कोरियाका राष्ट्रपति युनले भ्रष्टाचार नियन्त्रण निकायसमक्ष उपस्थित हुन मानेनन्
सियोल : दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले देशको भ्रष्टाचार निगरानी निकायसमक्ष उपस्थित हुन अस्वीकार गरेका छन्। डिसेम्बर ३ मा सैनिक शासनको अल्पकालीन घोषणापछि संसदले उनलाई गत साता जिम्मेवारीबाट हटाएको थियो। राष्ट्रपतिको कदमले दक्षिण कोरियालाई दशकौंपछि सबैभन्दा खराब राजनीतिक संकटमा फसाएको छ।
भ्रष्टाचार अनुसन्धान कार्यालयका अनुसन्धानकर्ताहरूले उनलाई विद्रोह र शक्तिको दुरुपयोगको आरोपमा सोधपुछका लागि स्थानीय समयानुसार बुधबार बिहान १० बजे सियोलस्थित आफ्नो कार्यालयमा बोलाएका थिए। तर, उनी उपस्थित भएनन्।
योनहाप समाचार संस्थाका अनुसार युनको कानुनी टोलीले राष्ट्रपतिले अदालतमा मुद्दा लड्ने प्रतिबद्धता जनाएको छ। ‘हामीले अनुसन्धान प्रक्रियामा सघाउने कुरामा बिमति राखेका छैनौं, अनुसन्धानमा सघाउने छौं,’ युनको टोलीका सेओक डोङ–ह्योनलाई उद्धृत गर्दै समाचार एजेन्सी योन्हापले जनाएको छ।
भ्रष्टाचार अनुसन्धान कार्यालयले यसै साता युनलाई अनुसन्धानका लागि पठाएको पत्र राष्ट्रपति कार्यालयका एक व्यक्तिले बुझ्न अस्वीकार गरेपछि फिर्ता भएको थियो। अनुसन्धानकर्ताहरूले दोस्रो परिपत्रका लागि तयारी गरिरहेको बताएका छन्, तर भ्रष्टाचार अनुसन्धान कार्यालयका प्रमुख ओह डोङ–वुनले मंगलबार संसद्मा भने, ‘अधिकारीहरूले गिरफ्तारी वारेन्ट जारी गर्ने वा नगर्नेबारे पनि ‘छलफल’ गरिरहेका छन्।
युनमाथि दक्षिण कोरियाली अभियोजकका साथै प्रहरी, रक्षा मन्त्रालय र भ्रष्टाचार विरोधी अनुसन्धानकर्ताहरूको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ। यो आरोपमा राष्ट्रपति र उहाँका निकटका केही सदस्यहरू दोषी ठहरिएमा आजीवन कारावास वा मृत्युदण्डको समेत सामना गर्न सक्छन्।