प्रजातन्त्र
सामाजिक पढाइरहेका सदिरामले अचानक विद्यार्थीलाई सोधे, ‘निरंकुशबाट बच्ने एकमात्र उपाय के हो ? ’
रमणले उठेर भने, ‘लोकतन्त्र।’
रजनीले उठेर बोलिन्, ‘गणतन्त्र।’
सीताले उठेर थपिन्, ‘यी दुवै बेठीक। स्वतन्त्र।’
विद्यार्थीकेन्द्रित अध्यापन थियो। सदिरामले कसैलाई नकारेनन्। उनले प्रश्न बदली गरे। फेरि सोधे, ‘अधिकार पाउन के गर्नुपर्छ ? ’
दया उठे। उनले भने, ‘आन्दोलन।’
श्याम उठे। उनले भने, ‘हडताल।’
हरिमाया जुरुक्क उठिन् र भनिन्, ‘युद्ध।’
सीतालाई सकसक लागेछ क्यार ! उनले भनिन्, ‘क्रान्ति।’
सदिराम फेरि चुप बसे। उनले उत्तर विद्यार्थीबाटै खोज्न थाले। उनले त्यसैगरी भिन्न प्रश्न गरे, ‘हामीले मान्ने स्वतन्त्रता मोडल कस्को हो ? पीडितको या पीडकको ? ’
रमणले फ्याट्ट भने, ‘बेलायतको।’
रजनीले सीधै भनिन्, ‘अमेरिकाको।’
सीताले थपिन्, ‘युरोपको।’
पहिलादेखि चुपचाप बसेको विशाल धेरै बेरसम्म घोरिए। साथीका तर्कले उनी अझै झस्किए। पीडितले स्थापना गरेको व्यवस्था मोडेल न स्वतन्त्रता देखिए न त क्रान्तिको माध्यम नै। शक्तिशाली देशका शासकहरूले फुटाएर राज गर्ने मोडल कसरी चलाए ? विशाल सोचमग्न बने।
उत्तर खोज्न विशालले उठेर सोधे, ‘शोषण गर्नेले आफ्नो व्यवस्था पीडितमाथि लाद्दा कुन तन्त्र आउँछ ?’