काठमाडौं : कसैले तपाईंको इगो हर्ट (मन दुखायो) गर्यो भने के गर्नुहुन्छ ? सायद, सबैजनाले ‘टिट फर ट्याट’ जस्तो आफूलाई गरेको छ त्यस्तै गर्छु अथवा ‘बैगुनीलाई गुनले मार्नुपर्छ’ भन्ने सोच्नुभएको होला। तर, काठमाडौंंकी श्रीयाले आफ्नो इगो हर्ट गर्नेहरूलाई ‘टिट फर ट्याट’ गरिनन्। बरु, उल्टै सुरु गरिन् खुसीका यात्राहरू अर्थात् ‘ह्याप्पी माइन्ड्स’।
कसरी सुरु भयो ‘ह्याप्पी माइन्ड्स’ ?
सन् २०२०। त्यतिबेला संसारमा कोभिड–१९ भाइरसले मानिसको जीवनमा उथलपुथल ल्याएको थियो। हरेक दिन कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या बढिरहेको थियो। संसारभरका अधिकांश मानिस घरभित्र थुनिन बाध्य थिए। श्रीया काठमाडौंंबाट अध्ययनका लागि लन्डन पुगेकी थिइन्।
त्यहाँँ उनका आफ्ना कोही थिएनन्। भए पनि आफ्नोपन थिएन। उनी स्नातकोत्तर तहको अध्ययन गरिरहेकी थिइन्, काम गर्ने तय हुँदै थियो। तर, कोरोना महामारीका कारण सबै कुरा ठप्प भयो। उनी सबै कुरा छोडेर बन्द कोठामा सीमित भइन्। यसले उनको जीवनशैली फेरियो। उनी
एउटै कुरा सोचिरहन्थिन्– ‘जीवनमा यस्तो पनि क्षण कसरी आयो ?’
श्रीयाको परिवारका सबै सदस्य काठमाडौंमा थिए। यस्तो महामारीमा परिवारको साथमा नपाउनु उनका लागि सबैभन्दा ठूलो पीडा बन्यो। उनमा मानसिक समस्या देखिन थाल्यो। उनको स्वास्थ्य खराब भयो। उनी आफूलाई के भएको हो, उपचारको खोजीमा लागिन्। तर, बाहिरी संसार पूरै कोरोनाले शिथिल थियो। उनलाई आफ्नो उपाचार गर्नु थियो। तर, कसरी? उनले धेरै ठाउँमा खोजी गरिन् तर, जानकारी प्राप्त भएन।
अन्ततः ८–१० दिनपछि उनले डिजिटल माध्यमबाट उपचार गर्ने ठाउँ पत्ता लगाइन्। र, उनी अनलाइनबाटै नियमित थेरापिस्टसँग परामर्श गरेर उनले स्वास्थ्य लाभ गरिन्। सन् २०२१ तिर कोरोना महामारी कम हुँदै गयो। उनी नेपाल आइन्। नेपाल आएपछि उनलाई लन्डन फर्किन मन लागेन। नेपालमा के गर्ने ? उनीसँग आइडिया पनि थिएन। त्यसमाथि कोरोनाले शिथिल बनाएको समय। सबै आ–आफ्नै समस्यासँग जुधिरहेका थिए। कसैलाई मानसिक समस्या त कसैलाई आर्थिक। श्रीयाले वास्तविकता नियालिन्। प्रायः सबैजना मानिसक समस्याले गाँजिएका थिए। सोचिन्, मलाई लन्डनमा परेको जस्तो समस्या यहाँका मानिसमा कति धेरै छ ? उनीहरू कसरी उपचार गर्दा हुन् ? त्यही पनि नेपालमा यस्तो कुरालाई सहज रूपमा ग्रहण गरिँदैन। त्यसपछि त्यस्तै समस्या समाधनका लागि काम गर्छु भनेर उनी अगाडि सरिन्। त्यसपछि जन्मियो, ह्याप्पी माइन्डस् डट हेल्थ। जहाँबाट उनले सुरु गरिन्, खुसीका यात्रा।
आफू स्वंयम् औषधिको मार्केटिङबारे जानकार उनले जब कोरोनाकालमा मानिसहरू औषधिका लागि लडेको देखिन्, खानेकुराका लागि बाझेको देखिन्, उनलाई त्यसै कुराले गाँज्दै लाग्यो। उनले भनिन्, ‘म भावुक एवं संवेदनशील स्वभावकी मान्छे। अरूलाई पर्दा मलाई आत्मादेखि दुख्छ। ‘जसरी मलाई गार्हो हुँदा मैले साइक्याट्रिक पाइनँ। आफूलाई जे लण्डनमा बस्दा भयो त्यो अरूलाई नहोस् भन्नका लागि ह्याप्पी माइन्ड्स सुरु गरेँ।’
के हो ‘ह्याप्पी माइन्ड्स’ ? कसरी काम गर्छ ?
आफू मानसिक स्वास्थ्यको जटिल अवस्थामा हुँदा सहयोग माग्दा नपाएको ‘इगो हर्ट’ को परिणाम हो, ह्याप्पी माइन्ड्स। यो एउटा मेन्टल हेल्थ र वेलबिइङ प्लेटफर्म हो। यसले मानसिक स्वास्थ्यलाई डिजिटलसँग जोडेर अघि बढिरहेको छ। र विविध ढंगले मानसिक स्वास्थ्य सेवा र उपचारमा फ्रन्टलाइनर बनेर उभिने प्रयत्न गरिरहेको छ। यसले मानिसलाई अनलाइन माध्यमबाट परामर्श दिने र उपचार गर्ने गर्छ। र डिजिटल माध्यमबाटै मानिसहरूलाई ‘अवेयरनेस’ गर्ने तथा अवस्था हेरेर मानसिक हेल्थ डाक्टर (थेरापिष्ट)सँग सम्पर्क गराएर उपचार गराउने काम गर्छ।
संस्थाको साढे तीन वर्षको दौरानमा अहिले संस्थाले पब्लिकका लागि ‘द प्रोजेक्ट ह्याप्पिनेस’ सुरु गरेको छ। यसभित्र माइन्डफुल पेरेन्टिङ, इमोसनल म्यानेजमेन्ट, स्ट्रेस म्यानेजमेन्ट, साइबर बुलिङलगायतका विषय पर्छन्। अर्को कुरा माइग्रेन्ट वर्कर (वैदेशिक रोजगारमा गएकाहरू) का लागि मेन्टल हेल्थ केयर सपोर्टमा काम अगाडि बढाइरहेको छ। र दिगो विकासका १७ वटा लक्ष्यमध्ये ३, ४ र १७ मा काम गरिरहेको छ। सोही कारण श्रीया फोब्र्सको ३० वर्षमुनिका प्रभावशाली व्यक्तिको सूची ‘३० अन्डर, ३० एशिया’ मा पर्न सफल बनिन्।
सुरुवाती दिनमा फ्रिल्यान्सर गरिरहेकी श्रीयासँग जब धेरै मानिसहरू जोडिए, उनले यसलाई कम्पनी बनाएर अघि बढाउने सोचिन्। ‘कम्पनी सुरुवातको चरणमा थियो, हामीसँग धेरै मिडिया थिएनन्। जब ह्याप्पी माइन्डस नेपाली डायस्पोराका लागि, नेपालीहरूका लागि भनेर समाचार प्रकाशित भयो, ४८ घण्टामा नै ८ सयभन्दा बढी आएका प्रश्नहरूले हाम्रो वेवसाइट नै डाउन भयो। यसरी कम्पनीमा अरू मानिसहरू हायर नै गराउनुपर्ने स्थिति सिर्जना भयो’, उनले भनिन्। म्यानेजमेन्टकै विद्यार्थी भएर श्रीयालाई कम्पनी व्यवस्थापन र ब्रान्डिङका बारेमा राम्रो ज्ञान र जानकारी जानकारी छ। उनलाई सजिलो र राम्रो नाम राख्नु थियो। उनले अरू नाम नसोचेकी पनि होइनन्, तर अरू नाम उनलाई राम्रो लागेन। अन्तिममा ‘ह्याप्पी माइन्ड्स’ नाम जुर्यो। मानसिक स्वास्थ्यसँग हाम्रो समाजमा रहेको अन्धविश्वास र भ्रमका कारण मेन्टल हेल्थ उल्लेख नगरी यसै बारेमा काम गर्ने संस्था बनाउनु थियो मलाई श्रीया भन्छिन्, ‘पोजेटिभ थिम दिने नाम खोज्दै जाँदा ह्याप्पी माइन्ड्स नाम फुरेको हो।’
नेपालमा यस्तो समस्या धेरै मानिसमा देखिने तर मानिसहरू उपचार पद्धतिमा संकुचित धारणा राख्ने गरेका कारण मानिसमा गम्भीर समस्या उत्पन्न हुने गरेको उनी बताउँछिन्। शारीरिक रोगको उपचार गर्न जति आवश्यक छ, मानिसक रोगको उपचार त्योभन्दा बढी रहेको उनी बताउँछिन्। सुरुमा त हामीलाई धेरैले विश्वास नै गर्नुभएन। के हो ? कस्तो हो ? पैसा किन तिर्ने ? त्यही पनि अनलाइनबाट भन्नु हुन्थ्यो धेरैले ?,’
श्रीयाले भनिन्, ‘विस्तारै ठूला–ठूला ब्रान्डसँग काम गरियो, त्यसपछि राम्रो हुँदै गयो। अहिले धेरैले विश्वास गर्नुहुन्छ उनी भन्छिन्।
संस्थामा हाल क्लिनिक साइकोलोजिस्टदेखि लिएर टोक्नोलोजिस्ट र नन क्लिनिकमा काउन्सिलर साइकोलोजिस्ट रहेको र क्लाइन्टको आवश्यकता अनुसार कम्पनीले सेवा उपलब्ध गराउने उनको भनाइ छ। ‘फरक–फरक ब्याकग्राउन्ड भएका काउन्सिलर साइकोलोजिस्ट, क्लिनिक साइकोलोजिस्ट, सोसियल काउन्सिलर लगायत धेरै प्रकारका थेरापिस्टहरू छन्। जो जहाँ बसेर कुरा गर्न आउनुभयो भने पनि हामी उहाँहरूको मानसिक स्वास्थ्यलाई ख्याल गरिहरका हुन्छौं,’ उनले भनिन्।
बढ्दै गएको बेरोजगार, असमानता तथा विभिन्न काराणले नेपालीहरूको मानसिक अवस्था दिनप्रतिदिन बिग्रँदै गएको श्रीयाको अनुभव छ। ‘ग्लोबल रूपमा बढ्दै गएको यो समस्या नेपालमा नहुने त झन् करा नै भएन त्यसमाथि हाम्रो जस्तो देश’ उनले भनिन्, ‘अशिक्षा, अज्ञान, बेरोजगारी तथा अन्य काराणले नेपालीहरूमा मानसिक समस्याले गाँज्दै लगेको छ। यो हाल अभिभावकहरूमा झन् बढ्दो छ। अभिभावकमा यस्ता समस्या भएकाले बच्चाहरूमा पनि मानसिक समस्या झनै बढ्दो छ। गर्भावस्था, विवाहेत्तर सम्बन्ध, समस्याग्रस्त वैवाहिक, मेनोपज, सम्बन्ध विच्छेदलगायतका कारण २० देखि ३५ वर्षसम्मका मानसिक समस्या भएका मानिसहरू बढी देखिएका छन्। जुन नेपालीहरूका लागि चुनौतीका रूपमा रहको छ।’
यस्तै श्रीया सरकारको तर्फबाट नै मानसिक स्वास्थ्यका लागि कुनै पहल नभएको र मानसिक स्वास्थ्य परिभाषा नै गलत बुझेकाले स्वास्थ्य बजेटको १ प्रतिशत रकम पनि मानसिक स्वास्थ्यका लागि खर्च नभएको बताउँछिन्। ‘नेपालीहरू मानिसक स्वास्थ्यबारे जानकार छैनन््। मानसिक समस्यालाई मानसिक बिरामी भन्छन्, जसरी शारीरिक स्वास्थ्य महत्वपूर्ण छ, त्यसैगरी मानसिक स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण छ। हामीले यसबारे पोलिसीमा प्रश्न गर्यौं भनेपनि त्यो सामाजिक समस्याका रूपमा देखाइन्छ। त्यसैले मानसिक समस्या दिनप्रतिदिन बढिरहको छ’, उनले भनिन्।
कसरी खुसी हुने ?
खुसी व्यक्तिमा भर पर्ने कुरा हो। जस्तो कि मलाई पैसाभन्दा पनि बढी आफूले चाहेको र आँटेको काम स्वतन्त्र भएर खुला रूपले गर्न पाउँदा खुसी मिल्छ। कसैलाई पद, प्रतिष्ठा, सम्मानले खुसी मिल्ला। खुसी भन्ने कुरा माइन्ड सेट र प्रस्पेक्टिभमा भर पर्छ। घरमा पनि खाना खाने बेलामा परिवार सँगै भएको बेलामा एकअर्कोले दिन कस्तो रह्यो भन्यो भने पनि धेरै इम्प्याक्ट पार्छ। अन्त कहीँ जानुपर्दैन खुसी हुन परिवारलाई नै एकपटक आइ लभ यु र आई मिस यु भन्नुस खुसी यही मिल्छ।
कत्तिको छ चुनौती ?
‘सायद विजनेश ब्याकग्राउन्ड परिवारको भएर होला, परिवारको साथले नै यहाँसम्म आइपुगेको हो। सुरुका दिनमा धेरै गर्हो थियो, न पोलिसी छ, पुग्ने थेरापिस्ट पनि छैनन् र क्लाइन्ट पनि आफैं ल्याउनुपर्ने हुँदा गार्हो छ। तर गर्छु भन्नेले मार्केटमा विश्वास दिलाउन सक्यो भने गर्न सक्छ। गर्छु भन्नेलाई कहिल्यै बजेटले रोक्दैन। तर, धेरै कुराले समस्या बनाएको हुन्छ। केटी मान्छे र कम उमेरको भएकाले पनि विश्वास गर्ने वातावरण भइसकेको छैन। मैले नै धेरै भनाइ खाएकी छु। केटी मान्छे भएर पागलखाना चलाउन लागेको जस्ता भनाइ कति सुनेँ कति ?’ उनले भनिन्।
यस्तै उनी सरकारका तर्फबाट करका कुराहरूमा पनि सहुलियत नभएको र स्टार्टअप फर मेन्टल हेल्थ, भनेर कुनै कुरामा सहज नभएको उनको गुनासो रहेको छ। यस्तै उनी स्टार्टअपमा आउन चाहनेहरूलाई, म यो ब्याकग्राउण्डको होइन र हार मान्न नहुने बताउँछिन् श्रीया। ‘म पनि यो ब्याकग्राउण्डको मान्छे होइन, तर मैले आफ्नो काम गरिहरहेकी छु। सायद मैले हार खाएको भए आज यहाँ ह्याप्पी माइन्ड्स हुने थिएन होला। त्यसैले पहिला नै हार खानुभन्दा सुरुवात गर्नुस्। काम गर्दै जानुस्, समयसँगै सबै राम्रो हुन्छ’, श्रीया भन्छिन्।