एभरेस्ट बेसक्याम्प अवलोकन गरेर स्वदेश फर्किए धवन
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका भारतीय चर्चित क्रिकेटर शिखर धवनले एभरेष्ट बेसक्याम्पको अवलोकन गरेका छन्। उनीसहित कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरे सहितको टोलीले आइतबार एभरेष्ट बेसक्याम्पको अवलोकन गरेका हुन्।
उनीहरूले ३–४ घन्टा एभरेष्ट बेसक्याम्पमा बिताएका थिए। बेसक्याम्पको अवलोकनपछि शिखर आइतबार साँझ एयर इन्डियाको जहाजमार्फत स्वदेश फर्किएका छन्। यसअघि उनले एनपीएलका क्रममा पशुपतिनाथ दर्शन गरेका थिए। शिखरले आउँदो मार्चमा नेपाल भ्रमणमा आउने चाहना व्यक्त गरेका छन्।
कर्णालीबाट ४ खेल खेलेका शिखरले एक अर्धशतकसहित १३६ रन बनाए। भारत फर्किएका उनले नेपालमा एनपीएल खेल्दा राम्रो अनुभव भएको बताए। ‘राम्रो अनुभव भयो। नेपालका खेलाडीलाई केही सिकाउने र मैले पनि केही मौका पाँए,’ उनले भने।