जनकपुरले लुम्बिनीलाई दियो १३७ रनको लक्ष्य
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा आठौं दिनको पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई जितको लागि १३७ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३६ रन बनाएको हो
जनकपुरका लागि कप्तान अनिल शाहले सर्वाधिक ४५ रन बनाए। उनले ३९ बलमा १ चौका र ४ छक्का प्रहार गरे। जनकपुरले पावरप्लेमा १ विकेटको क्षतिमा ५५ रन जोडेको थियो।
पहिलो विकेटका रुपमा जनकपुरले मार्की खेलाडी आसिफ शेखले १६ रन बनाएर साद बिन जफरको बलमा विवेक यादवको हातमा क्याच आउट भए।
१० ओभरमा जनकपुर १ विकेटको क्षतिमा ८७ रन बनाएको थियो। ११.३ ओभरमा अनिल शाह सन्दीप जोराको बलमा विवेक यादवको हातबाट क्याच भए। त्यसपछि दोस्रो विकेटको लागि अनिलले लाहिरुसँग ३२ रनको साझेदारी गरे।
आभिषेश गौतमले १३ औं ओभरमा २ महत्वपूर्ण विकेट लिए। जसमा हर्ष थाकर र जेम्स निशमको विकेट गयो। लाहिरुले २३ बलमा २ चौका सहति २४ रन बनाए।
१२.३ ओभरमा जनकपुरले ३ विकेटको क्षतिमा १०० रन पूरा गर्यो। १५.२ ओभरमा कप्तान रोहितले मोहम्मद मोसिनलाई एलबीडब्ल्यु आउट गराए।
१६ ओभरमा जनकपुर ७ विकेटको क्षतिमा १११ रन बनायो।
मिडल ओभरमा भने लुम्बिनीले निकै टाइट बलिङ गर्यो। जसमा ११ ओभरदेखि १८ ओभरसम्म जम्मा ३७ रन दियो। जसमा १८ ओभरको समाप्तिमा जनकपुरले ७ विकेटको क्षतिमा १२४ रन बनाएको थियो।
अन्तिम ओभरको पाँचौं बलमा हेमन्त धामी साद विन जफरको बलमा बोल्ड आउट भए। इनिङ्सको अन्तिम बलमा ललित राजवंशी शुन्यमा रन आउट भए। शुम कंसाकर २२ रनमा अविजित रहे।
लुम्बिनीका लागि बाँया हाते अर्थोडक्स डेब्युटेन्ट अभिशेष गौतमले सर्वाधिक ३ विकेट लिए। कप्तान रोहित पौडेल र साद विन जफरले समान २/२ विकेट लिए। सन्दीप जोराले १ विकेट लिए।
जनकपुर र लुम्बिनी दुवैको यो चौथो खेल हो। जनकपुर अविजित छ भने लुम्बिनी हालसम्म कुनै खेल जित्न सकेको छैन। जनकपुरले पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेट, दोस्रो खेलमा कर्णाली याक्सविरुद्ध पनि ८ विकेट र पोखरा एभेन्जर्सलाई ७ विकेटको जित निकालेको थियो।
लुम्बिनीले पहिलो खेलमा विराटनगर किंग्ससँग २ विकेट, पोखरा एभेन्जर्ससँग १० विकेट र सुदुरपश्चिमसँग ४५ रनले पराजित भएको हो।