‘पनौतीलाई नेवारीमा पलाँती भनिन्छ, जसको अर्थ पाइला राख हो’
काभ्रे जिल्लाको पनौती सहर धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्पदाले परिपूर्ण छ। एउटै चट्टानमाथि रहेको कारण यहाँ भूकम्पजस्ता दैवी विपत्तिाको प्रभाव पनि पर्दैन। तर, यसको प्रचारप्रसार र विकासमा राज्यको ध्यान पुगेको छैन। त्यसैको पहलका लागि पनौती पर्यटन विकास केन्द्र सञ्चालनमा छ। प्रस्तुत छ केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यसँग गरिएको कुराकानीको सम्पादित अंश–
पनौतीलाई आध्यात्मिक शक्तिको थलो मानिन्छ, खास किन हो ?
विगतमा गएका विध्वंशकारी भूकम्पले यहाँका ऐतिहासिक सम्पदामा प्रयोग गरिएका एउटा इँटा, ढुंगा आदि हल्लाउनै सकेनन्। ३३ कोटी देवताले सजिएको, अष्टमात्रिका शक्तिपीठले घेरिएको ठाउँमा पनौती अवस्थित छ। जहाँबाट पुण्यमति र रोशी नदीको पवित्र जल अविरल बगिरहेको छ। यहाँको त्रिवेणी घाटस्थित शक्तिपीठमा विवाह, व्रतबन्धलगायत पवित्र देवकार्यहरू गरिन्छन्। यहाँ रहेकी संकटामाईको दर्शन गर्न प्रत्येक शनिबार भक्तजनको भीड लाग्छ। पनौतीका प्रत्येक दिन ‘हेरिटेज डे’ हुन्।
यो जात्रैजात्राको सहर पनि हो, होइन र ?
पनौतीलाई हामी पर्यटकीय नगरी अनि जात्रै जात्राको सहर भनेर चिन्छौं। यो एउटा खुला संग्रहालय पनि हो। जहाँको कलात्मक गेटबाट छिरेपछि जताततै सम्पदा भेटिन्छन्। पनौतीमा रहेका इँटा, शिला, झ्यालढोकाका खापा आदि सबैमा जीवन्त इतिहास संग्रहित छन्। पनौती वडा नं. ७ मा मात्रै एक वर्षमा प्रत्यक्ष रूपमा ८० वटा जात्रा हुन्छन्। अप्रत्यक्ष अनि छेउछाउका वडामा समेत त कति हुन्छन् कति।
यसलाई किन करुणाको सहर भनिएको हो ?
हो, पनौती करुणाको सहर हो। कुनै कालखण्डमा नमोबुद्ध नाम गरेका राजकुमार थिए। उनी जंगलमा विहार गरिरहेका हुन्थे। एक दिन एउटा बघिनी राजकुमारले भेटे। त्यो बघिनी सिकार गर्न नसक्ने अवस्थाकी थिई।
भोकले मृत्युको मुखमा पुग्न आँटेकी बघिनीलाई राजकुमारले आफ्नै रगत अनि मासु काटेर खुवाएर बचाए भन्ने लोककथा प्रचलित छ। हो तिनै करुणामय राजकुमारलाई जन्माउने ठाउँ हो पनौती–७।
पनौतीको प्रख्यात कुम्भमेलाको ऐतिहासिकता के हो ?
उत्तरप्रयाग। पनौती भनेर हामीले गर्व गर्ने अर्को कुरा हो उत्तरप्रयाग। १२ वर्षमा कुम्भ मेला लाग्ने दक्षिणप्रयाग भारतमा पर्छ भने अर्को १२ वर्षमा मकर मेला लाग्ने उत्तरप्रयाग पनौतीमा पर्छ। जुन ठाउँमा पुगे मात्रै श्रापमुक्त भइन्छ। शरीरमा लागेका, लाग्ने, दृश्य तथा अदृश्य रोगबाटसमेत मुक्त भइन्छ भन्ने जनविश्वास छ। पनौतीमा आएपछि इन्द्र भगवान् समेत श्रापमुक्त भएका थिए भन्ने किंवदन्ती छ।
इन्द्रले गौतम ऋषिकी पत्नी अहिल्यालाई कुदृष्टि लगाएपछि श्रापित भएका थिए। अहिल्याको सतित्व डगाउन इन्द्र गौतम ऋषिको भेष बनाएर जान्छन्। अहिल्याले इन्द्रलाई आफ्नै पति भन्ने ठान्छिन्। त्यसपछि उनको सतित्व डगाउन इन्द्र सफल हुन्छन्। जब गौतम ऋषिलाई त्यो कुरा थाहा हुन्छ अनि उनले पत्नी अहिल्या र इन्द्र दुवैलाई श्राप दिन्छन्।
त्यसको पनौतीसँग के सम्बन्ध छ ?
गौतम ऋषिले पत्नी अहिल्यालाई तिमी आफ्नो पति पनि नचिन्ने, ढुंगा जस्तो रहेछौं भन्दै ‘शिला भइजाऊ’ भनी श्राप दिन्छन्। पनौतीको त्रिवेणीस्थित इन्द्रेश्वर महादेव छेउमा रहेको शिला त्यही अर्थात् अहिल्याको रूपमा हो। तपाईंहरूले अहिले पनि त्यो शिला देख्न सक्नुहुन्छ।
इन्द्रलाई चाहिँ श्राप दिएनन् ?
उनी इन्द्रसँग झन् क्रुद्ध भए। उनले स्वर्गका त्यत्रा अप्सरा र आफ्नी श्रीमती छाडेर आई अर्काकी श्रीमतीमाथि छक्याएर भोगविलास गर्ने, तिम्रो शरीरभरि योनी नै योनी होस् भनी श्राप दिए।
अनि के भयो ?
अब इन्द्रलाई पर्यो फसाद। उनी आत्तिँदै आफ्ना गुरु वृहस्पतिकहाँ पुगे। सबै इतिवृत्तान्त बताइसकेपछि गुरुले श्रापमुक्त हुने उपाय बताइदिए। उनले एउटा सुकेको बाँस दिए। अनि भने, ‘तिमी यो बाँस लिएर तपस्या गर्न जाऊ। जहाँ यो सुकेको बाँस पलाउँछ त्यहीँ तिमी श्रापमुक्त हुन्छौ।’
त्यसपछि इन्द्र त्यो सुकेको बाँस बोकेर तपस्या गर्न हिँडे। तपस्या गर्दै हिँड्दा कहीँ पनि त्यो बाँस पलाएन। तपस्याकै सिलसिलामा उनी पनौती आइपुगेछन्। अहिले त्रिवेणीमा रहेको मुक्तेश्वर महादेवको मन्दिर रहेको ठाउँमा बाँस छेउमा गाडेर तपस्यामा बसेछन्। उनी कति समय तपस्यामा बसे पत्तै भएनछ। तपस्याबाट उठेपछि बाँस पलाएको देखेछन्। अनि खुसी हुँदै मेरो श्रापमुक्त हुने ठाउँ यहीँ रहेछ भनेर पुनः घोर तपस्यामा लिन भएछन्।
इन्द्रकी पत्नीको अवस्था चाहिँ के भयो ?
त्यहीँ इन्द्र पत्नीले इन्द्रायणीले पार्वतीको तपस्या गर्न थालिन्। हजारौं वर्ष तपस्या गरेपछि पार्वती रुद्रावतीको रुपमा प्रकट भएर गंगाको रूपमा बग्न थालिन्। त्यसपछि पनौतीमा त्रिवेणी भयो। त्रिवेणी भएपछि अमृत वर्षा भयो। अमृतले त्यहाँ अवस्थित सबैको पाप पखालिएर गयो। इन्द्र पनि श्रापमुक्त भए। अनि हिँड्ने बेलामा त्यहाँ आफ्नो नाम जोडेर इन्द्रेश्वर महादेव स्थापना गरे भन्ने कथन छ। त्यसै समयदेखि यहाँ मकर मेला सुरु भएको भन्ने किंवदन्ती छ।
अमृतवर्षाबारे विस्तृतमा बताइदिनुहोस् न ?
एक महिनाभित्रमा एक दिन पनौतीमा अमृत वर्षा हुन्छ भन्ने कथन छ। त्यो अमृत आफ्नो शरीरमा परोस् भन्ने विश्वासले यहाँको मकर मेलामा एक महिना नुहाइन्छ। यहाँ एक पाइला राख्दा पनि सम्पूर्ण पाप पखालिने जनविश्वास छ। पनौतीलाई नेवारीमा पनि ‘पलाँती’ भनिन्छ। जसको अर्थ पाइला राख हो। अहिलेको पनौतीको नाम समयअनुसार अनेक रहेको पाइन्छ। हामीले कुन समयमा के नाम थियो भन्ने पनि दस्तावेज तयार गर्दै छौं।
यहाँको नदी खास कहाँबाट आएको हो ?
यहाँको नदीको विषयमा अर्को कथन छ। पनौतीमा खेती गर्नुपर्ने। पानी थिएन। अनि यहाँका राजाले फुलचोकी माईसँग पानी माग्ने निर्णय गरे। पानी माग्न गए। त्यसै बेलामा पाटनका राजा पनि पानी माग्न टुप्लुक्क आइपुगे। फुलचोकी डाँडा पनौती र पाटनको सिमानामा पर्ने। फुलचोकीलाई फसाद पर्यो। अब कसलाई पानी दिने ? उनले दुवै राजालाई भनिन्, ‘जसले मलाई भोलि एउटा–एउटा सुन र चाँदीको माला ल्याइदिन्छ, उसैलाई म पानी दिन्छु।’
हुन्छ भन्दै दुबै राजा हिँडे। पाटनका राजालाई त कुनै चिन्ता थिएन। उनका त धेरै कालिगड थिए। सुनचाँदी प्रशस्तै थियो। पनौतीका राजालाई फसाद पर्यो। कसरी सुनचाँदीको व्यवस्था गर्ने भनेर। त्यो राति उनी राम्रोसँग सुत्न पनि सकेनन्। बिहानीपख मात्रै भुसुक्कै निदाएछन्। ब्युँझिँदा घाम झुल्किसकेछ। फुलचोकी माइसँग गरेको वाचा सम्झिए। हतारहतार बाहिर निस्किए। बारीभरि तोरी फुलेको देखे। झुल्के घामले टल्किएको पहेँलो तोरीको फूलको माला बनाउने निधो गरे। जुन सुनजस्तै देखिन्थ्यो। अनि छेवैमा मुला पनि फुलिरहेको देखे। त्यो पनि चाँदीजस्तै टल्किरहेको थियो। त्यसैको माला बनाए। अनि लागे फुलचोकीतर्फ।
रोचक कथा रहेछ...
फुलचोकी माईकहाँ पुग्दा पाटनका राजा पनि सँगै भएछन्। एकैपल्ट माईकहाँ भित्र पसे। दुवैले आ–आफ्ना माला टक्र्याए। पाटनका राजाले त साँच्चिकै सुन–चाँदीकै ल्याएका थिए। तर, पनौतीका राजाको माला देखेपछि फुलचोकीले भनिन्, ‘पाटनमा भन्दा धेरै किसान त पनौतीमा रहेछन्। त्यसैले धेरै पानी पनौतीमा चाहिने रहेछ। पाटनमा पनि पुग्ने पानी म पठाइदिन्छु।’ त्यसपछि पनौतीमा १२ वर्षमा र गोदावरीमा ६ वर्षमा मेला लाग्ने गरेको छ।
पनौतीमा कुनै दैवी विपत्ति नहुने किंवदन्ती खासमा के हो ?
अष्टमात्रिकाले सजिएको पनौतीमा कुनै पनि दैवीय विपत्ति आउँदैन। बाढी पहिरोको त्रास पनि रहँदैन। किनभने यो पवित्र स्थान एउटै शिलामा अवस्थित छ। यो क्षेत्रमा अलौकिक कलाको नमुना देख्न सकिन्छ। सम्पदाले घेरिएको यो पवित्र स्थानमा त्यसै अनुरूपको सभ्यता पनि छ। जुन ठाउँमा पवित्र कला संस्कृति अनि सम्पदा जीवित हुन्छ, त्यहाँ सोही अनुरूपको सभ्यता पनि रहन्छ।
वर्तमानमा पनौती कसरी गुज्रिइरहेको छ ?
पनौती धार्मिक, पर्यटकीय एवं सांस्कृतिक सम्पदाले सम्पन्न सहर हो। तर, यो मानवीय अतिक्रमणमा पर्दै गएको छ। भौतिक सम्पन्नताको पर्खाइमा पनि छ यो। पनौतीमा पर्यटकीय बसपार्क चाहिएको छ। जसले पर्यटकलाई यातायातमा सहज बनाउँथ्यो। पनौतीको पुरातात्विक गेट भित्रलाई खुला संग्रहालय बनाउन पनौती पर्यटन विकास केन्द्र लागिपरेको छ।
हामीले सम्पदामैत्री घर निर्माण गर्नेलाई केही अनुदान पनि दिने गरेका छौं। पनौती पर्यटन विकास केन्द्रको पनि आफ्नै दुःख छ। आफ्नो भवन छैन, भाडामा बसेका छौं। जग्गा मात्रै उपलब्ध भए, घर बनाउँथ्यौं।
तपाईंहरूले पक्कै पहल गरिरहनुभएको होला ?
पनौतीको प्रचारप्रसारका लागि जनमानसमा विभिन्न तालिमहरू पनि गराइरहेका छौं। लुप्त हुन लागेका सीपहरूलाई पुनः सिकाएर पनौतीको इतिहास अडिग बनाउन लागिपरेका छौं। यस्ता सीपले पनौतीको सम्पदा तथा संस्कृति पनि जोगिने अनि स्थानीयको आम्दानीमा पनि वृद्धि हुन्छ। यसका लागि अहिले भइरहेका सरकारी तथा विभिन्न संघसंस्थाद्वारा गरिएको सहयोगले मात्रै पुग्दैन। विशेष परियोजना नै ल्याउनु पर्छ। धेरैको सहयोग त पाइरहेकै छौं। यतिले मात्रै पुगेन।
सरकारले नै केही गर्नुपर्छ भन्ने हाम्रो माग छ।
यसलाई विश्व सम्पदा सूचीमा राख्ने पहल चाहिँ कहाँ पुग्यो ?
यस्तो इतिहास बोकेको पनौतीलाई विश्व सम्पदा सूचिमा सूचीकरण गर्न पहल गर्नुपर्छ भनेर पनौती नगरपालिकासँगै हामी पनि सबै लागिरहेका छौं। पनौतीलाई विश्वसामु चिनाउने कार्यमा अग्रसर हुन अनि पनौती के हो ? भन्ने कुरा जनमानसमा ल्याउनु पर्छ भन्ने कुरामा हामी हरेक तह–तप्काबाट पहल गरिरहेका छौं।