उदायो ‘पद्म ज्योति ग्रुप’
काठमाडौं : करिब १००औं वर्षको इतिहास बोकेको ४ पुस्ताले हाँकिसकेको व्यावसायिक घराना ‘ज्योति समूह’ विधिवतरूपमा पद्म ज्योति समूहमा रूपान्तरण भएको छ। आइतबार राजधानीमा भव्य समारोह गर्दै ‘पद्म ज्योति ग्रुप’का अध्यक्ष पद्म ज्योतिले विकास र सिर्जनशीलताको नयाँ यात्राको सुरुवात भएको घोषणा गरे।
धेरै बाधा र चुनौतीहरू पार गरे पनि यस समूह आफ्नो उत्कृष्टताको विरासतमा प्रतिबद्ध रहँदै निरन्तर अघि बढेको उनको भनाइ छ। यसअघि ज्योति समूहका अध्यक्ष पद्म ज्योति, उपाध्यक्ष डा. रूप ज्योति रहेकोमा अहिले पद्म ज्योतिले नयाँ समूह गठन गरेका हुन्। पद्म ज्योति निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत हुन्। समूहको घोषणा गर्दै अध्यक्ष ज्योतिले आफ्नो पहिचानलाई पद्म ज्योति ग्रुपको नयाँ उत्पत्ति गरेसँगै एउटा चर्चित विरासतको नयाँ अध्याय सुरुवात गरेको बताए।
‘एक शताब्दीभन्दा लामो समयदेखि ज्योति ग्रुपको मार्गदर्शक सिद्धान्तका रूपमा जीवित रहेको आस्था, नवीनता र उत्कृष्टतालाई यथावत राखी यो नवीन सुरुवातले व्यवसायलाई अग्रगति दिनेतर्फ नयाँ बाटो कोरेको छ,’ उनले भने ‘केही समयदेखि ज्योति परिवार पारिवारिक कम्पनीहरूको पुनर्संरचना र विभाजनको कठिन क्षणबाट गुज्रिरहेको धेरैलाई थाहा नै छ। पारिवारिक विवाद भनेको नेपाली समाजमा मात्र नभइ संसारभरी हुने एक तथ्य हो।
सन् १९२० मा भाजुरत्न र छोरा मणिहर्ष ज्योतिले स्यामुकापुको स्थापना गरेसँगै ज्योति समूहको इतिहास सुरु भएको थियो। दशकौं लामो इतिहासमा ज्योति ग्रुपले व्यापार व्यवसायका महत्वपूर्ण क्षेत्रहरूमा आफूलाई विस्तार गरी नेपालको औद्योगिक तथा आर्थिक परिदृश्यमा अग्रपंक्तिमा रहन सफल भएको छ। ज्योति ग्रुपले आफ्नो इतिहासकालमा व्यावसायिक तथा सामाजिक महत्वका अनेकौं उल्लेखनीय उपलब्धिहरू हासिल गर्न सफल भएको अध्यक्ष ज्योतिले बताए।
सन् १९६१ मा नेपालको पहिलो फलाम कारखाना हिमाल आइरनको स्थापना गर्नु, सन् १९६५ मा नेपालभरका किसान र उद्योगहरूलाई एउटै छानामुनि वस्तु बिक्री तथा सेवा उपलब्ध गराउन अग्रगामी रहेको भाजुरत्न इन्जिनियरिङ एण्ड सेल्सको थालनी गर्नु, सन् १९६८ मा नेपालको पहिलो सिमेन्ट कारखाना हिमाल सिमेन्टको सुरुवात गर्नु, नेपालको पहिलो अक्सिजन उद्योग हिमाल अक्सिजन, पहिलो फलामे तार उद्योग हिमाल वायर्स स्थापना गर्नु, नेपाली आम जनतालाई सहज यात्राको स्वतन्त्रता दिने उद्देश्यले सन् १९६८ मा होन्डा र पछि हिरो कम्पनीका मोटरसाइकलको आपूर्तिको सुरुवात गर्नु आदिलाई यसको प्रमुख उदाहरणका रूपमा लिन सकिन्छ। ‘त्यतिमात्र नभई नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडबाट कर्जा लिने पहिलो ग्राहक बनी हाम्रा संस्थापक भाजुरत्नले बैकिङ कर्जा भनेको व्यवसायीहरूका लागि आधुनिक युगमा एउटा स्रोत हुने देखाएका थिए,’ अध्यक्ष ज्योतिले भने।
हाम्रा चेयरम्यान एमेरिटसले भर्खरै व्याख्या गरे अनुसार हाम्रो र काकाको परिवारबीच केही समस्याहरू आएको स्विकार गर्दै उनले भने, ‘भन्छन् नि– पुस्तकमा धेरै अध्याय हुन्छन्। एउटा नराम्रो अध्यायले गर्दा किताबको अन्त्य हुँदैन। आज हामी एउटा नयाँ अध्याय सुरू गर्ने चरणमा छौं। नयाँ पद्म ज्योति ग्रुप यो इभोलुसनको प्रक्रिया हो।’ उनले समय बदलिएसँगै बदलिन जरूरी भएको औंल्याउँदै थपे, ‘विजनेसमा पनि कोडक, कम्प्याक कम्प्युटरर्स एनरोन, ब्लकबस्टर बन्द भए। टेकनोलोजीमा, फ्याक्स मेसिन, पेजर, टेलिग्राम अब छैनन्।’ यो उदाहरणहरूको पाठ सिकेर हामी समय सापेक्ष आफूलाई र ज्योति समूहलाई परिवर्तनतर्फ लगिराखेका उनको भनाइ छ। यसैक्रममा उनले हजुरबुवा मणिहर्ष ज्योतिषँग बिताएको बाल्यकाल सझिएर भावुक हुँदै भने, ‘हजुरबुवाबाट मैले धेरै सिकेको छु। यहाँले हाम्रो परवानिपुरको ज्योति फार्ममा राम्रो पिच बाटो भएता पनि जहिले पनि खेतको बाटो हुँदै फ्याक्ट्रीतिर लानु भएको थियो। राम्रो बाटो नलगी खेतबाट जहिले किन लगेको भनेर सोधेँ, उहाँले भन्नुहुन्थ्यो –पिचबाटो हिँड्न सजिलो होला, तर त्यहाँ फूलहरू भेटिँदैनन्। खेतको बाटोमा खाल्डा खुल्डी छन्। चुनौतीपूर्ण छ। तर चुनौतीले नै अवसर प्रदान गर्छन्। हाम्रो परिवार छुट्न जाँदा हामीलाई धेरै दुःख र पीडा भयो।’
त्यसैबाट पाठ सिकेर ती चुनौतीहरूलाई अवसरका रूपमा परिणत गरेर व्यवसायलाई विकास र विस्तार गरेर अगाडि बढेको उनको भनाइ छ।