अन्यथा, अर्को अर्थ नलागोस् !
नीतिनियम बिना यो ब्रह्माण्ड संसार कहीँ कतै केही चलेको छैन। हुन त हामीहरू प्रायः सबैजसो भने पनि फरक नपर्ला। एउटा दुईटा चामलमा बियाँ पाएजस्तो कता कति मात्रै भने पनि हुन्छ, हिजो आज त चामलमा बियाँ पनि पाइन छोडिएको छ। यो समाजमा अहिले यतिखेर आस्तिक पाउन पनि गाह्रो परिसक्यो तर यो ब्रह्माण्ड नीतिनियम बिना एउटा फिटिक्क कतै केही चलेको छैन। यो एक, दुई, तीन ध्रुवसत्य कुरा हो, यो मानवले बुझ्न जरुरी छ। हिजोआजको मानिसमा धेरै परिवर्तन आइसकेको छ। यो केही पनि हैन, ‘भस्मिभूतत्य देहस्थ पुनरागमनम कुत’ ‘जे गर्दा पनि हुन्छ, गर्नुपर्छ, केही फरक पदैन। मोजमजा नै सबै थोक हो’ भन्नेले व्यापक जरा गाडेको पाइन्छ।
किन कसरी यो ब्रह्माण्ड संसार नीतिनियम विना चलेको छैन ? कोही कसैले भन्न सक्ने आँट निकाल्न सक्नुहुन्छ ? सक्नुहुन्न। किन यो एउटा तपाईं हामी सबैले भोगेर देखे, सुने र जानेको कुरा हो। तर पनि हामीमा ज्ञानको कमीले त्यो कुरा भन्न सक्दैनौं। हेर्नोस्, एउटी सोह्रवर्षे युवती गर्भवती भइन्। गर्भवती भएपछि १० महिना पूरा भएपछि बच्चा जन्मन्छ। १०–१५ दिन यताउता हुन सक्ला तर १० महिना पूरा भएपछि बालक जन्मिएको हुन्छ। यो पहिलादेखि बाँधेको नीति हो। यो नीति न हिजो फरक पर्यो, न आज फरक परेको छ। न त भोलि नै फरक पर्नेछ।
ल ! हेर्नोस् त योभन्दा बाहेक कोही बाहिर जान सक्छ ? सक्दैन। वर्षा ऋतुमा पानी पर्नुपर्छ। बसन्त ऋतुमा खडेरी पर्नुपर्छ, रुखबिरुवाले पालुवा फेर्नुपर्छ। शिशिर ऋतुमा जाडो हुनुपर्छ। मंसिरमा धान पाक्नैपर्छ अनि असारमा खेत रोप्नुपर्छ। यो यथार्थ हिजो थियो, आज छ र भोलि पनि रहनेछ। यो नीति रहेन भने मानव प्राणी संसार केही पनि रहँदैन। यो नीतिबिना न केही रहन र हुनसक्छ, यो नीतिबिना ब्रह्माण्ड नै भष्मीभूत हुन जान्छ। त्यसकारण यो नीतिबिना कोही कतै केही रहनै सक्दैन।
भनेपछि मानव नीतिबिना चल्न सक्छ ? रहन सक्छ ? सक्दैन नि। फाँटमा चर्न गएको चारखुट्टे जनावर पशु त दिनभरि चरेपछि बेलुका गोठमा जानुपर्छ भनेर फर्केर आउँछ। अनि आफ्नो गोठभित्र पस्छ। मानव त सर्व श्रेष्ठ चेतनशील प्राणी हो भनेपछि मानव नीतिनियमबेगर बेथितिमा रहन सक्छ ? सक्दैन। मानवमा नीतिनियमबेगर बेथिति भयो भने मानव आफैं नासिएर जाने हो। यो कुरा अवश्यंभावी छ। जब मानव नीतिनियमबेगर बेथितिमा हिँड्न थाले, त्यसको नासको बाटो अवश्यंभावी छ। निश्चित कुरा हो। जो बाँधेको नीतिनियममा चलेन भने समस्यामा अवश्य पर्छ।
किनकि सूर्य पनि आफ्नो नीतिमा चलेका छन्।
चन्द्रमा आफ्ना नीतिमा चलेको छ। रातागण पृथ्वी, हावा, पानी, मानव, जीवजन्तु चराचर जगत् सबै आआफ्ना ठाउँमा चलेका छन् र त यो ब्रह्माण्ड चलेको छ। यो ब्रह्माण्डमा केवल नीतिनियम बेगर चलेको छ भने मानव चलेको छ। हामीले संविधान बनाएका छौं। हामी त्यो संविधानअनुसार चलेका छौं भन्नुहोला। त्यो संविधान बनाएर मात्र हुँदैन, त्यसअनुसार अक्षरशः पालना गरेर चल्नुपर्‍यो नि। आफूअनुसार व्याख्या गरेर त्यसको तोडमोड गरेर चलेर हुन्छ र ? हुँदैन नि। आफूलाई काम गर्न मन लागेअनुसारको संविधानको व्याख्या गरिएको हुन्छ।
आआफ्नै मुखमा संविधान भए झैं व्याख्या गरिएको हुन्छ। एउटाले संविधान मिच्नु भनेको लाखौं करोडौंको अधिकार मिच्नु हो। यो कुराको हेक्का कसैले राखेको छ। छैन, संविधानको चुरो कुरो के हो के भन्न खोजिएको हो। त्यसलाई सबैले पालना गर्नुपर्छ। एउटाले यो हो भन्छ, अर्कोले त्यो हो भन्छ। अर्कोले अर्को हो भन्छ। त्यसो हो भने विवाद कहिल्यै पनि टुंगिन सक्दैन। जो बलियो छ, उसैले जित्छ र संविधान मिचिन जान्छ। वास्तवमा यसो हुनु भनेको
जनताको हकअधिकार मिचिनु हो।
जनता राज्य सबैले एउटाका स्वार्थले गर्दा सबैले दुःख पाउनु हो। यस्तो नहोस् भन्नाका खातिर प्रजातान्त्रिक देशहरू भनौं या सबैले त्यसो नहोस् भन्नाका खातिर एउटा न्याय प्रणाली अपनाउनुपर्ने जरुरी छ। जब यस्तो अवस्था आइपर्छ, त्यो समयमा न्याय क्षेत्रमा ख्यातिप्राप्त गरेका निर्भीक स्वतन्त्र विचारवान् धीर पुरुष पाँचजनाको एउटा समिति बनाउनुपर्छ र त्यस्तो समयमा राष्ट्राध्यक्षलाई तिनले निष्पक्षतापूर्वक स्वतन्त्र सल्लाह दिने परिपाटी बसाल्ने र तिनका सल्लाहअनुसार राष्ट्राध्यक्षले कार्य गरेको खण्डमा संविधान मिचिने सम्भावना कम हुनेछ। नत्र त यहाँ संविधान पनि आआफ्ना स्वार्थअनुसार व्याख्या हुँदै गइरहेछन्।
अन्य अर्थ नलागोस्– त्यतिबेला राजालाई निरंकुश राजतन्त्र चलाइयो भनेर राजालाई फालियो। कुनै गाह्रो अप्ठ्यारो पर्यो भने न्यायालयसँग परामर्श लिएर मात्रै काम गरेका हुन्थे, जुन न्याय पनि निष्पक्ष सम्पादन हुन्थ्यो। त्यसकारण मानिस नराम्रो काम गर्न डराउँथे उतिबेला। अहिले त न नीति छ, न नियम छ तर पनि जसले जे गरे हुने भएको छ। न नियम पालना गर्नुपर्ने, न नीति पालना गर्नुपर्ने। सजिलो त सबैलाई सजिलो भयो तर त्यसले राज्य–जनता कसैको कल्याण भने हुन सकेन।
हाम्रा नेताहरू चुनाव जित्न नजितुञ्जेल जनतालाई यो गर्छौं र त्यो गर्छौं भन्छन्। जब चुनाव जितेर आए अनि जनताले गरेको नमस्ते पनि फर्काउँदैनन्। जनताको काम गर्नु त कता हो कता ? अब आफूले चुनाबमा गरेको खर्च कसरी उठाउने होला ध्यानमा लाग्छन्। पहिला सरकार अस्थिर भो भनेर दुई वर्षसम्म अविश्वास प्रस्ताव राख्न नपाइने भनियो। भनेर के गर्नु ? ६ महिना हुन पाएको छैन, पटक–पटक सरकार बदलिएको छ। सत्तामा जाने चाँहि अब कसरी कमाउने ? अनि यो सरकार कसरी थमाउने ? मात्र यत्ति ध्याउन्नमा छन्।
सत्ताबाट बाहिर हुनेहरू कसरी यो सरकार गिराउने ? आफू सत्तामा कसरी जाने ? यत्ति चलखेलमा संसद्को पाँचवर्षे कार्यकाल समाप्त हुन्छ। जनताको देशको कार्य गर्ने त कुरै हुँदैन। कुन नीतिनियमबाट कार्य गर्दा देशको विकास होला ? सोच नै छैन ! त्यसको सट्टा कसरी सत्ता टिकाउने ? कुन उपाय अवलम्बन गर्दा सरकार टिकाउन सकिन्छ ? यत्ति सोच भएपछि कसरी जनताले सुखसुविधा पाउने ? कसरी देश विकास गर्ने ? यो नेपालीको दिवास्वप्ना मात्र हुने भयो।
जताततै बेथिति। नीतिनियम बिगार्ने, भत्काउने। बिगार्ने कुरामात्रै भएका छन्। यतिसम्म कि राष्ट्रिय पोसाक र राष्ट्रिय चिह्न नभएको देश कुन हो भन्दा त्यसको उत्तरमा नेपालको नाम आउँछ। देशको एउटा स्वाभिमान देशको गौरव मान्नुपर्ने हाम्रो देशको राष्ट्रिय पोसाक, राष्ट्रिय चिह्न तिमीहरूको के हो ? भनेर कुनै राष्ट्रले प्रश्न गर्यो भने हामी नेपाली सबै नतमस्तक भएर बस्नुपर्ने हुन्छ।
साधारण पोसाक लगाउने कुरा पनि अलपत्र परेका छन्। जति पनि हाम्रा देशमा पार्टीहरू आएका छन्, ती सबैले विरोध गर्न जान्ने, बिगार्न जान्ने, बनाउन नजान्ने, म पनि एउटा पार्टीलाई भोट दिने मान्छे हुँ। तर पनि यो कुरा बाध्य भएर भन्नुपर्छ क्या। सबै पार्टीका घैंटामा घाम लागून्। यसरी त ग्यारेन्टीका साथ भन्छु– एक ! दुई ! तीन ! यो देश समाजलाई सुखसुविधा कुनै हालतमा हुने छैन।
सबैको जय होस् !