औषधि खरिदमा भ्रष्टाचार : तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध मुद्दा
काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध भ्रष्टाचारविरुद्ध मुद्दा दायर गरेको छ। सिरहा धनगढीमाइ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपाल बगालसमेत पाँचजनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको हो।
नगरपालिकाले मिलेमतोमा बिक्रेतासँग औषधि खरिद नगरी बिल बनाएर दाखिला नगरी रकम निकासा गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा प्रशासकीय अधिकृत बगाल,लेखा अधिकृत पुरुषोत्तम कुमार प्रसाद,तत्कालीन स्वास्थ्य शाखा प्रमुख सुरैत चौधरी,तत्कालीन जिन्सी शाखा प्रमुख सम्पैत याद र हेल्पिङ मल्टिप्रपोज प्रालि मैतिदेवी तथा उक्त फर्मका प्रबन्ध निर्देशक माधव प्रसाद गौतमले ४ लाख ६० हजार ८ १० रुपैयाँ हानिनोक्सानी गरेको पुष्टि हुन आएकाले आज विशेष अदालतमा मुद्दा दायर भएको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए।
अख्तियारका अनुसार उनीहरूको मिलेमतोमा धनगढीमाइ नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ मा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाका औषधि खरिदको लागि नेपाल सरकारको स:शर्त अनुदान शीर्षकबाट विनियोजन रकममध्ये १७ प्रकारका औषधिहरू तोकिएको मूल्यभन्दा बढी मूल्य राखी खरिद गरेको अनुसन्धानबाट खुलेको छ।
उनीहरूले सार्वजनिक संस्थालाई हानीनोक्सानी पुर्याउने बदनीयत राखी अंकित मूल्य भन्दा बढी मूल्यमा औषधि खरिद गरेको अख्तियारको ठहर छ।
प्रत्येक व्यक्तिलाई सोही रकम बराबरको बिगो माग दावी र सजायको माग गरिएको अख्तियारले जनाएको छ।