भ्रष्टाचारको दलदल
आज मुलुकमा चरम निराशा व्याप्त छ। निराशा छैन भन्नेहरू पनि छन्। सामाजिक सञ्जाललाई एउटा ऐना मान्ने हो भने त्यहाँ त निराशामात्रै होइन, अराजकता नै देखिन्छ। राज्यप्रति र राज्य प्रमुख तीन अंगसँग मात्रै होइन, चौथो अंग पत्रकारितासँग पनि आमनागरिकमा चरम आक्रोश वितृष्णा देखिन्छ। निराशा र आक्रोश अनि अराजकताको मूल जड के हो भन्नेमा धेरै मत छन्। धेरैजसो मत राजनीतिक अस्थिरतातिर सोझिन्छ। तर, सँगसँगै मुख्य एक कारण मुलुकमा व्याप्त भ्रष्टाचार हो र सुशासनको चरम अभाव हो।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस अर्थात् ११ डिसेम्बरको सन्दर्भमा यो प्रासंगिक हुन्छ कि मुलुकमा भ्रष्टाचार न्यूनीकरण गर्नु मुख्य चुनौती हो। भ्रष्टाचार न्यूनीकरण गर्दा नागरिकमा आशा जगाउनमात्रै सकिन्न, मुलुकलाई समृद्धिको दिशातर्फ अगाडि पनि बढाउन सकिन्छ। विकास र समृद्धिको एउटा प्रमुख बाधक पनि भ्रष्टाचार नै हो। भ्रष्टाचार अनुभूति सूचकांकमा नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरूको सूचीमा रहेको ट्रान्सपरेन्सी इन्टरनेसनलले राखेको छ। १०८औं स्थानमा छ नेपाल। भ्रष्टाचारलाई अर्थसँग मात्रै जोडेर हेरिनु साँघुरो हुन्छ। यसको आयाम व्यापक छ। यो अनुभूतिको कुरा पनि हो। सरकारले दिने सेवा प्रवाहमा हुने ढिलासुस्ती, फजुल खर्च, किफायतीपनमा कन्जुस्याइँ र न्यायमा हुने ढिलाइलगायत विषय भ्रष्टाचारको छाताभित्र पर्छन्।
भ्रष्टाचारको सन्दर्भमा ट्रान्सपरेन्सी इन्टरनेसनलको मात्रै नभई स्वदेशकै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रतिवेदनले भ्रष्टाचार चित्रित गर्छ। न्यायालयभित्रै पनि भ्रष्टाचार रहेको प्रतिवेदन न्यायालयकै छ। भ्रष्टाचारले नछोएको कुनै निकाय छैन। हरेक सरकार सुशासनको नारा लगाउँछन्। तर सुशासन घट्दो छ, बढ्दो छैन। भ्रष्टाचार पनि बढेको बढ्यै छ। भ्रष्टाचारको नाभी राजनीतिसँग पक्कै पनि जोडिन्छ। त्यसैले मुलुकमा व्याप्त निराशा र भ्रष्टाचार निवारण गर्न राजनीतिक नेतृत्वकै तदारुकता आवश्यक हुन्छ। राजनीति सङ्लो भएमात्रै मुलुकमा सुशासन कायम गर्न सहज हुन्छ र व्याप्त निराशा आशामा बदलिन्छ।