चेत आए पो !

चेत आए पो !
सुन्नुहोस्

धेरै भइसकेको थियो मित्र सुपर्णखा र म कतै घुम्न नगएको। आज मैले नै निम्ता गरें उनलाई घुम्न जान। उनले सहर्ष स्वीकार गरे। मैले सोचें– यसो एकान्त ठाउँमा बसेर कुराकानी गरौं। काठमाडौंमा एकान्त ठाउँ कहाँ पाउनु ? कंक्रिटको जंगल र जताततै भीडमभीड। भादगाउँको सूर्यविनायकको जंगल उपयुक्त ठाउँ लागेर उतैतिर लाग्यौं। त्यहाँ पनि यदाकदा हाम्रो एकान्तपनमा बाधा भए पनि हाम्रो कुरा जारी राख्यौं।

मैले कुरा बिसाएँ, ‘हेर, यसपालि मैले प्रस्टसँगै भनिदिएँ। म कसैलाई भ्रष्टाचार गर्न दिन्नँ। भ्रष्टाचार गर्नेलाई पुलिसले छाड्दैन।’ उनले झट्ट भनिहाले, ‘आफ्नो मान्छेबाहेक भनेर थप्नुपथ्र्यो नि।’

मैले उनको अनुहारमा हेरेर भनें, ‘त्यस्तो कुरा पनि सार्वजनिक गर्नुहुन्छ र ? तिमीले मलाई मूर्ख भन्ठान्याछौ कि क्या हो ? तिमीले जस्तो सबैले बुझ्छन् भन्ने नसोच न ! मूर्खहरूको दिमाग भुट्ने त हो नि। त्यसैले त पुलिसले समात्छ भन्ने त्रास देखाइदिएको मैले।’

उनले थपे, ‘अहिले पुलिस मेरै हातमा पनि भन्नुपथ्र्यो यद्यपि त्यहाँ पनि धेरै निष्ठावान् छन्, इमान्दार छन्। कसैको गोटी चालमा चल्दैनन्। भोलिको कुरा थाहा छैन, जब म कवचबाट टाढा हुनेछु भनेर पनि थपिदिएको भए झन् राम्रो हुन्थ्यो।’

‘अब तिमी यो यो भन्नुपथ्र्यो भनेर अहिले नसिकाउ। के के कुनबेला भन्नुपर्छ कुनबेला भन्नु हुँदैन भन्ने थाहा नभएको भए यस्तो सुरक्षित, आनन्दमय, सम्मानित, विलासी कवच भिरिरहन पाउँथें मैले ? ’ आफ्नो मित्र हुन् उनलाई भनेको मेरो कुरा अन्त जाँदैन र मेरा विरुद्धमा उनले कुनै षड्यन्त्र गर्दैनन् भन्ने विश्वासका साथ मैले आफ्नो कुरा ओकलें।

उनी बम्किए, ‘यै कुटिल चालले कति दिन जीवन चल्छ भन्ने सोचेका छौ ? अनि यस्तै चाल सुनाउन मलाई यहाँ ल्याएको तिमीले ? ’ मैले नरम भएर भनें, ‘त्यसो नभन न। असाध्य व्यस्त भइयो, एकछिन भए पनि फुर्सद लिउँ, यस्सो मनको कुरा गर्न मिल्ने मित्रसँग समय बिताऊँ भनेर पो यहाँ आएको त। तिमी त्यत्तिकै रिसाउँछौ।’

उनी पनि अलि नरम भएर मलाई सम्झाउने पारामा भने, ‘हेर, तिमी सम्मानजनक पदमा छौं। ती बिचरा आफूभन्दा सानाको विरुद्धमा नबोल। तिनीहरूको विषयमा धेरै माथापच्ची नगर। तिमीले तिनका विषयमा किन कुर्लिन प¥यो ? ’ मैले उनको कुरा काट्दै भनें, ‘तिमी यति ठूला छौ। त्यो लामखुट्टे कति सानो छ। त्यो कराएको सुन्यौ भने तिमी चुपो लागेर बस्छौ ? ’

उनी झर्किए, ‘यस्तै उखान टुक्का हालेर कति दिन चल्छ भन्ठानेका छौ ? आफ्नो सम्मानजनक पदको मर्यादा राख्न पनि सिक न। पदमा बस्दैमा हुन्छ र ? त्यसको मर्यादा बुझ्नु पर्दैन ? मर्यादा राख्नु पर्दैन ? ’

अब त मलाई पनि अलिअलि झोक चल्यो, भनिदिएँ, ‘उपद्रो उपद्रो काम गर्न थालेपछि बोल्नु परेन ? ’ मलाई सम्झाउने प्रयासमा उनले फेरि भने, ‘तिनले के उपद्रो गरे ? कसैले राजस्वको लुटेर भतेर खान पाइँदैन भनेर राजस्व उठाउन खोजे। कसैले अव्यवस्थित सहरलाई व्यवस्थित गराए। तिनको समर्थन गर्ने, तिनका काममा सहयोग पु¥याउनेभन्दा विरोध गरेर हिँड्ने गर्नु उचित हुन्छ ? ’

बालसखा हुन् भनेर मैले सत्य र गाँठी कुरा भनिदिएँ, ‘के गर्नु मित्र, म पनि त्यस्तो गर्न कहाँ चाहन्थें र ? राम्रा काम गर्नेहरूले हाम्रो अस्तित्व नै मेटाइदिने खतरा बढ्यो। एक त हाम्रा सहयोगी हातबाट धम्की आउन थाल्यो। यता पनि उता पनि हामी हाम्रो कमाइ दिन सक्दैनौं भन्न थाले। तिनका कमाइको अंश नपाउने हो भने हामी सिद्धिन्छौं। अर्कोतिर ती अर्काथरीका कामले गर्दा जनता हामीबाट टाढा टाढा हुने भए। अनि कसरी सहनु ? यो सम्मानित पद गुमाउन त भएन नि ! सहयोगी हातहरूलाई आफूले पनि सहयोग गर्नु प¥यो नि ! एक हातले ताली बज्दैन क्या र !’

‘इतिहासले सराप्ला, साथी’, उनले चेतावनी दिए।

आफ्नो इतिहास आफैंले कसले पढ्न पाएको छ र ? आफू नैं नभएपछि जे सुकै होस्, के मतलव। सबै कुरा बाँचुञ्जेलका लागि न हो। मरेपछिको विचार गर्ने त उल्लु हुन्। यही सोचेर म चुप लागें। त्यहाँबाट हामी फर्की पनि हालौं।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.