जीवन–जगत्का बाछिटाहरू
तीसको दशकका युवा पुस्ताले गोजीका साहित्यिक पत्रिकाबाट पुनः प्रारम्भ गरेको लघुकथा लेखनबीचको केही समय सुषुप्तावस्थामा रह्यो। तर पनि वर्तमान समयमा नेपाली लघुकथा विधा अत्यन्त लोकप्रिय हुँदै आएको छ। लघुकथा लेखनका साथै लघुकथा संग्रह प्रकाशनमा पनि केही वर्षदेखि बढोत्तरी देखिन्छ। स्थापित साहित्यकारदेखि नवपुस्ताहरूको ठूलो जमात लघुकथा लेखनमा समर्पित छ। लघुकथाको गुणात्मकतालाई थाँती राखेर यसको संख्यात्मक वृद्धिलाई मात्र आधार मान्ने हो भने पनि यसलाई लघुकथा लेखनको विकासमा एक किसिमको बाढी नै हो भन्दा पनि फरक पर्दैन।
यसै सन्दर्भमा लामो समयपश्चात् प्रकाशित लघुकथाको एउटा स्तरीय संग्रह ‘छचल्का’ पाठकसामु आएको छ। साहित्यिक पत्रिका शारदाका सम्पादक विमल भौकाजीले आफ्नो सम्पादनमा छचल्का शीर्षकको लघुकथा संग्रह भुँडीपुराण प्रकाशन, काठमाडौंमार्पmत बजारमा ल्याएका छन्। जसमा वरिष्ठ साहित्यकारदेखि कनिष्ठ लेखकसम्मका लघुकथा छन्। तीमध्ये १२ महिला लघुकथाकार छन्। वास्तवमा यो लघुकथा संग्रह लघुकथा लेखनमा लागेका र पहिले नै स्थापित भइसकेका लघुकथाकारहरूको प्रतिनिधि लघुकथा हो। यसमा दुर्लभलाल सिंह, शान्तिनारायण श्रेष्ठ, मनु ब्राजाकी, शैलेन्द्र साकार, गोरखबहादुर सिंह, वनमाली निराकार, भागिरथी श्रेष्ठ, मञ्जु काँचुली, उषा शेरचन, अशेष मल्ल, किशोर पहाडी, श्रीओम श्रेष्ठ ‘रोदन’, लव गाउँले, युवराज मैनाली, रामप्रसात पन्त, महेश प्रसाईं, दिव्य गिरी, धु्रव मधिकर्मी, रत्न कोजु, राजव, सुमन सौरभ, विमल भौकाजी, आरआर चौलागाईं, त्रिभुवनचन्द्र वाग्ले, हरिप्रसाद भण्डारी, डा. पुष्करराज भट्ट, पेशल आचार्य, सुष्मा मानन्धर, राधा कार्की, कात्यायन गरी ९९ जनाको लघुकथा छन्।
लघुकथामा देशको वर्तमान अवस्था, नारी स्वतन्त्रता, वैदेशिक रोजगार र त्यसको असर, देशको अस्थिर राजनीतिक अवस्थाबाट उत्पन्न अनेकौं विकृति, विसंगति र बेथितिले समाजमा पारेको नकारात्मक प्रभावका साथै व्यक्ति र पारिवारिक विचलनका स्वरहरू उठाइएको छ। नेपाली समाजमा आधुनिकताका नाममा प्रवेश गरेको आर्थिक र सामाजिक पाटोलाई पनि यस संग्रहभित्रका लघुकथाहरूमा अभिव्यक्त गरिएको छ। लघुकथाहरू सरल भाषा र शैलीलाई छन्। जसको कारण लघुकथाहरूले व्यक्त गरेको भाव, मर्म र सन्देश बुझ्न पाठकलाई घोत्लिरहनु पर्दैन। प्रस्तुत संग्रहभित्रका धेरैजसो लघुकथा समसामयिक, राजनीतिक, आर्थिकसँग सम्बन्धित छन्। यी विषयहरू मानिसको जीवन र जगत्सँग सम्बन्धित भएकाले लघुकथा बढी प्रभावकारी छन्। यो नै छचल्काको प्रमुख विशेषता र महत्वपूर्ण पक्ष हो।
लघुकथाकारहरूले लघुकथाको संरचनापक्षलाई विशेष ध्यान दिएर लघुकथाको सिर्जना गरेको पाइन्छ। तसर्थ यस लघुकथामा जीवन र जगत्लाई विभिन्न दृष्टिकोणबाट हेरिएकोले पनि ती रोचक र भावपरक छन्। वास्तवमा लघुकथाहरू सरल र प्रभावकारी हुनु नै लघुकथाको विशेषता पनि हो। यसका अतिरिक्त वर्तमान समयमा देखिएका अनेक विकृति, विसंगति र बेथितिका अतिरिक्त मान्छेभित्रको स्वार्थीपन, मान्छेभित्र हराउँदै गएको मानवता र बढ्दै गएको सामाजिक कुप्रवृत्तिका कारणबाट उत्पन्न भएका अनेक विकृतिका पाटाहरूलाई लघुकथाहरूमा उजागर गरिएको छ।
लघुकथामा हुनुपर्ने चार विषय विषय, शैली, प्रस्तुति र सन्देश संग्रहमा अति महŒवपूर्ण पक्ष बनेर रहेका छन्। लघुकथाको विषय छनोटदेखि प्रस्तुत गर्ने, शैली, संरचना, संवाद आदिमा कलात्मकता नभई लघुकथा प्रभावकारी हुन सक्दैन। आजको भौतिकवादी संसारमा आजको समाज र त्यो समाजको परिवेशमा बाँचिरहेको मान्छे अनेक कुण्ठा, पीडा र विसंगतिबाट गुज्रिरहेको छ। तिनीहरूकै भित्री भावनालाई विषय बनाएर लेखिएका छन् यस संग्रहका लघुकथाहरू। जसको कारण लघुकथाहरू स्तरीय र प्रभावकारी भएका हुन्। यी लघुकथाहरूले पाठक स्वयंको पीडालाई पनि अभिव्यक्त गर्छन् भन्ने विश्वास लिन सकिने आधार छन्। यस लघुकथा संग्रहमा समावेश सबै लघुकथा विषयगत हिसाबले पनि उम्दा छन् र एउटा न एउटा सन्देश प्रवाह गर्न सफल छन्।
धेरै समयपछि विभिन्न सर्जकको लघुकथाहरूलाई एउटै पुस्तकमा समेटेर प्रकाशन गरिएको यो स्तरीय लघुकथा संग्रह ‘छचल्का’ लघुकथामा कलम चलाउन प्रारम्भ गरेका नवस्रष्टा, विद्यार्थी, अनुसन्धानकर्ता र नेपाली साहित्यका आमपाठकका निम्ति अवश्य पठनीय र संग्रहणीय छ।