विकाससँग नजोडिएका सडक
नेपालमा विकास भनेकै सडक निर्माण भन्नेजस्तो छ । भौगोलिक रूपमा कठिन मुलुकमा त्यसो हुनु स्वाभाविक पनि हो । र, सँगसँगै देशका दुर्गमदेखि सुगम भनिएका जिल्लाका गाउँहरूसम्मै सडक पुगेको छैन । राजधानीमै सडक गतिला छैनन् । हो पनि विकासको पहिलो आधार सडक नै । पैदल हिँडेर समय खेर फालेर मानिसले जीवनको महत्वपूर्ण समय खेर फाल्ने जमाना पनि होइन यो । तसर्थ सडक अत्यावश्यक छ । पछिल्लो समय जसरी तीनै तहका सरकारले गाउँगाउँमा सडक पु¥याउने जुन होड गरेका छन्, के तिनको आवश्यकता हो र भन्ने जस्तो पनि भएको छ । किनभने गाउँमा सडक पुगेको छ र गाउँलेले भने गाउँ छोडेका छन् । सडक पुगे पनि गाउँमा मानिस बस्न रुचाएका छैनन् ।
देशभर अहिले ८० हजार ३ सय ९७ किलोमिटर सडक छ । कर्णाली प्रदेशमा ९ हजार ६ सय ८६ दशमलव ६२ किलोमिटर सडक बनेको छ । ती सडकले धेरै नै सजिलो बनाएकोमा दुविधा छैन । कर्णालीमा भने सडकको दुरवस्थाले दुर्घटना पनि निम्त्याएको छ । कतिले त्यही सडक भएर ज्यान जोगाउन उपचारका लागि अस्पताल पुग्ने माध्यम पनि पाएका छन् । कति भने दुर्घटनामा परेर अकालमा ज्यान गुमाउँदै छन् । नाममात्रैको सडक हुँदाको दुरवस्था हो त्यो । अब कर्णालीको सडक स्तरोन्नति गरिनुपर्ने छ । त्यसो त देशका धेरै ठाउँमा नाममात्रका सडक छन् र स्तरोन्नति पर्खिरहेका छन् ।
सडक जोडिएपछि गाउँका उत्पादन सहर पठाउन सक्नुपर्छ न कि सहरबाट बेसाहा लैजाने । तर भइरहेको चाहिँ उल्टो छ । खास तथ्यांक नभए पनि धेरैतिरका गाउँको कथा समान छ— गाउँमा सडक पुग्छ र त्यही सडक भएर गाउँले सहर पस्छन् । सडक सञ्जाल जोडिएपछि जसरी समृद्धि पनि गाउँ ठाउँमा पुग्नुपर्ने हो । त्यो परिवर्तन सडकले धेरैतिर दिन सकेको छैन । बरु सडक पुगेकै ठाउँबाट गाउँले बसाइँ सरिरहेका छन् । यसले के देखाउँछ भने गाउँमा सडक पुगेरमात्रै हुँदोरहनछ, सँगसँगै शिक्षा र स्वास्थ्यका आधारभूत पूर्वाधार पनि चाहिने रहेछ । अनि स्थानीयलाई रोजगारी पनि अत्यावश्यक छ । अब सडक निर्माणसँग विकासका अरू परिपुरक तत्व पनि सँगै लैजाने काइदा सरकारले गरेन भने गाउँहरू रित्ता नै हुनेछन् । र, सडकमा हिँड्ने÷गुड्ने कोही हुने छैन ।