रोल्पामा झोलुङ्गे पुल बनाउने क्रममा ढिस्कोले पुरिएर ५ जनाको मृत्यु, दुईजना भागेर बाँचे
रोल्पा : पूर्वी रोल्पामा झोलुङे पुल बनाउन खाल्डो खनेर पर्खाल लगाइरहेको बेलामा माथिबाट ढिस्को खस्दा पाँच जनाको पुरिएर मृत्यु भएको छ । सुनछहरी गाउँपालिका-३ मौलाबाङ र बाहिरी गाम जोड्ने झोलुङ्गे पुल निर्माणमा खटिएका बाहिरी गामका पाँचजनाको मृत्यु भएको हो ।
आज बिहान ९:५० बजे ढिस्को खस्दा पुरिएर मृत्यु हुनेहरुमा ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ६६ वर्षीय देवीराम परियार, ४० वर्षीया सुबित्रा परियार र वर्ष २७ की आइती परियार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार ३ पुरुष र २ महिलाको शव निकालिएको छ । एल.बि.एण्ड पल्लभी जक्सन जेभी निर्माण सेवा अन्तर्गत झोलुङ्गे पुल निर्माणमा ७ जनाले काम गर्दै आएका थिए । ढिस्को खस्दा २ जना भागेर जोगिन सफल भएका थिए । उनीहरुको अवस्था सामान्य छ । सबै शवको सनाखत भएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता रोहितकुमार शाहीले जानकारी दिए।
मृत्यु हुनेमा दुई पुरुष र दुई महिला रहेका छन् ।
बिहान १०:५० मा प्रहरीलाई घटना बारे सूचना आएपछि चौकिबाट गाम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक प्रकाश बिष्टको कमाण्डमा ५ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो ।
स्थानीय र प्रहरीले शव निकालेका थिए । इलाका प्रहरी चौकी सुलिचौरबाट प्रहरी निरीक्षक अरुण तामाङको कमाण्डमा पनि ७ जनाको प्रहरी टोली समेत खटिएको छ ।
घटनाबारेको सूचना आउने बित्तिकै प्रहरी परिचालन गरिएको प्रहरी नायव उपरीक्षक भरत लामाले जानकारी दिए । घटनास्थल सदरमुकाम लिबाङबाट २८ कोष पूर्वमा पर्दछ ।