जोखिम लैंगिक हिंसाको

जोखिम लैंगिक हिंसाको

लिङ्गका आधारमा गरिने हिंसा नै लैगिक हिंसा हो। लिंगका आधारमा शारीरिक, भावनात्मक, सामाजिक, सांस्कृतिक, यौनिक र आर्थिक रूपमा प्रभावित पार्ने कार्यलाई लैंगिक हिंसा भनिन्छ। महिला, पुरुष वा अन्य लिंगी भएकै कारण हुने हिंसा हो, लैंगिक हिंसा। लैंगिक हिंसाको कुरा गर्दा महिला उपर बढी नै मात्रामा हिंसा हुने गरेकाले हामीले महिला हिंसा भनेर सम्झिने छौं। तर यसको अर्थ पुरुष वा अन्य लिंगी उपर हिंसा नै नहुने गरेको भने होइन। हिंसाका घटेका घटनाहरूले पुरुष उपर एकदमै कम हिंसा हुने गरेको देखाउँछ।

लैंगिक हिंसाअन्तर्गत महिला र बालिकामाथि हुने हिंसाका साथै पुरुष र बालकप्रति हुने हिंसा पनि पर्छन्। विश्‍वका अन्य देशमा जस्तै नेपालमा पनि महिला र किशोरीहरू लैंगिक हिंसाको पहिलो निसानामा पर्ने समूह हुन्। लैंगिक हिंसाको जडका रूपमा रहेका हाम्रा सामाजिक मूल्यमान्यता र लैंगिक असमानताहरूले महिला तथा किशोरीहरूमाथि हुने भेदभाव र हिंसालाई समाजले सहज रूपमा स्वीकार गर्ने गरेको पाइन्छ।

साधन, स्रोत, अवसर, जिम्मेवारी र अधिकारको असमान वितरण, बालविवाह तथा बहुविवाह, महिलालाई घरभित्र सीमित गर्ने र महिलाहरूले गरेको कामको मूल्यांकन नगर्नु महिला हिंसाका केही प्रमुख रूपहरू हुन्। महिला हिंसाबाट जुनसुकै जातजाति, समुदाय र वर्ग, ग्रामीणदेखि सहरी क्षेत्रसम्मका र तल्लो तहदेखि माथिल्लो तहसम्मका महिला पीडित हुन बाध्य छन्।

लैगिक हिंसा घरभित्र र सार्वजनिकस्थल गरी दुवै स्थानमा घट्ने गरेको पाइन्छ। प्रायःजसो लैगिक हिंसाका घटनाहरू घरमै हुने गरेका छन्। विद्यालयमा, विद्यालयबाट घर फर्कंदै गर्दा, गाईबस्तु चराउन जाँदा र कुनै घटना त अपहरण गरेर जंगलमा लगी बलात्कार गर्ने गरेको पनि पाइन्छ। महिलाले आफ्नो कार्यस्थलमा पनि हिंसा भोग्नु परेको हुन्छ। महिलाहरू आफन्त तथा घनिष्‍ट व्यक्तिहरू खासगरी आफ्नै श्रीमान्, सासू, ससुरा, परिवारका अन्य सदस्य र सहकर्मीबाटै हिंसाको खतरामा रहेका हुन्छन्।

आजको एक्‍काइसौं शताब्दीमा पनि परापूर्वकालदेखि चलिआएका रुढिवादी सोच, गलत परम्परा, विभेदलगायतका कारण महिलाउपर हुने हिंसाको क्रम रोकिएको छैन। यही कुरालाई मध्‍यनजर राख्दै महिला समानता कायम राख्‍न र सबैखाले लैगिक हिंसा अन्‍त्यका लागि विश्‍वव्यापी रूपमा लैंगिक हिंसाविरुद्धको अभियान सञ्‍चालन गर्ने गरिन्छ। नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्‍न कार्यक्रमकासाथ लैगिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्‍चालन गर्ने गरिन्छ।

समाजमा महिला हिंसा कायम रहन विभिन्‍न तत्त्वले भूमिका निर्वाह गरिरहेका छन्। परम्परागत धार्मिक तथा सांस्कृतिक मान्यताले महिलालाई असमान बनाएको छ। महिलाको जीवन र मर्यादामा उल्लेखनीय परिवर्तन आउनै सकेको छैन। समाजमा व्याप्‍त पितृसत्तात्मक सोच, अन्धविश्‍वास, पुरातन संस्कार एवं परम्परा, लैगिक असमानता, आर्थिक परनिर्भरता, अशिक्षा, गरिबी, नीति निर्माणको तहमा महिलाको प्रतिनिधित्व न्यूनमात्र हुनु महिला हिंसाका प्रमुख कारण हुन्।

अहिले पनि हाम्रो समाजमा पुरुष र महिलाबीच सामाजिक विभेद कायमै छ। महिलालाई अहिले पनि आफ्नै घरमा पुरुषभन्दा फरक व्यवहार गर्ने गरिन्छ। हाम्रो समाजले महिलालाई पनि पुरुषसरह सक्षम देख्‍नै सकेका छैनन्। महिलामाथि बलात्कार, यौन दुव्र्यवहार, बेचबिखन, कुटपिट, आगो लगाउने, विष खुवाउने, एसिड खन्याएर कुरूप बनाउने, बोक्सीको आरोपमा मलमूत्र खुवाउने, विभिन्‍न यातना दिने र एक किसिमले सामाजिक बहिष्कार नै गर्ने, दाइजोको निहुँमा शारीरिक तथा मानसिक यातना दिने, दैनिक घर–व्यवहारमा भेदभाव गर्ने, संस्कार एवं परम्पराका नाममा अधिकारबाट वञ्‍िचत गर्ने, आत्मसम्मानमा चोट पुग्ने बोली र व्यवहार गरिने आदि घटना भइरहेका छन्।

सुरक्षित जन्‍मन पाउनु बच्‍चाको अधिकार हो। तर, धेरै छोरी गर्भमै सुरक्षित छैनन्, छानीछानी भ्रूणको हत्या गरिन्छ। जन्मिएपछि पालन पोषणदेखि शिक्षादीक्षा र स्वास्थ्यमा छोरा र छोरीबीच विभेद छ। छोरीको उच्‍च शिक्षाका लागि कम लगानी गरिन्छ। सकेसम्म कम उमेरमै विवाह गरेर परिवारले आफ्नो जिम्मेवारी पन्छ्याउन खोज्छ। सुरुदेखि नै अर्काको घर जाने जातको रूपमा छोरीलाई हेरिन्छ र महिलामाथि विभेदको सुरुवात पनि घरबाटै हुन्छ।

छोरीलाई ससुरालमा विभेद ग¥यो भन्दै आफ्नै ज्वाइँ र ज्वाइँको परिवारलाई सराप्ने तर आफ्नै बुहारीलाई प्रताडित गर्ने आमा÷सासूहरू पनि हाम्रै समाजमा छन्। छोरीमाथि विभेद भएको देख्‍ने आमाले आफ्नै बुहारीमाथिको विभेद देख्दैनन्। भाउजूले आमालाई बुढेसकालमा दुःख दिएको कुरा गरेर नथाक्ने तर आफ्नै सासूलाई दुःख दिइरहने छोरी÷बुहारीहरू पनि हाम्रै समाजमा छन्। नन्दले भाउजूमाथि र भाउजूले नन्दमाथि हिंसा गर्ने गरेको पनि हाम्रै समाजमा देख्‍न पाइन्छ। यस्ता थुप्रै समस्या हाम्रो समाजमा व्याप्‍त छन्। तपाईं हामी स्वयं यसका भुक्तभोगी छौं। यसरी एउटी महिलाले अर्की महिलामाथि हिंसा गर्ने गरेको पनि समाजमै देख्‍न सकिन्छ।

महिला हिंसा अशिक्षित वर्गबाट मात्र नभएर शिक्षित र चेतनशील वर्गबाट समेत हुने गर्छ। अधिकांश महिला अहिले पनि घरधन्दा र चुलोचौकोमै सीमित रहनु परेको छ। यसले पनि महिला हिंसाको जोखिम बढाएको छ। प्रदेशगत रूपमा सबैभन्दा बढी महिला हिंसा मधेस प्रदेशमा हुने गरेका छन्। घरेलु हिंसाका घटना पनि मधेसमै धेरै छन्। मधेसमा दाइजोको नाममा पनि धेरै महिला हिंसा हुने गरेको छ। दाइजो नल्याएको कारणबाट घरबाट निकालिएका घटनादेखि जिउँदै जलाइएका घटनासम्म बेलाबेलामा सुनिन्छ। समयक्रमसँगै शिक्षा र चेतनाको विस्तार हुँदै गर्दा क्रमिक रूपमा दाइजोजस्तो कुप्रथा उन्मूलन हुनुपर्ने हो, तर यो कुरीतिमा खासै कमी आएको देखिँदैन।

नेपालको संविधानको धारा ३८ को उपधारा १ मा महिलाको हक भनेर लैगिक भेदभावबिना समान वंशीय हक दिइएको छ। यस्तै सोही धाराको उपधारा ३ ले महिलाविरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको कार्य वा शोषणलाई कानुनबमोजिम दण्‍डनीय मानेको छ र पीडितलाई कानुनबमोजिम क्षतिपूर्ति पाउने हकको सुनिश्चितता गरिएको छ। यस्तै नयाँ कानुनी अपराधसंहिता ऐन, २०७४ मा पनि बलात्कार गर्नेलाई उमेरअनुसार सजाय तोकेको छ।

नेपालको संविधानले लैगिक विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्यायको सुनिश्‍िचतता गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ। समान नागरिक, समान सहभागिता, सामाजिक सुरक्षा, कानुनको पालना र आर्थिक समृद्धिलाई संविधानमा प्रमुख प्राथमिकताका साथ राखिएको छ। तर व्यवहारमा कार्यान्‍वयन भएको छैन। राज्यका हरेक निकायमा अझै लैंगिक समानता देखिँदैन।

नेपालमा लैगिक हिंसा न्यूनीकरणका लागि थुप्रै कानुनी र संरचनागत प्रयास भएका छन्। संयुक्त राष्‍ट्रसंघीय महासन्धि, प्रतिज्ञापत्र, प्रस्तावहरूको नेपाल पक्ष राष्‍ट्र भइसकेको छ। महिलामाथि हुने विभेद तथा हिंसा रोक्नका लागि राज्यले विभिन्‍न कार्ययोजना कार्यान्वयनसमेत गरेको छ। हिंसापीडित महिलालाई कानुनी र आर्थिक सुरक्षा प्रदान गर्न नीतिगत व्यवस्था पनि गरिएको छ। तर पनि महिलामाथि हुने हिंसाका घटनामा कमी आउन नसकेको तथ्यांकले देखाउँछ।

महिला हिंसाका कारण महिलामात्र होइन, सिंगो समाज नै प्रभावित हुने गर्छ। यो केवल महिला वर्गको सरोकारको विषय नभई समग्र समाजको चिन्ता र चासोको विषयसमेत हो। यस्तो यातनाजन्य आपराधिक कर्मलाई रोक्न सबैले आ–आफ्नो क्षेत्रबाट प्रभावकारी भूमिका निर्वाह गर्न सक्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.