तलब माग्दै शिक्षक आन्दोलित
ढल्केवर(धनुषा) : महोत्तरीको सम्सीका गाउँपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलित बनेका छन्। ५ महिनादेखि तलब नपाएपछि उनीहरू आन्दोलित बनेका हुन्। तलब उपलब्ध गराउन माग गर्दै शिक्षक शिक्षिकाहरू सोमबार गाउँपालिका कार्यालयको प्रवेशद्वार अगाडि धर्नामा बसेका छन्।
पाँच महिनादेखि तलब रोकिएपछि आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिनु परेको नेपाल शिक्षक महासंघ सम्सी गाउँपालिकाका अध्यक्ष रामबाबु यादवले बताए। ‘हामीले तलबका विषयमा गाउँपालिका अध्यक्षलाई पनि पटक पटक जानकारी गरायौं। तर उहाँले पनि कुनै वास्ता नगरपेछि गाउँपालिका कार्यालयकै अगाडी धर्नामा बस्न बाध्य भएका हौं,’ अध्यक्ष यादवले भने।
तलब नपाएपछि आवत जावत देखि लिएर घरायसी समस्या समेत दिनप्रतिदिन बढ्दै गईरहेको बलिराम माविका प्रधानाध्यापक रबिन्द्र प्रसाद यादवले दुखेसो पाखे। यता सम्सी गाउँपालिकाका अध्यक्ष रामनाथ यादव गाउँसभा गर्न नसकेको कारण कर्मचारी तथा शिक्षकहरूलाई तलब खुवाउन नसकेको बताउँछन्। गाउँपालिका उपाध्यक्ष र केही वडा अध्यक्षका बीचमा कुरा नमिल्दा सभा गर्न नसकेको उल्लेख गर्दै उनले यसै महिनाभित्र सबै शिक्षक तथा कर्मचारीको तलब उपलब्ध गराउने बताए।