‘विश्वद्वन्द्व’को भ्रामक भुलभुलैया
विश्वका विभिन्न राष्ट्रबीच अन्तरदेशीय टकराब पेचिलो बन्दैछ। इजरायल–प्यालेस्टाइन, रसिया–युक्रेन युद्घलगायत अनगिन्ती द्वन्द्वका परिघटनाहरूले सम्पूर्ण मानव समूहलाई तर्साइरहेको छ। तर टकराबका यस्ता नियमित शृंखलालाई बुझ्ने क्रममा हामी कम्तीमा दुईवटा भ्रामक भुलभुलैयामा हराइरहेका छौं।
द्वितीय विश्वयुद्घपछि अहिलेसम्म विभिन्न द्विपक्षीय र त्रिपक्षीय युद्घका गरी जम्मा ५६ वटा शृंखला चलेका छन्। हुन त युरोपका केही देशको अहंकार अनि आपसी लडाइँलाई विश्वयुद्घ नै भन्नुपर्छ कि पर्दैन ? यो अर्को बहसको विषय होला। युरोपकै अधिकांश देशले मात्र खेल्ने फुटबल प्रतियोगितालाई पनि विश्वकप भन्ने प्रचलन छ। सायद यी पनि भाषाको साम्राज्य अथवा प्रभुत्ववादका उदाहरण हुन्।
पछिल्लोपटक विश्वशक्ति अनि उनीहरूबीचको टकराब अथवा द्वन्द्व भन्दै आएका घटनाहरू पनि यस्तै खालको भाषिक प्रभुत्ववादका ज्वलन्त उदाहरण हुन्। सच्याइचाहिँ यो हो कि न त अन्तरदेशीय टकराबका पछिल्ला भिडन्त केवल द्वन्द्व हुन्, न त ती विश्वशक्ति नै हुन्। यी दुवै बुझाइ हामीमाथि जबर्जस्त थोपरिएको भाषिक साम्राज्य अथवा प्रभुत्ववादको उपज हो। हामीमाथि गरिएको ज्ञानको हिंसा र दिमागमाथि उपनिवेशीकरणको परिणाम हो।
द्वितीय विश्वयुद्घपछिका ५६ वटा ती अन्तरदेशीय टकराबमा ९२ देश सक्रिय हिसाबले सरिक र सहभागी भएका छन्। त्यस्ता आततायी टकराबका परिणाम एवं विध्वंशबारे विविध शोध तथा अध्ययन गर्ने संस्थालगायत शोधार्थीले केही बृहत् र हृदयविदारक तथ्यहरू सार्वजनिक गरेका छन्। पछिल्लो वर्ष २०२३ मा मात्रै यस्ता टकराबका कारण १ लाख ६२ हजार मानिसको अनाहकमा ज्यान गएको छ। १९३ ट्रिलियन डलरबराबरको आर्थिक नोक्सानीको प्रक्षेपण छ। ११० मिलियन मानिस शरणार्थी बन्नुपरेको छ। विश्वव्यापी रूपमा स्थायी तथा अटल शान्तिको अभिरुचिसाथ सन् १९४५ मा संयुक्त राष्ट्रसंघ स्थापना भयो।
तर त्यसपछि १०८ वटा देशले पहिलेभन्दा सैन्यशक्तिलाई अभैm बढोत्तरी गरेका छन् र गर्दैछन्। ४० देशले त ड्रोनसमेत प्रयोगमा ल्याएका छन्। पछिल्लो ४० वर्षमा कुनै देशले द्वन्द्व जितेर टकराब अन्त हुने दर ४९ बाट ९ प्रतिशत र आपसी सहमति तथा वार्तालापबाट द्वन्द्व अन्त्य हुने दर २३ बाट ४ प्रतिशतमा झरेको छ। यसको अर्थ टकराब अन्तहीन र अनन्त बन्दैछन्। बालबच्चासमेत यसका सिकार भएका छन्। सन् २०२३ मा मात्रै ४५० मिलियन बालबच्चा हत्या, अपहरण, अंगभंग, सैन्यदस्तामा भर्ती, यौन अत्यचारलगायत आततायी अभ्यासको जोखिममा भएको तथ्यांक छ। सिंगै विश्वसमुदाय यस्ता टकराबबाट ठूलो आयतनमा प्रताडित बन्नु परेको छ।
गरिबी, ऊर्जा संकट तथा मुद्रास्फीतिको बढ्दो दर नियन्त्रण बाहिर जाँदैछ। वस्तु तथा सेवाको आपूर्तिमा व्यवधान, आपसी विश्वास तथा हार्दिकताको विघटन यसका नयाँ आयाम हुन्। मानसिक पीडा, अफवाहको सञ्जाल, घृणा वक्तव्यबाजी, त्रास तथा बेचैनले गुणात्मक जीवनको कम्पासलाई अस्थिर बनाउँदैछ। ‘सफ्टपावर’बाट ‘हाडपावर’तिर अनि ‘प्रोक्सीवार’बाट ‘रियलवार’तिर विश्वलाई धकेलिरहेछन्। तर आमविश्लेषक यसलाई ‘कन्फ्लिक्ट’ अथवा द्वन्द्व÷युद्घ भनेर भ्रामक भुलभुलैयाको खेती गरिरहेछन्। तर यी टकराबहरू युद्घ अथवा द्वन्द्व नभएर पाँच मुख्य आधारमा अति संघीन र संगठित अपराध हुन्।
एक, कोही व्यक्तिले अर्को व्यक्तिको हत्या गर्दा त्यो गम्भीर अपराध हुन्छ। कानुनको बर्खिलाप हुन्छ, लोकतन्त्रको अपमान हुन्छ। माथिका घटनामा राज्यले मानिसको हत्या गरिरहेको छ। राज्यले गरेको हत्या पनि अपराध नै हो, युद्घ हुन सक्दैन। दुई, अझ आततायी यस हिसाबमा छ कि एक÷दुईजना होइन, सामूहिक कत्लेआम गरिरहेको छ, बीभत्स र पाशुवत हत्या भएको छ। तीन, राज्यको जिम्मेवारी व्यक्तिको जीवन रक्षा गर्नु हो। जो रक्षक हुनुपर्ने हो, उही भक्षक बनिरहेको छ। जोगाउने दायित्वबाट विमुख हुनै नै अपराध थियो, अझ हत्याको अपराधमै होमिएर अपराधकर्मको आयतन दोब्बर बढाइरहेछ।
चार, राजनीतिमा आन्दोलन, द्वन्द्व र आतंक गरी तीन फरक शब्दावलीको पृथक् अर्थ हुन्छ। आन्दोलन सामान्यतया शान्तिपूर्ण हुन्छ, आपसी वार्तालाप र सहमतिबाट निष्कर्षमा पुग्छ। द्वन्द्वमा लडाइँ हुन्छ र शत्रुमाथि सशस्त्र युद्घमार्पmत विजय प्राप्तगरी शक्ति लिने उद्देश्य हुन्छ। शत्रुलाई मात्र निसानामा राखेर युद्घ लडिन्छ। तर आतंकमा शत्रुलाई मात्र नभै आम निहत्था र सामान्य सर्वसाधारणलाई पनि आक्रमण गरिन्छ। अहिलेका टकराबका दृश्यमा तोकिएका शत्रुभन्दा सर्वसाधारणको हाताहाती र परिसानी करोडौं गुणा बढी छ। पाँच, यसले टकराबमा सरिक नभएकालाई पनि व्यापक त्राहिमाम पारेको छ। तसर्थ हामीले द्वन्द्व भनेर भुलभुलैयामा बुझिराखेको यी घटना संघीन र संगठित अपराध हुन्।
अनि यसरी टकराबमा आउने राष्ट्रहरूलाई शक्तिराष्ट्र भनिरहेका छौं। विश्वयुद्घ पछिका यस्ता घटनामा अमेरिका तथा रसिया प्रत्यक्ष÷परोक्ष रूपमा एकअर्काको प्रतिवादमा भएका निष्कर्ष निकालिन्छ। कोरिया, जर्मनी, भियतनाम तनावदेखि रसिया युक्रेन तनावसम्म मैदानमा जो भए पनि योजनाचाहिँ अमेरिका र रसियाको भनेर चित्रण हुन्छ। अनि यी शक्तिलाई विश्वशक्ति मानेर भ्रमको अर्को महल खडा गरिएको छ। ‘वल्र्ड अडर’मा पहिलो र दोस्रो राष्ट्रको स्थान दिने अथवा ‘फस्ट वल्र्ड’ र ‘सेकेन्ड वल्र्ड’ भनेर घोषणा गर्ने केही मनमौजी विश्लेषणले लामो समय सामरिक ज्ञान अनि चेतलाई करणी गर्दैछ। उनीहरूको सैन्यशक्तिमात्रको आधारमा यस्तो निष्कर्ष निकालिएको हो।
तर पछिल्लो केही समयदेखि ‘विश्वशक्ति मापन सूचकांक, ७०’ को नवीन अवधारणा आएको छ। कुनै पनि देशलाई शक्तिशाली मान्न प्रयोग हुनुपर्ने मुख्य १० सूचकांकमा क्षेत्रफल, जनसंख्या, अर्थतन्त्रको आकार, प्रतिव्यक्ति औसत आयस्तर, खुसीपनाको स्तर, प्रतिव्यक्ति क्रय क्षमता, मुद्राको सबलता, आणविक हैसियत, लोककल्याणकारी गतिविधिमा लगानी, अनि हरित अर्थतन्त्र उन्मुख कदमलाई हेरिन्छ। एउटा तालिका बनाएर यी १० सूचकांकलाई राखी हरेक सूचकांकमा विश्वभरबाट पहिलो ७ देशलाई सूचीकृत गरी ‘विश्वशक्ति मापन सूचकांक, ७०’ को म्याट्रिक्स बन्छ। नागरिकको गुणस्तरीय जीवनमा सम्बन्धित देशको क्षेत्रफल, जनसंख्या, अर्थतन्त्रको आकार, आणविक हैसियतको खासै कुनै सम्बन्ध हुँदैन।
विश्वशक्ति भन्ने गरेका राष्ट्रहरू यिनै सूचीमा चाहिँ पहिलो सातभित्र छन्। तर प्रतिव्यक्ति औसत आयस्तर, खुसीपनाको स्तर, प्रतिव्यक्ति क्रय क्षमता, मुद्राको सबलता, लोककल्याणकारी गतिविधिमा लगानी, हरित अर्थतन्त्र उन्मुख कदमजस्ता पक्षले चाहिँ नागरिकको गुणस्तरीय जीवनसँग बलियो, नजिकको र प्रत्यक्ष सम्बन्ध राख्छन्। यद्यपि यी सूचकांकमा अहिलेसम्म भनिदिएका विश्वशक्तिहरू कतै पनि छैनन्, पहिलो ७ हैन, अधिकांश त पहिलो १५ देखि २० सम्ममा पनि छैनन्।
नागरिकको जीवन विनाश गर्ने सूचकांकमा पहिलो सातभित्र परेकालाई विश्वशक्ति भन्ने कि गुणस्तरीय जीवनसँग नजिकको र प्रत्यक्ष सम्बन्ध राख्ने सूचकांकमा पहिलो सातभित्र पर्नेलाई विश्वशक्ति मान्ने ? विश्वशक्तिको मापन जीवन विनाश र पृथ्वी ध्वस्त बनाउने क्षमतामा मापन गर्ने कि, जीवन बचाउन र पृथ्वी जोगाइराख्न गरिने अभ्यासका आधारमा मापन गर्ने ? हामी यो भ्रमबाट मुक्त हुनुपर्छ।
तसर्थ, भाषाको प्रभुत्वमार्पmत विश्वशक्तिका रूपमा उनीहरूको चित्रण अनि द्वन्द्वका रूपमा उनीहरूको गतिविधिको व्याख्या र सम्प्रेषण एक भ्रामक भुलभुलैया सिवाय केही होइन। हामीले अहिलेसम्म भनिआएका विश्वशक्ति वास्तवमा नै विश्वशक्ति नभै विनाशक शक्ति हुन्, उनीहरूले कौशल देखाइरहेको टकराबसमेत युद्घ अथवा द्वन्द्व नभएर घोर मानवताविरोधी एउटा संघीन अनि संगठित अपराधमात्र हो।