९ असारमा कालीमाटीमा र २०८० जेठमा उनी सिंहदरबार वृत्तमा थुनामा परेका थिए । २०८१ कात्तिकमा उनलाई चोरी तथा डाँका मुद्दामा प्रहरी वृत्त कालीमाटीले नै पक्राउ गरेर अनुसन्धान गरेको थियो । २०८१ वैशाख र भदौमा उनी अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ परेका थिए ।
आरोपित मल्लविरुद्ध कसरी बढ्छ अनुसन्धान ?
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता आचार्यले घटनाको अनुसन्धान पूरा नभएकाले यही नै निर्णय हुन्छ भनेर कन्फर्म गर्न नसकिने जानकारी दिए ।
उनी भन्छन्, हत्या आरोपमा पक्राउ परेका उनीविरुद्ध अन्य कसुर पनि आकर्षित हुन सक्छन् । पोस्टमार्टम रिपोर्ट र आरोप नमिलेको अवस्थामा उनीविरुद्ध मृतक महिलाको लास गलत नियतले ओसारपसार गरेको कसुरमा पनि अनुसन्धान हुन सक्छ । पोस्टमार्टम रिपोर्ट नमिल्नासाथ उनी छुटिहाल्ने भन्ने हुँदैन ।
प्रहरी प्रतिवेदनमा आरोपितले हत्या गरेको भन्ने प्रमाण पुष्टि भएन भनेर पनि लेख्न सकिन्छ । अनुसन्धान सकिएपछि मिसिल अदालतमा दर्ता गरिन्छ । अदालतको आदेशअनुसार नै निर्दोष सावित हुने वा थुनामै रहने निर्क्योल हुन्छ ।