पावरप्लेमा पोखराको उत्कृष्ट सुरुवात
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले पावरप्लेमा ५९ रन बनाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगर किंग्सले दिएको १४० रनको लक्ष्य पछ्याएको पोखराले पावरप्लेमा १ विकेटको क्षती ५९ रन बनाएको छ।
पोखराका दुई ओपनर दिनेश खरेल र एन्ड्रिस गोउसको उत्कृष्ट ४७ रनको साझेदारी गरे। ओपनर दिनेश खरेल ४.३ ओभरमा प्रतिश जिसीको बलमा अनिल खरेलको हातमा क्याच भए। उनले ११ बलमा १ छक्कासहित ११ रन बनाए।
हाल क्रिजमा ओपनर एन्ड्रिज गोउस ३५ र कप्तान कुशल भुर्तेत ८ रन बनाएर खेलिरहेका छन्। यी दुवै टिमको यो पाँचौं खेल हो। दुवै टिमले १/१ खेल जितेका छन्। तर रन रेटका आधारमा पोखरा विराटनगरभन्दा अगाडि छ। यी दुवैले लुम्बिनी लायन्सलाई जितेको हो।
विराटनगरले पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेट, दोस्रो खेलमा सुदुरपश्चिम रोयल्ससँग ९० रनले पराजित भएको विराटनगरले तेस्रो खेलमा लुम्बिनीलाई २ विकेटले हराएको हो। चौथो खेलमा कर्णालीसँग ७ रनले पराजित भएको हो।
पोखराले पहिलो खेलमा चितवन राइनोजसँग ८७ रन, जनकपुरसँग ७ विकेटले हारेको पोखराले तेस्रो खेलमा लुम्बिनीलाई १० विकेटले हराएको हो। चौथो खेलमा कर्णालीसँग ७ विकेटले पराजित भएको थियो।