इसाखिलको अर्धशतकीय पारीमा चितवनले सुदूरपश्चिमलाई दियो १६५ रनको लक्ष्य
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को आठौं दिनको दोस्रो खेलमा चितवनले सुदूरपश्चिम रोयल्सलाई १६५ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रन बनाएको हो।
चितवनका लागि हसन इसाखिलले सर्वाधिक ६५ रन बनाए। उनलाई १५.१ ओभरमा स्कट कुग्गेलिनले नरेश बुढा ऐरको हातबाट ६५ रनमा क्याच आउट गराए। उनले ५२ बलमा ६ चौका र ३ छक्का प्रहार गरे।
चितवनले पावरप्लेमा १ विकेट गुमाउँदै ३५ रन बनाएको थियो। पहिलो विकेटका रुपमा चितवनले ओपनर सन्तोष कार्कीलाई ३.१ ओभरमा ९ रन बनाउँदै पेभेलियन फर्किए।
१४.२ ओभरमा चितवनले २ विकेट गुमाउँदै १०० रन पूरा गरेको थियो। तेस्रो विकेटका रुपमा चितवनले हसन इसाखिललाई गुमायो। चौथो विकेट कप्तान कुशल मल्लको गयो। उनी १७.२ ओभरमा १३ रन बनाउँदै कुग्गेलिनबाट बोल्ड आउट भयो।
पाँचौं विकेट रवि बोपारालाई अन्तिम ओभरको तेस्रो बलमा ३६ रनमा क्याच आउट गराए। उनले १८ बलमा २ चौका र २ छक्का प्रहार गरे।
निकोल लोफ्टी इटोन २ र अमर सिंह रौतेला ६ रनमा अविजित रहे।
सुदूरका लागि स्कट कुग्गेलिनले सर्वाधिक २ विकेट लिए। ब्रान्डन म्याकमुलेन, दिपेन्द्र सिंह ऐरी र सैफ जैबले समान १/१ विकेट लिए।
आइतबार भएको पहिलो खेलमा जनकपुरले लुम्बिनी लायन्सलाई १ रनको जित निकालेको हो। दुवै टिमको यो चौथो खेल हो। चितवनले २ जित र १ हारसहित ४ अंक बटुलेको छ। सुदुर भने ३ खेलमा ३ जितसहित ६ अंक बटुलेको छ।
चितवनले पहिलो खेलमा काठमाडौं गुर्खाजलाई ५ विकेट, पोखरा एभेन्जर्सविरुद्ध ८७ रनले जित निकालेको थियो। कर्णाली याक्ससँग भने चितवनले ६ विकेटको हार बेहोरेको थियो। सुदूरले भने पहिलो खेलमा विराटनगरलाई ९० रन, काठमाडौंलाई ७३ रन र लुम्बिनीलाई ४५ रनले हराएको हो।