नोबेलमा अब्बल १८ नारी हस्ताक्षर

नोबेलमा अब्बल १८ नारी हस्ताक्षर

नोबेल पुरस्कार विश्वको एकमात्र प्रतिष्ठित र चर्चित पुरस्कार हो। यो पुरस्कार प्राप्त गर्न जो पनि लालायित हुने गर्छन्। स्वाभाविकै हो यो पुरस्कार प्राप्त गरेपछिको उक्त व्यक्ति र देशको सानसँगै मान पनि वृद्धि हुन पुग्छ। त्यसैले नोबेल पुरस्कार प्राप्त गर्न सबै चाहन्छन् तर कमैलाई मात्र उक्त सौभाग्य मिल्छ। जसको घोषणा स्विडिस एकेडेमीले गर्छ। प्रत्येक वर्ष डिसेम्बर १० का दिन स्टकहोममा उक्त पुरस्कार भव्य समारोहबीच प्रदान गरिन्छ।

नोबेल पुरस्कारका जन्मदाता अल्फ्रेड बर्नार्ड 

सन् १८३३ अक्टोबर २१ मा अल्फ्रेड बर्नार्ड नोबेलको जन्म स्विडेनको बाल्टिक सागरको किनारास्थित स्टकहोम नामक नगरमा भएको थियो। उनका पिता सन् १८४२ देखि सेन्ट पिटर्सबर्गमा परिवारसहित रहन्थे। यहाँ उनी रूसको सरकारका लागि खेतीका औजारका साथै सुरुङ र तारपीडहरूको निर्माणमा लागे। उनलाई सन् १८५० मा अध्ययनका लागि अमेरिका पठाइयो। पछि अल्फ्रेड स्वदेश फर्के र बुवाले काम गर्ने कारखानामा विस्फोटक पदार्थको निर्माण तथा अध्ययनमा लागे।

यसैक्रममा उनले नाइट्रोग्लिसरिनको अध्ययन गरे। यसैक्रममा सन् १८६४ मा सेप्टेम्बर ३ मा भएको विस्फोटमा उक्त कारखाना पूर्णरूपमा ध्वस्त भयो। जसमा उनको कान्छो भाइको समेत मृत्यु भयो। सन् १८६७ मा उनले धुवाँरहित बारुदको आविष्कार गरे जुनयुद्धमा व्यापक प्रयोग हुन थाल्यो। अल्फ्रेडले ३५५ विभिन्न आविष्कार गरेका थिए। जसमा उनले सन् १८६७ मा डायनामाइटको आविष्कार गरे।

महान् उनै वैज्ञानिक नोबेलको नाममा सन् १८९५ मा नोबेल पुरस्कारको स्थापना भएको हो। उनी स्विडेनका वैज्ञानिक तथा विस्फोटक पदार्थ डाइनेमाइटका आविष्कारक पनि हुन्। नोबेल फाउन्डेसनद्वारा स्विडेनको वैज्ञानिक अल्फ्रेड नोबेलको स्मरणमा सन् १९०१ मा सुरु गरिएको हो। यो पुरस्कार भौतिक, रसायन, साहित्य, शान्ति, चिकित्सा र अर्थशास्त्र क्षेत्रमा प्रदान गरिन्छ। विश्वको सर्वोच्च पुरस्कारको रूपमा यस पुरस्कारमा प्रमाणपत्रको साथमा नगद पनि दिइन्छ।

अविवाहित रहेका कारण सन् १८९६ डिसेम्बर १० मा देहान्त हुँदा उनका कुनै उत्तराधिकारी थिएनन्। उनले शेषपछि आफ्नो सम्पत्ति कसैलाई दिन चाहेनन्। सन् १८९५ मा उनले एक इच्छापत्र तयार पार्न लगाएर आफ्नो सम्पत्तिबाट अक्षयकोष स्थापना गरे। उक्त कोषबाट प्राप्त आम्दानीबाट विज्ञानतर्फ भौतिकशास्त्र, रसायनशास्त्र र चिकित्साशास्त्रमा महत्त्वपूर्ण खोज वा आविष्कार गरेका, साहित्यको क्षेत्रमा ठूलो योगदान पुर्‍याएका र विश्वशान्ति कायम गर्न विशेष योगदान पुर्‍याएका व्यक्ति/संस्थालाई नगदसहितको पुरस्कार प्रदान गर्ने व्यवस्था मिलाए।

नोबेलको इच्छाअनुसार यस सम्पत्तिको ब्याजले प्रत्येक वर्ष मानव जातिको कल्याणका निम्ति कार्य गर्ने मानिसलाई सम्मानित गरिन्छ। यो सम्पत्ति स्वीडिस बैंकमा राखिएको र ब्याजले नोबेल फाउन्डेसनमार्फत प्रत्येक वर्ष शान्ति, साहित्य, भौतिक, रसायन, चिकित्सा विज्ञान र अर्थशास्त्रमा सर्वोत्कृष्ट योगदानका लागि पुरस्कार दिइन्छ। फाउन्डेसनको स्थापना २९ जुन १९०० मा भएको हो। अर्थशास्त्रको क्षेत्रमा नोबेल पुरस्कारको सुरुआत भने सन् १९६८ देखि भएको हो। शान्तितर्फको पुरस्कार ओस्लो, नर्वेबाट र अन्य पुरस्कार स्विडेनको स्टोकहोमबाट प्रदान गरिन्छ।

पुरस्कारको राशि, पदक र मेडल : प्रत्येक पुरस्कार विजेताको एक स्वर्ण पदक, एक डिप्लोमा र नगद पुरस्कार दिइने अल्फ्रेड नोबेलले गरेको सन् १८९५ को वसियतअनुसार उनले सबैभन्दा उत्कृष्ट काम गर्ने मानव जातिका सबैभन्दा बढी लाभ प्रदान गर्ने वा उत्कृष्ट काम गर्नेलाई यो पुरस्कार प्रदान गर्न उनले शेषयोग्य सम्पत्तिबाट पाँच पुरस्कारको स्थापना गरेका थिए। जुन स्विडेनका राजाको हातबाट पुरस्कार प्रदान गरिन्छ।

नोबेल साहित्य पुरस्कार प्राप्त गर्नेको संख्या : हालसम्म नोबेल साहित्य पुरस्कार प्राप्त गर्ने साहित्यकार जम्मा १ सय २१ पुगेका छन्। तीमध्ये १८ मात्र महिला साहित्यकार छन्। सन् १९०१ देखि २०२४ सम्म ११७ पटक यो पुरस्कार प्रदान गरिएको देखिन्छ। सन् १९१४, १९१८, १९३५, १९४०, १९४१, १९४२ र १९४३ मा विविध कारणले नोबेल पुरस्कार प्रदान गरिएन। उनै १८ महिला साहित्यकारबारे यहाँ चर्चा गरिएको छ :–

सेल्मा लागरलोफ : आदर्शवाद र अध्यात्मवादी

सन् १९०९ मा नोबेल पुरस्कार प्राप्त गरेर सर्वप्रथम साहित्यमा नोबेल पुरस्कार प्राप्त गर्ने महिला साहित्यकारको ताज भिर्न सफल बनेकी थिइन्, सेल्मा लागरलोफ। सन् १८५८ नोभेम्बर २० मा स्विडेनको मारबाक्कामा जन्मिएकी सेल्माको पहिलो उपन्यास ‘द स्टोरी अफ गोस्टा बर्लिङ’ (१८९१) हो। साहित्य र जीवनलाई सापेक्षित सम्बन्धका रूपमा हेर्ने सेल्माका स्वच्छन्दतावादी र काल्पनिकतालाई उपन्यासमा उतारेका कारण सन् १९०९ मा उक्त पुरस्कार प्रदान गरिएको हो। नोबेल कमिटीका अनुसार उच्च आदर्शवाद, विषद् कल्पना र आध्यात्मिक बोधका लागि सराह्रनीय काम गरेबापत उनलाई नोबेल पुरस्कार दिइएको हो। सेल्माका रचनामा हार्दिकता, कोमलता र कल्पनाशक्तिको उच्चता पाइन्छ। सेल्माका कृतिहरू तीसभन्दा बढी भाषामा अनुवाद भएका छन् भने केही कृतिमा सिनेमा पनि निर्माण भएका छन्। मूलत: आदर्शवाद र अध्यात्मबाट अभिप्रेरित साहित्यकार हुन् सेल्मा। उनको निधन सन् १९४० मार्च १६ मा जन्मघरमै भएको हो।

ग्राजिया देलेद्दा : पूर्वीय अध्यात्मसँग नजिक

आदर्शवादी लेखनका माध्यमबाट स्पष्टरूपमा आफ्नो मूलद्वीपमा जीवनको चित्रण गर्दै सामान्य रूपमा मानवीय समस्याको गहिराइमा पुगेर सहानुभूतिका साथ प्रस्तुत गरेका कारण ग्राजिया देलेद्दालाई सन् १९२६ मा नोबेल पुरस्कार प्रदान गरिएको कमिटीले जनाएको छ। साहित्यमा नोबेल पुरस्कार पाउने दोस्रो नारी स्रष्टा ग्राजियाको सन् १९८२ मा प्रथम उपन्यास फियोर डी सार्डएग्ना प्रकाशित भएको थियो। सन् १९०० मा जब उनको उपन्यास ‘दि ओल्ड म्यान अफ माउन्टेन’ प्रकाशित भया,े तब उनको एकाएक चर्चा चुलियो। ग्राजियाले कृतिमार्फत प्राचीन र आधुनिक मानवसमाजका समानता र असमानताहरूको तुलना गर्दै मानिसको नैतिक उत्थानमा जोड दिएको पाइन्छ। आदर्शोन्मुख अन्तप्र्रेरणाले भरिएका आफ्नो मातृभूमि र सम्पूर्ण मानवीय समस्याका चित्र अत्यन्त गहिराइ र सहानुभूतिपूर्वक रचनामा उतारेकाले उनलाई सन् १९२६ का लागि नोबेल साहित्य पुरस्कार प्रदान गरिएको हो। उनको मृत्यु सन् १९३६ अगस्त १५ मा भएको हो। पूर्वीय अध्यात्मसँग नजिक देखिने उनको मानवकल्याणलाई यथार्थउन्मुख आदर्शवादी दर्शनका रूपमा लिन सकिन्छ। भौतिक सुखसुविधा र सम्पन्नताभन्दा मानव कल्याणबाट आत्मिक सुख प्राप्त हुन्छ भन्ने यिनको मान्यता पाइन्छ। यिनको मुख्य लेखन विधा उपन्यास हो।

सिग्रिड उन्डसेत : मानवकल्याणको मूलबाटोमा

मुख्यत: मध्ययुगपछि उत्तरी क्षेत्रको जीवनका बारेमा प्रभावशालीरूपमा वर्णन गरेकाले सिग्रिड उन्डसेतलाई सन् १९२८ को नोबेल पुरस्कार प्रदान गरिएको थियो। सन् १८८२ मे २० मा डेनमार्कको कालन्डबर्गमा जन्मिएकी उनको सन् १९०७ मा पहिलो उपन्यास प्रकाशित भएको थियो। धार्मिक नैतिक आदर्श नै उनको वैचारिक दर्शन हो। ‘भौतिक सुख कृत्रिम र आध्यात्मिक सुख प्राकृतिक हो’ भन्ने मान्यता उनको लेखनबाट थाहा हुन्छ। मान्छेभित्रका दु:ख र सन्तापले मान्छेलाई नै खाइरहेको यथार्थलाई उनका उपन्यासमा पाउन सकिन्छ। नारीवादी लेखिकाकी रूपमा परिचित सिग्रिडले आध्यात्मिकता नै मानवकल्याणको मूलबाटो हो भन्ने आदर्शलाई प्रस्तुत गरेकी छन्।

पर्ल बक : विश्वबन्धुत्वको वकालत गर्दै

सन् १९३८ मा नोबेल पुरस्कार प्राप्त गर्ने पर्ल बकको जन्म सन् १८८२ जुन २६ मा अमेरिकाको वेस्ट भर्जिनियामा भएको थियो। सन् १९३० मा उनको पहिलो उपन्यास ‘इस्ट विन्ड : वेस्ट विन्ड’ प्रकाशित भएको हो। सन् १९३१ मा प्रकाशित उनको ‘द गुड अर्थ’ उपन्यासले सन् १९३२ मा पुलित्जर पुरस्कारसमेत पाएको थियो। सन् १९७३ मार्च ६ मा अमेरिकाको भरमाउन्टमा उनको मृत्यु भयो। उनको ‘द गुड अर्थ’ बेजोड उपन्यास मानिन्छ। चीनमा किसानहरूको जीवनको समृद्धि र वास्तविक महाकाव्यात्मक वर्णनका लागि तथा उनको जीवनीसम्बन्धी उत्कृष्ट कृतिका लागि नोबेल पुरस्कार प्रदान गरिएको कमिटीले जनाएको छ। पर्लका प्राय: औपन्यासिक कृतिमा चिनियाँ जनजीवनको सूक्ष्म चित्रण गरिएको पाइन्छ। विश्वबन्धुत्व र मानवतावादी आदर्श यिनका उपन्यासमा पाउन सकिन्छ। मूलत: मानवतावादी भावनाले ओतप्रोत भएकी वकले चिनियाँ र अमेरिकाली जनजीवनको यथार्थ चित्रण गरेकी छन्।

गाब्रिएला मिस्त्राल : गीति कविताकी रानी

शक्तिशाली भावनाले युक्त गीतिकविता र दक्षिण अमेरिकी देशमा आदर्शवादी आकांक्षाको प्रतीक मानिएका कारण मिस्त्रालले नोबेल पुरस्कार प्राप्त गरेकी थिइन्। दक्षिण अमेरिकाली जनजीवन र आदर्श भावनालाई सनेट्स अफ डेथ गीतिकवितामार्फत प्रस्तुत गरेबापत सन् १९४५ मा दक्षिण अमेरिकी साहित्यकार गाब्रिएला मिस्त्राललाई साहित्यमा नोबेल पुरस्कार प्रदान गरिएको हो। सन् १८८९ अप्रिल ७ मा चिलीमा जन्मिएकी मिस्त्रालको सन् १९१४ मा पहिलो कृतिका रूपमा ‘सनेट्स अफ डेथ’ प्रकाशित भएको थियो। यो पुरस्कार पाउने प्रथम दक्षिण अमेरिकी लेखिका हुन्, मिस्त्राल । मिस्त्राल ल्याटिन अमेरिकाभरि नै गीति कविताका कारण आदर्शवादी बनेकी हुन्। निम्न वर्गप्रति सहानुभूति प्रकट गर्ने सशक्त लेखिका उनी बालसाहित्यमा कलम चलाउने नारी हस्ताक्षर हुन्। राजनीतिक चेतनाका रूपमा यिनका रचनामा फाँसीवाद विरोधी भावना पनि पाइन्छ। सन् १९५७ जनवरी १० मा न्युयोर्कमा यिनको मृत्यु भयो।

नेली स्याक्स : अमूर्त काव्यलेखक

​​​​​​​उत्कृष्ट गीति नाटकको लेखनका लागि एवं इजरायलको भाग्यको मार्मिक तबरले शक्तिको रूपमा व्याख्या गरेकाले नेली स्याक्सले नोबेल पुरस्कार प्राप्त गरेकी थिइन्। यहुदीहरूको भाग्यको व्याख्या गर्ने कविता र नाटकहरूका लागि सन् १९६६ को नोबेल पुरस्कार उनले पाएकी हुन्। सन् १९२१ मा ‘लिजेन्डस् एन्ड स्टोरिज’ प्रकाशित गरी साहित्य क्षेत्रमा प्रवेश गरेकी नेलीका ‘द हाउस अफ डेथ’ (१९४७) आदि छन् । मूलत: स्वच्छन्दतावादी भावनाले ओतप्रोत भएका उनका रचनामा पछिल्लो समय यहुदी रहस्यवादी चेतनाको प्रभाव देख्न सकिन्छ। उनका कतिपय कवितामा इजरायलप्रति अमरताको सन्देश पाइन्छ। स्वच्छन्दतावादी लेखनबाट रहस्यवाद हुँदै बौद्धिक अमूर्त काव्यलेखनतर्फ यात्रारत नेलीको जन्म सन् १८९१ डिसेम्बर १० मा बर्लिनमा र मृत्यु सन् १९७० मे १२ मा स्टकहोममा भएको थियो।

नाडिन गोर्डिमर : रंगभेदी नीतिको विपक्षी

नोबेल कमिटिका अनुसार अल्फ्रेड नोबेलका शब्दमा सानदार लेखनका माध्यमबाट मानवताका लागि बढी लाभ पुर्‍याएकाले नै नाडिन गोर्डिमरलाई नोबेल पुरस्कार प्रदान गरिएको हो। सन् १९२३ नोभेम्बर २० मा दक्षिण अफ्रिकाको ट्रान्सभालमा जन्मिएकी उनको सन् १९४९ मा ‘फेस टु फेस’ कथासंग्रह प्रकाशित भएको थियो। उनका कथा र उपन्यासमा सूक्ष्म रूपमा नारीवर्गको चित्रण गरिएको पाइन्छ। मानवतावादी, समतावादी, रंगभेदी नीतिको विरोधी, उदारवादी वैचारिक दृष्टिकोण उनका विशेषता हुन्। काला जातिका मानिसले भोग्नु परेका अन्याय, अत्याचारलाई मूल विषय बनाएर उनले कृति रचना गरेको पाइन्छ। मूलत: गोराजातिको अहंवादी प्रवृत्तिको विरोध गर्ने उनी नारीवर्गको विविध पक्षको चित्रण गर्ने साहित्यकार हुन्। उनको मृत्यु सन् २०१४ जुलाई १३ मा भएको थियो।

टोनी मोरिसन : बहुल नारीपात्र प्रयोगकर्ता

दूरदर्शी सोच र काव्यात्मक महŒवको उपन्यासमा अमेरिकी वास्तविकताको रहस्य जीवन्तरूपमा प्रस्तुत गरेकाले टोनी मोरिसनलाई सन् १९९३ मा नोबेल पुरस्कार प्रदान गरिएको थियो। अमेरिकाको ओहिओमा सन् १९३१ फेब्रुअरी १८ मा जन्मेकी टोनीको सन् १९७० मा पहिलो उपन्यास ‘द ब्लुएस्ट आई’ प्रकाशित भएको थियो। सन् १९८८ मा उनको उपन्यास ‘बिलभेड’ले पुलित्जर पुरस्कार पनि प्राप्त गर्‍यो। अमेरिकी जनजीवनको वास्तविकतालाई उजागर गरेर काव्यिक शैलीमा उपन्यास लेखेका कारण सन् १९९३ मा उनलाई नोबेल पुरस्कार प्रदान गरियो। सन् १९७७ मा प्रकाशित ‘सङ्ग अफ सोलोमन’लाई उनको महŒवपूर्ण र चर्चित उपन्यासका रूपमा लिइन्छ। नारीवादी लेखिकाका रूपमा चिनिएकी टोनीका रचनामा श्वेत र अश्वेत नारी पात्रका सजीव चित्रणका साथै अश्वेत जीवनको सूक्ष्मरूपमा विश्लेषण गरिएको पाइन्छ। यिनका रचनामा उत्तरऔपनिवेशिकताका साथै उत्तरआधुनिकतावादी प्रवृत्ति पनि पाइन्छ। बहुल नारीपात्रयुक्त उपन्यासको सिर्जना गरी नारी पात्रमा सामाजिक रीतिस्थितिका विरुद्ध आवाज उठाउँछिन् उनी। यसरी उपन्यास सिर्जना गर्ने उपन्यासकारका रूपमा टोनी मोरिसनलाई लिइन्छ।

विस्लावा जिम्बोस्र्का : कविताकी मोजार्ट

​​​​​​​विडम्बनापूर्ण ऐतिहासिक एवं जैविक सन्दर्भलाई मानवीय यथार्थमाथि प्रकाश पार्न सफल कविताका लागि विस्लावा जिम्बोस्र्कालाई पुरस्कृत गरिएको थियो। पश्चिम पोल्यान्डको कोर्निकमा सन् १९२३ जुलाई २ मा जन्मिएकी उनले सन् १९९६ मा साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गरेकी थिइन्। सन् १९६७ मा प्रथम कृतिका रूपमा ‘स्टो पोसिच’ नामक कविता संग्रह प्रकाशित भएको थियो। 

मानवीय सत्यको आलोकमा इतिहास र जीवनजगत्लाई आफ्ना कवितामा चित्रण गरेबापत जिम्बोस्र्कालाई सन् १९९६ को नोबेल पुरस्कार प्रदान गरिएको थियो। यिनका कवितामा संगीतको लयात्मकता पाइने भएका कारण पनि यिनलाई कविताकी मोजार्ट भनिन्छ। विस्लावाका कवितामा कलात्मक सौन्दर्य र जीवनका शाश्वत चिन्तनको उल्लेख भएको पाइन्छ। ‘मेरा कविता मान्छे उसको जीवनसँग सम्बन्ध राख्छन्’ भन्ने धारणा राख्ने विस्लावाको जीवन राजनीतिबाट भिन्न नभए पनि कलासाहित्य यसबाट पृथक् हुन्छ भन्ने मान्यता उनमा पाइन्छ। यिनका अधिकांश गीतिकविताहरूमा प्रणयको अभिव्यञ्जना पाइन्छ। यिनको मृत्यु सन् २०१२ फेब्रुवरी १ मा भएको हो।

एल्फ्रिड येलिनेक : परपीडात्मक मनोरोगलाई सजीव रूपमा उतार्ने स्रष्टा

असाधारण भाषामा उत्साहका साथ समाजमा विद्यमान रुढिवादी र त्यसको अधिनतापूर्ण शक्तिलाई मूर्खताको उजागर गरी उपन्यास र नाटकमा आफ्नो आवाजलाई संगीतमय प्रवाहका रूपमा प्रस्तुत गरेबापत एल्फ्रिड येलिनेकले सन् २००४ मा साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गरेकी हुन्। सन् १९४६ अक्टोबर २० मा अस्ट्रियाको स्टेरियामा जन्मिएकी येलिनेकको सन् १९६७ मा लिसास स्याडो नामक कविता कृतिबाट साहित्य यात्रा सुरु भएको हो। नारीवादी लेखिकाका रूपमा चिनिएकी येलिनेकका रचनामा क्रूर नाजी अत्याचार, बर्बरताको विरोध पाइन्छ। दोस्रो विश्वयुद्धोपरान्त हुर्केको युरोपेली नवपुस्ताको आपराधिक, परपीडात्मक मनोरोगलाई आफ्ना कृतिमा सजीव रूपमा चित्रण गर्छिन् उनी। वर्गीय समाजको शक्ति निर्माण र सन्तुलनमा यौनको उपस्थिति उनका कृतिहरूमा उल्लेख छन्।

डोरिस लेसिङ : ८८ वर्षमा नोबेल पुरस्कार

सन्देहवाद, अग्नि एवं दूरदर्शी शक्तिका साथ एक विभाजित सभ्यतालाई समीक्षाको दायरामा राख्दै महिला अनुभवयुक्त महाकाव्यका लागि सन् २००७ को साहित्यमा नोबेल पुरस्कार डोरिस लेसिङलाई प्रदान गरिएको थियो। उनको जन्म १९१९ अक्टुबर २२ मा इरानमा भएको थियो भने उनको मृत्यु २०१३ नोभेम्बर १७ मा लन्डनमा भयो। महिला राजनीति र अफ्रिकामा बिताएको यौवनकाल नै उनको लेखनका मुख्य विषय बने। सबैभन्दा बढी उमेरमा अर्थात् ८८ वर्षको उमेरमा नोबेल पुरस्कार पाउने महिलाका रूपमा उनलाई चिनिन्छ। उनको पहिलो उपन्यास ‘द सिंगिंङ ग्रास’ (१९४९) हो। उनका अधिकांश रचनामा बचपनका स्मृतिलाई समेटिएको पाइन्छ। सांस्कृतिक टकराव, वर्णभेद, आत्मद्रोह, आत्मद्वन्द्व यिनका साहित्यमा पाइने विशेषता हुन्। यिनका कथा, उपन्यास, कविता, नाटक आदि विधाका कृति प्रकाशित छन्। सन् १९५४ देखि २००५ सम्म देशविदेशबाट सम्मान प्राप्त गर्न सफल डोरिसको ‘द क्लेफ्ट’ अन्तिम उपन्यास हो, जसमा समुद्रको किनारामा रहने स्त्री समुदायको विषय छ।

हर्ता मूलर : वञ्चितका परिदृश्य उतार्ने कथाकार

कविताको सघनता एवं गद्यको माध्यमबाट वञ्चितहरूका परिदृश्यको चित्रित गरेकाले जर्मन लेखिका हर्ता मूलरलाई सन् २००९ को नोबेल पुरस्कार प्रदान गरिएको हो। उनका कथामा जीवनको मार्मिक क्षणको चित्रण तथा अभिव्यक्ति पाइन्छ। उनको जन्म सन् १९५३ अगस्ट १७ मा रोमानियामा भयो। मूलरका पुस्तक विश्वका २० भन्दा बढी भाषामा अनुवाद भएका छन्। उनको प्रथम कृति सन् १९८९ मा ‘ट्राभलिङ अन वान लेग’ जुन जर्मनी भाषामा लेखिएको थियो। मूलरका कथाबाहेक निबन्ध र कविता पनि प्रकाशित छन्।

एलिस मुनरो : समकालीन लघुकथाकी महारानी

समकालीन लघुकथाकी महारानीका रूपमा एलिस मुनरोलाई लिइन्छ। उनको लेखनशैलीमा संवेदनशीलता र सूक्ष्मता भेटिन्छ। उनी प्राय: महिलाका अनुभव, परिवार र सामाजिक वास्तविकताबारे लेख्छिन्। उनका कथा प्राय: समयको चक्रमा आधारित हुन्छन् र व्यक्तिको भावनात्मक जीवनलाई उजागर गर्छन्। मूनरोको कामले विश्वभर मान्यता प्राप्त गरेको छ। क्यानडाको गोर्डन बर्नार्ड र बुकर पुरस्कार पनि उनले हात पारिन्। एलिसलाई समकालीन क्यानडेली साहित्यको एक प्रमुख आवाज मानिन्छ। सन् २०१३ मा ‘मास्टर अफ द कन्टेपररी स्टोरी’का लागि साहित्यमा नोबेल पुरस्कार प्रदान गरिएको नोबेल कमिटीले जनाएको थियो। उनले सन् २००९ मा म्यान बुकर पुरस्कार पनि प्राप्त गरेकी थिइन्। उनका लघुकथाले पाठकलाई गहिरो सोचमा डुबाउने र मानवीय अनुभवका जटिलताहरूलाई उजागर गर्ने काम गर्छ। उनको जन्म १९३१ जुलाई १० मा क्यानडामा भएको थियो। सन् २०१३ मा साहित्यमा नोबेल पुरस्कार पाएकी मुनरोको प्रथम कृतिका रूपमा कथा संग्रह ‘डान्स अफ द ह्याप्पी सेड्स’ (१९६८) प्रकाशित भयो।

स्वेत्लाना अलेक्सिएविच : पीडा र साहसको संगम

स्वेत्लाना अलेक्सिएविचको तत्कालीन समयमा पीडा र साहसको स्मारकका रूपमा स्पष्ट र सटिक लेखनका लागि नोबेल पुरस्कार प्रदान गरिएको हो। जन्म सन् १९४८ मे ३१ बेलारुसमा भएको थियो। सन् २०१५ को नोेबेल साहित्य पुरस्कार प्राप्त गर्ने उनी बेलारुसकी प्रथम महिला हुन्। उनी युक्रेनको स्टेनिस्लेव सहरमा जन्मिएकी हुन्। कृतिहरूमा उनले विभिन्न मानव अनुभवहरूलाई साक्षात्कार गरेकी छन्। उनका लेखनमा युद्ध, मानवीय पीडा र ऐतिहासिक घटनाहरूको गहिरो विश्लेषण पाइन्छ। उनले साक्षात्कारका माध्यमबाट व्यक्तिको कथा र अनुभवलाई प्रस्तुत गर्दै पाठकलाई भावनात्मक रूपमा छुने प्रयास गर्छिन्। स्वेत्लानाका कृतिहरू विश्वभरि अनुवादित छन्। उनको कामले पूर्वीय युरोपको सामाजिक र राजनीतिक परिप्रेक्ष्यलाई उजागर गरेको छ।

ओल्गा नाओजा टोकारजुक : कथात्मक कल्पनाकी धनी

विश्वव्यापी उन्मादको साथ जीवनको रूपमा सीमा पार गर्न प्रतिनिधित्व गर्ने कथात्मक कल्पनाका लागि नोबेल पुरस्कार प्रदान गरिएको थियो। सन् १९६२ जनवरी २९ मा पोल्यान्डमा जन्मिएकी ओल्गाले सन् २०१८ का लागि साहित्यमा नोबेल पुरस्कार प्राप्त गरेकी हुन्। उनी उपन्यासकार, नियात्राकार तथा कवयित्री हुन्। ओल्गाको लेखनशैली गहिरो, जटिल र बहुआयामिक छ। उनका कृतिहरूमा मानवता, पहिचान, यात्रा र सांस्कृतिक विविधताका विषय अन्वेषण हुन्छन्। उनी प्राय: समय, स्थान र मानवीय अनुभवका जटिलताहरूलाई जोड्ने कथा र विचार प्रस्तुत गर्छिन्। ओल्गा समकालीन पोलिस साहित्यको एक प्रमुख आवाज मानिन्छिन्। उनका लेखनले पाठकलाई सोच्न र अनुभव गर्न प्रेरित गर्ने क्षमता राख्छ। मानवता र सांस्कृतिक पहिचानका विषयमा गहिरो विचार प्रस्तुत गर्दै उनले विश्व साहित्यमा महŒवपूर्ण योगदान पुर्‍याएको छ। सन् २०१८ मा म्यान बुकर पुरस्कारसमेत उनले प्राप्त गरिन्।

लुइसा ग्लुक : मिथक र व्यक्तिगत अनुभव जोड्दै

सरल सौन्दर्यका साथ व्यक्तिगत अस्तित्वको सार्वभौमिक रूपमा काव्यात्मक तवरले प्रस्तुत गरेकाले सन् २०२० को नोबेल पुरस्कार लुइसलाई प्रदान गरिएको हो। उनको जन्म सन् १९४३ अप्रिल २२ मा अमेरिकाको न्युयोर्कमा भएको थियो। कवयित्री एवं निबन्धकार उनले पुलित्जर पुरस्कारसमेत प्राप्त गरेकी छिन्। ‘द वाइल्ड आइरिस’ (१९९२) कृतिका लागि उनले नोबेल साहित्य पुरस्कार प्राप्त गरेकी हुन्। ग्लुकको लेखनशैली साधारण, स्पष्ट र गहन भावनात्मक छ। उनका कवितामा प्रेम, परिवार, जीवनका चक्र र अस्तित्वका जटिलताहरूलाई उजागर गरिएको छ। उनले प्राय: मिथक र व्यक्तिगत अनुभवलाई जोड्ने काम गर्छिन्। ग्लुक समकालीन अमेरिकी साहित्यकी आवाज मानिन्छिन्। यिनको मृत्यु सन् २०२३ अक्टोबर १३ मा भएको थियो।

एनी अर्नोक्स : आत्मकथाकी धनी

एनी अर्नोक्सको जन्म सन् १९४० सेप्टेम्बर १ मा भएको थियो। सन् २०२२ को नोबेल पुरस्कार प्राप्त गर्ने उनको साहित्यिक लेखन आत्मकथा हो। जसले समाजशास्त्रसँग घनिष्ठ सम्बन्ध राखेको पाइन्छ। साहस एवं नैदानिक तीक्ष्णताका लागि उनलाई नोबेल पुरस्कार दिइएको थियो। जसले व्यक्तिगत स्मृतिको जड, व्यवस्था र सामूहिक प्रतिबन्धको उजागर गर्छ। एनी नोबेल पुरस्कार प्राप्त गर्ने प्रथम फ्रान्सेली महिला हुन्। उनी साहित्यमा नोबेल पुरस्कार प्राप्त गर्नेमा १७औं क्रममा पर्छिन्। उनका ‘क्लिन आउट’ (१९७४), ‘ला प्लेस’ (१९८३), ‘अ म्यान्स प्लेस’ (१९८४), ‘अ ओमन्स स्टोरी’ (१९८८) आदि कृति छन्। उनलाई बिर्सिएका महिलाका स्वतन्त्रताका आवाजका रूपमा लिइन्छ।

हान काङ : यथार्थवादी साहित्यकार

ऐतिहासिक आघातहरूको सामना गर्ने र मानव जीवनको कमजोरीलाई उजागर गर्ने तीव्र काव्यात्मक गद्यका लागि २०२४ को नोबेल पुरस्कार हान काङलाई प्रदान गरिएको छ। उनी नोबेल साहित्य पुरस्कार प्राप्त गर्ने १८औं नारी स्रष्टा र पहिलो एसियाली महिला पनि हुन्। ५३ वर्षीया हान ‘म्यान बुकर इन्टरनेसनल पुरस्कार’ विजेतासमेत हुन्। हानको २००७ मा प्रकाशित उपन्यास ‘द भेजिटेरियन’ले उक्त पुरस्कार जितेको थियो। हानका कवितामा कोमल र निर्मम दुवै भाव पाइन्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.