चीन भ्रमणका उपलब्धि

चीन भ्रमणका उपलब्धि
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेकी चीनको भ्रमणमा छन्। भ्रमणको प्रमुख मुद्दा बनेको बेल्ट एन्ड रोड इनिसियिटभ (बीआरआई) कार्यान्वयनको विषयमा दुईपक्षीय सम्झौता भएको छ। बीआरआई कार्यान्वयनका सन्दर्भमा मुलुकमा अनेक अड्कलबाजीमात्रै होइन, यसलाई राजनीतिक लाभ र हानिका रूपमा अथ्र्याउने गरिन्छ। विशेषगरी दक्षिणी छिमेकी भारत र अमेरिकाको चासो बीआरआईको विषयमा छ। 

चीन पुगेका प्रधानमन्त्रीले सत्ता साझेदार दल कांग्रेसकै सहमतिमा बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गरेका छन्। यो भ्रमणले बीआरआई कार्यान्वयनमा जाने ढोका उघारेको छ। अब यसमा समेटिएका परियोजनाहरू कसरी अघि बढ्छन् भन्ने चासो छ। सम्झौता एउटा खुड्किलो हो, कार्यान्वयनपछि मात्रै यसको लाभ मुलुकले लिन सक्नेछ।

छिमेकीसँगको सम्बन्ध लेनदेनमात्रै त होइन, तथापि विकसित छिमेकीले विकासोन्मुख छिमेकलाई सँगै लैजानुपर्छ भन्ने उपादेयता हुनु सुन्दर मानिन्छ। बीआरआईअन्तर्गतका परियोजनामाथिको सम्झौताले चीन र नेपालसँगको सम्बन्धलाई प्रगाढ पक्कै बनाउनेछ। यो सम्झौता दैत्य सम्बन्धको ७५औं वार्षिकोत्सव सन् २०२५ को पूर्वाद्धमा भएको छ। चीनले नेपालसँगको ७५औं सम्बन्धको वर्षगाँठलाई भव्य मनाउने तयारी गरिरहेको छ।

बीआरआई फ्रेमवर्कमा दुई मुलुकबीच हस्ताक्षर भएसँगै सोअन्तर्गत विभिन्न परियोजनाहरू कार्यान्वयनमा जानेछन्। अहिले १० योजना चयन भएका छन्। टोखा–छहरे टनेल, हिल्सा–सिमिकोट सडक योजना, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौं रेलमार्ग, अमरगढी सिटी हल प्रोजेक्ट, जिलुङ–रसुवागढी–चिलिमे २२० केभी प्रसारण लाइन, मदन भण्डारी प्राविधिक विश्वविद्यालय, काठमाडौं साइन्टिफिक सेन्टर र साइन्स म्युजियम, चीन–नेपाल औद्योगिक पार्क दमक र झापा स्पोर्ट्स एन्ड्स एथ्लेटिक्स कम्पलेक्स रहेका छन्। 

सहायता शब्द राखेर फ्रेमवर्कलाई दुवै मुलुकले हस्ताक्षर गरेका छन्। नेपालले अनुदानमा परियोजना निर्माणको प्रस्ताव गरेको थियो। दुईपक्षीय व्यापक छलफलपछि मात्रै यी परियोजनामा सम्झौता भएको छ। बीआरआई परियोजनाअन्तर्गत ऋणसमेत लिन सकिने गरी फ्रेम वर्कमा दुई पक्षले हस्ताक्षर गरेका हुन्। हस्ताक्षरसँगै नेपालले कुनै पनि चिनियाँ परियोजनामा ऋण÷सहायता दुवै लिन बाटो खुलेको छ। परियोजनाअन्तर्गत उत्तरतर्फ विद्युत प्रसारणलाइन र सडक तथा रेलमार्गको सम्भावना खुलेको छ। सम्झौता भएपछि सरकारले यसको कार्यान्वयनमा जोड दिनुपर्छ। समयमै परियोजना कार्यान्वयन भएमात्रै देशले बीआरआईबाट लाभ लिन सक्नेछ। प्रधानमन्त्रीको चीन भ्रमणको उपलब्धि पनि परियोजनाको कार्यान्वयनपछि मात्रै देखिनेछ।

मुलुकको विकासका लागि सबै छिमेकीसँग उत्तिकै सौहार्द्रपूर्ण सहकार्यको नीति सरकारले लिनुपर्छ। विदेश नीतिका विषयमा सम्पूर्ण दलको एउटै मत रहेमा छिमेकीसँगबाट मुलुकले लाभ लिन सक्नेछ। विश्वका शक्ति राष्ट्रका रूपमा उदाइरहेका दुई छिमेकीसँगको सुमधुर सम्बन्धबाटै मुलुकको समृद्धि सम्भव छ भन्ने विषयमा सरकार सचेत हुनुपर्छ। बीआरआई फ्रेमवर्क कार्यान्वयनसहित झन्डै ९ अर्ब अनुदान र केही व्यापारिक सहजीकरणका सम्झौता हुनुले प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक रहेको ठान्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.