२० वर्षमा एकल महिलाको संख्या दोब्बर

२० वर्षमा एकल महिलाको संख्या दोब्बर

काठमाडौं : राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार एकल महिलासम्बन्धि एक प्रतिवेदन सार्वजनिक गरेको छ। नेपालमा पहिलोपटक सार्वजनिक गरिएको उक्त प्रतिवेदन अनुसार पारपाचुके-सम्बन्धविच्छेद गरेका महिला २१,२८७(०.२प्रतिशत) छ। छुटिएर बसेका ५९ हजार ५ सय २५(०.५ प्रतिशत) छन्। ३५ वर्षभन्दा माथि अविवाहित ९० हजार ७ सय ३(०.७ प्रतिशत) छन्। 

कुल ९ लाख ३६ हजार ९८ परिवारमा कम्तीमा एक जना एकल महिला पाइएको छ। ६६ लाख ६० हजार ८ सय ४१ गैरसंस्थागत घरपरिवारमध्ये ७ लाख ९९ हजार ७ सय ४४ परिवारमा कम्तीमा एक विधवा महिला छन्। कुल परिवारमध्ये १४ प्रतिशत परिवारमा एकल महिला छन्। पछिल्लो २५ वर्षको अबधिमा एकल महिलाको संख्या पनि बढ्दै गएको देखिएको छ। सन् २००१ को जनगणनामा एकल महिला ३.७ प्रतिशत मात्र रहेकोमा सन् २०२१ मा झन्डै दोब्बरले वृद्धि भएको छ। 

 सन् २००१ मा १० वर्ष र सो माथिका विधवा महिला ३.९ प्रतिशत रहेकोमा २०२१ मा करिब ३ प्रतिशत बिन्दुले बढी हुन गई २०२१ मा ६.६ प्रतिशत पुग्यो। सन् १९५२ देखिकै तथ्यांक हेर्दा पनि विधुवा महिला बढेको देखिन्छ। १९५२-५४ मा ५५ हजार १ सय ३८, १९६१ मा ४ लाख ८९ हजार ५ सय ६८, १९७१ मा ४ लाख ७ हजार ८ सय ८०, १९८१ मा २ लाख ७९ हजार ५ सय ५८ थिए। त्यस्तै १९९१ मा ४ लाख ६२ हजार १ सय ३५, २००१ मा ३ लाख ३ हजार ८ सय ३०, २०११ म ४ लाख ९० हजार ६ सय ६ विधुवा महिला भए। ३५ वर्ष र माथिका अविवाहित महिलाको अनुपात सन् २००१ मा ०.५ प्रतिशत मात्र थियो भने २०२१ मा ०.७ प्रतिशत पुगेको छ। 

विगत दुई दशकमा सम्बन्धविच्छेद र छुट्टिने दर पनि बढेको छ। विधवा महिलाका कति सन्तान ? 

१५ देखि ४९ वर्ष उमेरका १७ प्रतिशत विधवा महिलाको सन्तान नै नभएको प्रतिवेदनमा छ। ३० प्रतिशतका १ मात्र सन्तान, २२ प्रतिशतका २ सन्तान, १७ प्रतिशतको विधवाका सोभन्दा बढी सन्तान भएको सार्वजनिक प्रतिवेदनमा उल्लेख छ। ४ प्रतिशत विधवा महिलाको ६ वा सोभन्दा बढी सन्तान भएको पाइएको छ। प्रदेशअनुसार सन्तान भएका विधवा महिला मधेस प्रदेशमा १३ प्रतिशत छन्। बागमतीमा ३६ प्रतिशत विधवा महिलाका २ सन्तान छन्। 

६ वा सोभन्दा बढी सन्तान भएकामध्ये कर्णालीका विधवा महिलाको अनुपात सबैभन्दा बढी ८.३ प्रतिशत रहेको छ। अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशमा अधिकांश विधवा महिलाको धेरै सन्तान रहेको प्रतिवेदनमा उल्लेख छ। सहरी क्षेत्रमा बस्ने करिब ३६ प्रतिशत विधवा महिलाका दुई सन्तान छन्। 
घरमुली एकल महिला 

नेपालको कुल ६६,६०,८४१ घरपरिवारमध्ये झन्डै एक तिहाइ घरपरिवार (३१.५ प्रतिशत) महिला परिवारमुली छन्। महिला मुली हुने ३१.५ प्रतिशत परिवारमध्ये २२.३ प्रतिशत घरपरिवारको मुली एकल महिला र १९.२ प्रतिशत घरपरिवारको मुली विधवा महिला रहेको सार्वजनिक तथ्यांकमा उल्लेख छ। प्रदेशअनुसार कोशीमा सबैभन्दा बढी (२५ प्रतिशत) एकल महिला मुली भएका घरपरिवार रहेको छ भने मधेसमा १८.६ प्रतिशत र कर्णालीमा १९ प्रतिशत छ। 

यो तथ्यले प्रदेशअनुसार एकल महिला घरपरिवारको मुली रहेको पुष्टि गरेको तथ्यांक कार्यालयका उपप्रमुख तथ्यांक अधिकारी डा. हेमराज रेग्मीले जानकारी दिए।। त्यसैगरी, गण्डकीमा सबैभन्दा बढी (२०.६ प्रतिशत) घरपरिवारमा विधवा महिला र कर्णालीमा सबैभन्दा कम (१७ प्रतिशत) विधवा परिवारमुली रहेको देखिएको छ।

 साक्षरता १८.९ प्रतिशत 

देशको १० वर्ष वा सोभन्दा माथिका कुल विधुवा महिला जनसंख्याको साक्षरता १८.९ प्रतिशत छ। जुन महिला साक्षरताको राष्ट्रिय औसत ६७.१ प्रतिशतभन्दा कम हो। प्रदेशअनुसार विधवा महिलाको सबैभन्दा बढी साक्षरता दर बागमती प्रदेशमा छ। बागमतीका २३.९ प्रतिशत विधुवा साक्षर छन्। सबैभन्दा कम १०.६ प्रतिशत मधेसका विधुवा महिलाको साक्षरता दर छ। सबैभन्दा बढी साक्षरता दर पहाड(२०.७ प्रतिशत)मा छ। त्यसपछि तराइ(१८.३ प्रतिशत) र हिमाल(११.६ प्रतिशत) छ। एकतिहाइ (३५.४ प्रतिशत) भन्दा बढी प्राथमिक तह पूरा गरेका छन् भने यो प्रतिशत निम्न माध्यमिक तहमा १५.७ प्रतिशत र माध्यमिक तहमा ११.७ प्रतिशत छ। थोरै संख्यामा मात्र विधवा महिलाले स्नातक वा सोभन्दा माथि अध्ययन गरेको तथ्यांकमा उल्लेख छ। 

२३.४ प्रतिशत विधवा महिलामा सम्पत्ति स्वामित्व 

२३.४ प्रतिशत घरपरिवारमा घर र जमिनको स्वामित्व विधवा महिलामा छ। प्रदेशअनुसार सबैभन्दा बढी गण्डकीमा ३०.९ प्रतिशत र बागमतीमा २६.२ प्रतिशत महिलाको स्वामित्वमा घर र जमिन छ। सुदूरपश्चिममा सबैभन्दा कम १२.३ प्रतिशत छ। त्यस्तै महिलाको स्वामित्वमा घर र जमिन क्षेत्रअनुसार तराईमा २४.४ प्रतिशत र वासस्थानअनुसार सहरमा रहेको तथ्यांकमा देखिएको छ। 

विधवा महिलाका लागि सीमित रोजगारी

कुल १० वर्षमाथिका १ करोड २४ लाख ३९ हजार २ सय ४७ महिला जनसंख्यामध्ये ७४ लाख ९३ हजार २ सय ६९ आर्थिक रूपमा सक्रिय थिए। जसमध्ये ४२ लाख २७ हजार ३ सय ६० जनगणनापूर्व १२ महिनामा ६ वा सोभन्दा बढी आर्थिक उपार्जन हुने गतिविधिमा संलग्न भएकाले उनीहरूलाई सामान्यतया रोजगारीको रूपमा वर्गीकृत गरिएको छ। सामान्यतया सक्रिय महिला जनसख्यामध्ये, ८४.३ प्रतिशत विवाहित र ४.८ प्रतिशत विधवा महिला थिए। यसले विधवा महिलाका लागि सीमित रोजगारीका अवसर रहेको तथ्य उजागर गरेको निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए।

कुल ८ लाख २६ हजार १ सय ४७ विधवा महिलामध्ये ४७.२ प्रतिशत आर्थिक रूपमा सक्रिय थिए। जसअनुसार आधाभन्दा बढी विधवा महिला जनसंख्या श्रमशक्तिमा सहभागी नहुने सार्वजनिक तथ्यांकमा उल्लेख छ। यस्तै २१ प्रतिशत विधवा महिला सामान्यतया सक्रिय छैनन्। त्यसैगरी राष्ट्रियस्तरमा चारमध्ये एक जना विधवा महिलाले रोजगारी पाएका छन् भने मधेस प्रदेशमा यो अनुपात ६ मध्ये एक छ। अर्कोतर्फ, कर्णालीमा सामान्यतया रोजगारीमा रहेका विधवा महिलाको अनुपात सबैभन्दा बढी (३०.५ प्रतिशत) छ भने आर्थिक रूपमा सक्रिय नभएका विधवा महिला पनि कर्णालीमा सबैभन्दा कम (४३.९ प्रतिशत) छन्।

आयआर्जनमा नगर्नुमा घरायसी काम 

जनगणनाले नेपालको श्रमशक्तिमा महिला सहभागिता नहुनुमा धेरै कारण छन्। ८९.४ प्रतिशत घरायसी कामले आयआर्जनको काममा संलग्न नभएको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै घरको जिम्मेवारीको कारण ८९.३ प्रतिशत आर्थिक गतिविधिमा संलग्न छैनन्। आधा विधवा महिलाले आप्mनो उमेर वा हेरचाह आवश्यक पर्ने भएकाले अर्थोपार्जनको काम नगर्ने मुख्य कारण बताएका छन्। 

जनगणना २०७८ को नतिजाको आधारमा परिवारलाई सम्पन्नताको पाँच वर्गमा (न्यूनतम, निम्न, मध्यम, उच्च र उच्चतम) मा वर्गीकृत गरिएको छ। विधवा महिला जनसंख्यामध्ये ठूलो हिस्सा (२२.५ प्रतिशत) सबैभन्दा कम सम्पन्नता भएको वर्गमा छ। उच्चतम्बाट सबैभन्दा कम(१९.७ प्रतिशत) सम्पन्नताको वर्गमा देखिएका छन्। 

सम्बन्धविच्छेद हुनेमा उच्च सम्पन्न वर्ग बढी 

सम्बन्धविच्छेद हुने महिलामा उच्च सम्पन्नता भएका धेरै छन्। सम्बन्धविच्छेद हुनेमा २७ प्रतिशतभन्दा बढी उच्च सम्पन्नताको वर्गमा देखिएको छ। सम्बन्धविच्छेद भएका महिलामध्ये १४ प्रतिशत मात्रै सबैभन्दा न्यून सम्पन्नताको वर्गमा छन्। ३५ वर्ष वा सोभन्दा माथिका कहिल्यै विवाह नगरेका अविवाहित महिलाको उच्च अनुपात (३१.३ प्रतिशत) उच्च सम्पन्नताको वर्गमा देखिएको छ। नेपालमा अविवाहित महिलाको औसत उमेर ६२.०३ वर्ष छ। १५ देखि १९ वर्ष उमेर समूहका एकल महिलाको अनुमानित औसत उमेर ४८.७६ छ। जसले हाल १५ देखि १९ वर्ष उमेर समूहमा रहेका महिला आगामी ४९ वर्षसम्म एकल नभई बाँच्ने संकेत गरेको तथ्यांकमा उल्लेख छ। 

म एकल परिवारमा हुर्किएको हुँ। त्यसको पीडाबारे मलाई ज्ञान छ। एकल महिला प्रतिसोचमा परिवर्तन ल्याउनका लागि यो तथ्यांक सहायक सिद्ध हुनेछ। यो तथ्यांकले एकल महिलाको समग्र अवस्था उजागर गरेको छ। मधुसूदन बुर्लाकोटी, प्रमुख तथ्यांक अधिकारी, राष्ट्रिय तथ्यांक कार्यालय

१५ देखि १९ वर्ष उमेरकी महिला आफ्नो ६३ औं जन्मदिनमा एकल हुने अवस्थामा पुग्ने गरेको प्रतिवेदनमा उल्लेख छ। नेपालमा विधवा महिलाको औसत आयु ६४.९७ वर्ष छ। ‘जीवन तालिका प्रविधिबाट विधवा महिलाको अपेक्षित उमेर ५१.२० वर्ष हो अर्थात १५ देखि १९ वर्ष उमेरका महिला विधवापन विना थप ५१.२ वर्ष बाँच्ने छन्,’ प्रतिवेदनमा भनिएको छ। 

एक्लै बस्ने एकल महिला ५५ प्रतिशत 

 पछिल्लो समय एक्लै बस्ने एकल महिला र विधुवा महिलाको अनुपात बढ्दै गएको छ। सन् २००१ मा ३८ प्रतिशत एकल महिला एक्लै बस्ने गर्थे, जुन सन् २०११ मा बढेर ४१ प्रतिशत भयो। सन् २०२१ मा यो अझै बढेर ५५ प्रतिशतमा पुगेको छ। 

बढ्दो दरका यी तथ्यांकले सबै भौगोलिक क्षेत्रमा एकल महिलाको विस्तारित एक्लोपनको प्रवृत्ति उजागर भएको तथ्यांक कार्यालयका निर्देशक लामिछानेले जानकारी दिए। नेपालको सामाजिक तथा जनसंख्याकीय परिप्रेक्षसँग जोडेर हेर्दा एक्लै बस्नु भनेको एकल महिला जोखिममा पर्नु रहेको उनले बताए। सन् २००१ म आधाभन्दा बढी ५३ प्रतिशत विवाहित महिला एक्लै बस्दै आएका थिए, जो सन् २०११ म ४९ प्रतिशतमा झ¥यो। २०२१ म ३३ प्रतिशतमा घटेको तथ्यांकमा देखिएको छ। 

नेपालमा कुल जनसंख्याको २.२ प्रतिशत अपांगता भएका एकल महिला छन्। ‘कुल एकल महिलामा ७.३ प्रतिशतले कुनै न कुनै प्रकारको अपांगताको सामना गरिरहेका छन्। त्यसपछि विधवा महिला ६.५ प्रतिशत छन् भने १.८ प्रतिशत विवाहित महिला छन्। विवाहित वा विधवा महिलाको तुलनामा अपाङगताको विद्यमान दर एकल महिलामा बढि छ,’ प्रतिवेदनमा भनिएको छ, ‘शारीरिक र कम दृष्टि भएका विवाहित महिला, विधवा महिला र एकल महिला अधिक छन्।’ बहु अपांगताको अवस्थामा एकल महिलाले अपाङगता उच्च(८.७ प्रतिशत) रहेको अनुभव गरेको पाइएको पनि प्रतिवेदनमा छ। विधवा महिला र विवाहित महिला क्रमश ः ७.२ र ७.७ प्रतिशत छन्। 

किन बढे एकल महिला ? 

एकल महिलाको पहिलोपटक गरिएको तथ्यांकको ठूलो अर्थ छ । यसले नेपालमा एकल महिलाको समग्र अवस्थाको जानकारी दिनेछ । तथ्यांकलाई प्रभावकारी रूपमा राज्यले उपयोग गर्नुपर्छ । डा. योगेन्द्रबहादुर गुरुङ, प्रमुख, त्रिभुवन विश्वविद्यालय जनसंख्या केन्द्रीय विभाग

२३ प्रतिशत विधवा महिलाको विवाह २३ वर्ष वा सोभन्दा कम उमेरमा भएको प्रतिवेदनमा उल्लेख छ। विवाहित महिलामध्ये लगभग ८३ प्रतिशतले १५ देखि २४ वर्षको बीचमा विवाह गरेका थिए। यो उमेर समूहका ७१ प्रतिशत महिला विधवा महिला पर्छन्। जसमा धेरै जसो कम उमेरमा विवाह भएको महिला रहेका देखिएको छ। 

एकल महिलाको सामाजिक अवस्था 

कुल पहाडी जाति समूहमध्ये ७.५ प्रतिशत विधवा महिला छन्। त्यसपछि पहाडि दलित ७.२ प्रतिशत र धार्मिक भाषिक समूह ४.३ प्रतिशत छन्, जुन जात-जाति समूहमध्ये सबैभन्दा कम हो। पहाडी जातमा ८.८ प्रतिशत एकल र ७.५ प्रतिशत विधवा महिला छन्। कुल मधेस-तराई जातिमध्ये करिब ६ प्रतिशत महिला एकल र ५.४ विधवा महिला छन्। पहाडी-पहाडी जनजातिमध्ये तुलनात्मक रुपमा बढी महिला एकल ९.३ प्रतिशत र विधवा महिला(६.९प्रतिशत) छन्। पहाडी दलितमध्ये ८.६ प्रतिशत एकल र ७.२ प्रतिशत विधवा महिला छन्। कुल विधवा महिलामध्ये एकतिहाइभन्दा बढी(३५.१प्रतिशत) पहाडी जाति समूहका थिए। हिमाली-पहाडी जनजाति लगभग समान अनुपातमा(२८.१प्रतिशत) र मधेस-तराई जाति १२ प्रतिशत थिए। 

को–को पर्छन् एकलमा ? 

एकल महिलामा ४ प्रकारले विभाजन गरेर तथ्यांक संकलन गरिएको निर्देशक लामिछानेले जानकारी दिए। विधवा, सम्बन्धविच्छेद, भिन्न बसेको र ३५ वर्ष वा सोभन्दा माथिका अविवाहित महिलालाई एकल महिलामा राखिएको छ। एकल महिला रहेका १४ प्रतिशत घरपरिवारमध्ये १२ प्रतिशतमा विधवा छन्। २ प्रतिशतमा अन्य एकल महिला (सम्बन्धविच्छेद, भिन्न बसेको र ३५ वर्ष वा सोभन्दा माथिका अविवाहित महिला) छन्।

सार्क देशमा विधवा महिलाको अवस्था 

सार्क मुलुकमध्ये सबैभन्दा धेरै २१.३ प्रतिशत विधवा महिला अफगानिस्तान छन्। त्यसपछि भारतमा ९.१, श्रीलंका ६.६, बंगलादेशमा ६.५, पाकिस्तान ५.७, भुटान ५.२, नेपालमा ४.६ प्रतिशत र मालदिप्समा १.७ प्रतिशत विधवा छन्। नीतिगत सुधार विषयक सुझाव प्रतिवेदनले नीतिगत सुधारको विषयमा सुझाव पनि दिएको छ। हाल विधवा भएको ६० प्रतिशत घरपरिवारमध्ये ५५.६ प्रतिशतले दाउरालाई खाना पकाउने मुख्य इन्धनको रूपमा प्रयोग गरेका छन् भने २.८ प्रतिशतले गोबर प्रयोग गरेका छन्। सबै घर परिवार र विशेष गरी एकल महिला र विधवा महिला भएका घर परिवारका लागि विद्युत् सेवामा पहँुच विस्तार गर्न प्रतिवेदनले सुझाव दिएको छ। बालविवाह अन्त्यका लागि पैरवी र सचेतना कार्यक्रम सञ्चालन गर्न पनि सुझाइएको निर्देशक लामिछानेले बताए। 

विधवा महिलाको लागि साक्षरता कार्यक्रम, नीतिगत एकीकरणमार्फत एकल महिला-विधवा महिलाका लागि विशेष सामाजिक सुरक्षा योजना, सीप विकास, बजार सञ्जाल, अनलाइन व्यापार, स्रोत र कच्चा पदार्थ, कानुनी सहायता, सामाजिक सहयोग सञ्जाल, जनचेतना अभियान सञ्चालनका लागि पनि प्रतिवेदनमार्फत सुझाव दिइएको छ। 

विधुर कति ? 

पहिलोपटक एकल महिला तथ्यांक आएकोमा खुसी लागेको छ । हाम्रै पहलमा यो तथ्यांक संकलन गर्न सफल भयो । यसले एकल महिलाको नीति निर्माणमा सहयोग गर्ने छ। अझै पनि पितृसत्तात्मक सोचका कारण एकल महिला माथि विभेद कायम छ । कविता पाण्डे, अध्यक्ष, मानव अधिकारका लागि महिला एकल महिला समूह

जनगणना एकल महिलामा केन्द्रित भए पनि एकल पुरुषको पनि तथ्यांक संकलन गरिएको छ। प्रतिवेदनअनुसार नेपालमा एकल महिलाको भन्दा पुरुषको संख्या कम छ। ४,०५,८२५ जना एकल पुरुष छन्। अर्थात् ३.५ प्रतिशत एकल पुरुष छन्। जसमा २,५५,००८ विधुर छन्। यो २.२ प्रतिशत हो। सम्बन्धविच्छेद गरेका पुरुषको संख्या १५,८५२(०.१ प्रतिशत) छ। त्यस्तै छुटिएर बसेका पुरुषको संख्या ३५ हजार ७५७(०.३प्रतिशत) छ। ३५ वर्ष माथिका अविवाहित पुरुष ९९ हजार २१० (०.९ प्रतिशत) छन्। 

यसो भन्छन् सरोकारवाला

मानव अधिकारका लागि महिला एकल महिला समूह (डब्लूएचआर) का अध्यक्ष कविता पाण्डेले पहिलो पटक एकल महिला तथ्यांक आएकोमा खुसी व्यक्त गरेकी छन्। तथ्यांकले एकल महिलाको विविध पक्षलाई सम्बोधन गरेको बताउँदै उनले नीति निर्माणमा पनि यसले सहयोग गर्ने बताएकी छन्। उनले पितृसत्तात्मक सोचका कारण अहिले पनि एकल महिला माथि विभेद कायम रहेको बताइन्। 

राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी मधुसूदन बुर्लाकोटीले आफूले पनि एकल परिवारमा हुर्किएकोले त्यसको पीडाको बारेका ज्ञान रहेको बताए। एकल महिला प्रतिसोचमा परिवर्तन ल्याउनका लागि पनि यो तथ्यांक सहायक सिद्ध हुने बताए। ‘यो तथ्यांकले एकल महिलाको समग्र अवस्था उजागर गरेको छ,’ उनले भने, ‘उनीहरू केन्द्रित नीति निर्माण र कार्यान्वयनमा पनि यसले सहयोग गर्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.