जहाँ पुस्तकले पुलको काम गर्छन्

जहाँ पुस्तकले पुलको काम गर्छन्
सुन्नुहोस्

न प्रशस्त किताबको पहुँच, न त आफूजस्तै लेख्ने साथीभाइसँग बाक्लो भेटघाट, न आफ्नो सिर्जनाको अभिव्यक्ति दिने उचित माहोल। यस्तै समयलाई छिचोल्दै लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, पारिजात, शंकर लामिछाने, भूपि शेरचन आदिले निरन्तर लेखिरहे। अहिले उनीहरू हाम्रा प्रेरणाका पात्र भएका छन्। 

अब समय केही विकसित भएको छ।

प्रविधिसँगसँगैको उन्नतिको पूर्वाधारले विश्वलाई नै एउटै घर बनाइदिएको छ। हामीले चाहेको काम गर्न अलि सहज हुँदैछ। मानिसहरू शिक्षित हुने क्रममा बौद्धिक स्तरको वृद्धि चासोको विषय बन्दैछ। यही सिलसिलामा विभिन्न ठाउँमा पुस्तक पसलको सुरुआत परिवर्तनको द्योतक हुन प्रयास गरिरहेको छ। हिजोआज पठन संस्कृतिको विस्तार विकेन्द्रीकृत शैलीमा भइरहेछ। आफूलाई पढ्न मन लागेका पुस्तकहरू नपाएर पाठकले छट्पटिनुपर्ने अवस्था थियो। अब यो समस्या बिस्तारै बिस्तारै सहज भइरहेको छ। गाउँका कुनाकुनामा किताबको अनुहार देखिने क्रम सुरु हुँदैछ।

सम्पूर्ण किताब नारायणगढका सञ्चालक लेखराम सापकोटा पाठकको चाहनालाई पूरा गर्ने कोसिसमा छन्। यसले विशेषगरी साहित्यिक अनि गैरसाहित्यिक उन्नतिका लागि आफ्नो यात्रा तय गरिसकेको छ। जहाँ सबै विधाका पुस्तक उपलब्ध छन्। कोरोना भाइरसको संक्रमण फैलिएको बेला यसले निःशुल्क होम डेलिभरीमार्फत सेवा गर्‍यो। अहिले पनि गरिरहेको छ। अक्सर मान्छेहरूको सपना हुन्छ– राम्रो देश जाने, पैसा कमाउने, कतै घर जग्गा जोड्ने अनि परिवारको साथमा सुखसयलको जिन्दगी बाँच्ने। तर उनले यो सपना देखेनन्। किताबको संसारलाई नै आफ्नो सपनाको केन्द्रबिन्दु बनाए। उनको सपना पूरा गर्न जीवनसाथी शिरिषाले भरपूर साथ दिइरहेकी छन्। दुवैको सपना र चाहना मिलेर सम्पूर्ण किताब नारायणगढ रंगीन फूलबारी बनेको छ। जहाँ लेखक तथा पाठक मह काढ्न रस खोज्ने माहुरी झैं झुमिरहन्छन्।

​​​​​​​यसको नामकरण गर्ने सन्दर्भमा लेखक अमर न्यौपाने र आफूले जुराएको अनुभव सापकोटा सुनाउँछन्। यो ठाउँठाउँमा विस्तार भएपछि लेखक र पाठक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। अक्षरसँग प्रेम गर्नेहरूका लागि यो तीर्थस्थल बनेको छ। जहाँमा हजारभन्दा बढी शीर्षकका पुस्तक पाइन्छन्। लेखराम भन्छन् ‘कोर्सबाहिरका किताबलाई बढी प्राथमिकता दिन्छौं। पुराना लेखकहरूलाई कालजयी बनाइराख्न उनीहरूको पुस्तक बिक्री गर्नमा टेवा पुर्‍याउँछौं। घरमा अथवा शैक्षिक संस्थामा पुस्तकालय निर्माण गर्न चाहनेहरूका लागि हामीलाई सम्झिए हुन्छ, सकेसम्म गुणस्तरीय किताब उपलब्ध गराउँछौं।’

हरेक नेपालीको घरमा अनि हरेक सार्वजनिक स्थानमा पनि चिटिक्क परेको पुस्तकालय बनोस् भन्ने हामी चाहान्छौं।’ चितवन र हेटौंडा आसपासका लेखक अनि पाठकका लागि अहिले लेखराम साथी बनेका छन्। उनी देशबाहिर पनि पुस्तक पठाउँछन्। चितवन बाहिरबाट पनि लेखक तथा पाठकहरूको उपस्थिति सम्पूर्णमा हुने गरेको छ। यो सुन्दर तथा महŒवपूर्ण कार्यका लागि लेखराम–शिरिषाको जोडीलाई सलाम गर्नैपर्छ।

साहित्यिक कार्यक्रमहरूको मेलोमेसो मिलाउने थलो पनि अचेल सम्पूर्ण किताब भएको छ। जसले लेखक, प्रकाशक अनि पाठकको सम्बन्धलाई सुमधुर बनाउन मध्यस्थकर्ताको काम गरिरहेछ। किताबै किताब भएको अनुपम स्थलमा भेटघाट गर्न पाउँदा लेखकहरू पनि एकदम खुसी हुनुका साथै लेखन अनि पठनसम्बन्धी कुराकानीमा मग्न हुन्छन्। सम्पूर्ण किताबबाट लाभ लिने धेरै साहित्यानुरागी छन्। जसले अझ बढी लेखकहरूलाई लेख्न, प्रकाशकहरूलाई छाप्न र पाठकहरूलाई पढ्न प्रोत्साहित गरेको छ।

२०५७ सालमा नारायणगढको पुस्तक पसलमा लेखरामले काम सुरु गरेका थिए। २०७१ सालदेखि आफैं यो खोलेर आख्यान तथा गैरआख्यानका पुस्तक बिक्री गरिरहेका छन्। भन्छन्, ‘यद्यपि यो अभियानमा चुनौती पनि छ किनकि यसमा करोडौं लगानी गरेको छु। नेपाली साहित्यको उत्थान गर्नु मेरो उद्देश्य हो। जसलाई मैले नाफामुखीभन्दा निस्वार्थ सेवाको भावले हेरेको छु। अरू व्यापारजस्तो होइन यो ‘किताबबजार’ जसबाट रातारात धनी हुन सकियोस्। यो त जीवनलाई कलासँग जोड्ने प्रयास हो। जहाँ पुस्तकले पुलको काम गर्छन्। यसलाई अझ देशका कुनाकुनामा फिँजाउन सकेमा पठनसंस्कृतिको उन्नतिका लागि सुनमा सुगन्ध मिल्ने थियो।’

शिरिषा सापकोटा पनि लेखरामले थालेको कामलाई पूर्णता दिन चाहन्छिन्। उनी पतिको भावनालाई सम्मान गर्छिन्। पुस्तकहरूको बिक्री वितरणमा अहोरात्र खटिइन्छिन्। नेपाली साहित्य र साहित्यलाई धेरै माया गर्छिन्। यो जोडीको मेलमिलापपूर्ण कार्य सराह्रनीय छ। सम्पूर्ण किताबको सञ्जाल काठमाडौं, विराटनगर, बिर्तामोड हुँदै देशका विभिन्न ठाउँमा फैलिन खोजिरहेछ। जसले निरन्तर पुस्तकप्रेमीहरूको मन जितिरहेछ। घरपिच्छे पुस्तकालय बनाउने अभियानमा पनि महत्वपूर्ण टेवा पुर्‍याइरहेछ। अभियानमार्फत अहिले जन्मदिन, बिहे, व्रतबन्ध आदि कार्यमा पुस्तक उपहार दिने प्रचलन पनि बढेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.