सभ्य समाजको निर्माण

सभ्य समाजको निर्माण

मानिसहरूको समूहले सँगै मिलेर बस्नका लागि सिर्जना गरेको उपयुक्त वातावरण नै समाज हो। यो विभिन्न धर्म, सम्प्रदाय, जातजाति, भाषाभाषी, संस्कार र संस्कृतिका अनुयायीहरूको सामूहिक स्वरूप हो। यसको उचित व्यवस्थापनका लागि लिखित वा अलिखित नियमहरू बनाएका हुन्छन्। 

यसरी बनेका नियमहरू नै समाजका मूल्य मान्यता हुन्। यी मूल्यमान्यताहरू बनाउनुको मुख्य उद्देश्य व्यक्ति एवं समाजलाई सभ्य, शिष्ट एवं जिम्मेवार बनाउनु हो। यसको उचित पालना गर्दै अगाडि बढेको समाज मात्र सभ्य समाज बन्न सक्छ। सभ्य समाजले मुलुकको समृद्धिमा आधारशिला खडा गर्न सक्छ। तर, जब यी नियमहरू तोडिँदै जान्छन्। त्यसपछि समाज अराजक, अशिष्ट र अमर्यादित बन्दै जान्छ। यस्तो समाजले मुलुकलाई अधोगतितर्फ डोर्‍याउनेमा दुईमत छैन। पछिल्लो समय देशमा घटेका विभिन्न घटनाक्रमहरू हेर्दा समाजले सही बाटो समात्न नसकेको आभास दिन थालेको छ। यसमा सामान्य नागरिकदेखि मुलुकको नेतृत्व सम्हालेका व्यक्तिहरूसमेत उत्तिकै जिम्मेवार देखिएका छन्। मुलुकको विद्यमान अवस्थाले आम नागरिकहरूमा वितृष्णा र आक्रोश पैदा गरेको छ। यसको असर सडकदेखि सभा सम्मेलनहरूमा समेत देखिने गरेको छ। 

केही समय पहिले मुलुकका प्रधानमन्त्री उपस्थित एक समारोहमा अमर्यादित शब्दहरूको प्रयोग भएको सुनियो। विदेशी पाहुनाहरूसमेत सहभागी रहेका उक्त समारोहमा देशकै प्रधानमन्त्रीलाई लक्षित गरी गरिएको त्यो व्यवहार असहनीय देखिन्थ्यो। असन्तुष्टि र आक्रोश पोख्ने अन्य तरिकाहरू पनि छन्। यसैलाई बाहाना बनाएर समाजलाई अराजकतातर्फ डोर्‍याउन भने कदापि मिल्दैन। यस्ता क्रियाकलापबाट भावी पुस्ताले ग्रहण गर्ने पाठको ठूलो मूल्यसमेत चुकाउनु पर्ने हुनसक्छ। यो एउटा उदाहरण मात्र हो। यस्ता क्रियाकलापहरू दैनिकजसो बढ्दै गएका छन्।   

सभ्य समाज निर्माणमा सबैभन्दा महत्वपूर्ण भूमिका शिक्षा क्षेत्रले खेलेको हुन्छ। औपचारिक शिक्षा स्कुल, कलेज, वा विश्वविद्यालयमा सामेल गरेर प्राप्त गरिन्छ। तथापि अनौपचारिक शिक्षाको पहिलो स्रोत भने घरपरिवार तथा आफन्तजनलाई लिने गरिन्छ। एउटा बच्चा जन्मेपछि उसको पहिलो गुरु उसलाई जन्मदिने अभिभावक हुन्। आफ्नो आमा बुवाद्वारा प्रदान गरिएको ज्ञानको माध्यमबाट बच्चाले स्थापित सामाजिक र सांस्कृतिक मापदण्डहरूका बारेमा जान्न पाउँछ। यसैगरी परिवारका जेष्ठ सदस्यहरूबाट धर्म, संस्कृति, दर्शन, इतिहास एवं साहित्य शिक्षाको महत्वबारे बुझ्ने मौका प्राप्त गर्छ। यी विषयवस्तुहरू हेर्दा सामान्य देखिए पनि सभ्य समाज निर्माणमा भने महत्वपूर्ण भूमिका रहेको हुन्छ। 

राजनैतिक अस्थिरता मुलुकको विशेषता नै बनिसकेको छ। यो अस्थिरताले छिटोछिटो सरकार परिवर्तन भैरहँदा आर्थिक तथा सामाजिक विकासका परियोजनाले आवश्यक गति लिन सकेका छैनन्। अर्कोतर्फ, दिन प्रतिदिन भ्रष्टाचार तथा अनियमितताका घटनाहरू बढ्दै गएका देखिएका छन्। मुलुकका मन्त्रीहरू नै मानव तस्करीमा संलग्न भएका घटनाहरू बाहिर आएका छन्। 

यसले गर्दा राजनैतिक नेतृत्वमाथि नै आक्रोस पोख्न थालिएको छ। यो आक्रोश व्यक्त गर्ने सबैभन्दा सजिलो माध्यम सामाजिक सञ्जाल बनेको छ। तथापी, पछिल्लो समय यसको सदुपयोगभन्दा पनि दुरुपयोग बढी हुने गरेको देखिन्छ। कुनै कुराप्रति आफ्नो असन्तुष्टि व्यक्त गर्न पाउनु लोकतन्त्रको गहना हो। 

नेपालको संविधानको धारा १७ ले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ। तर, कसैको चरित्र हत्या गर्ने, गाली बेइज्जती गर्ने, सामाजिक एवं राजनैतिक सद्भाव खलल पुग्ने कुनै पनि अभिव्यक्तिले समाजलाई हित गर्ने देखिँदैन। यस्ता गतिविधिहरूले विभिन्न समुदायबीच द्वन्द्व निम्त्याउने सम्भावना देखिन्छ। 

समाजमा आर्थिक असमानताको खाडल दिनप्रतिदिन बढ्दै गएको देखिन्छ। समाज अहिले पनि हुने खाने र हुँदा खाने वर्गबीच गहिरो खाडल छ। विकासको लाभ सबै नागरिकले समान रूपमा लिन सकिरहेका छैनन्। यसले गर्दा समतामूलक समाज निर्माणमा बाधा पुर्‍याएको देखिन्छ। 

राज्यका स्रोतसाधनहरूमा सीमित वर्गको पहुँच, जातजाति, लिंग, धर्म तथा वर्गका आधारमा गरिने भेदभावले अवसरहरूको न्यायोचित वितरण हुन नसकेको गुनासो अझै मेटिएको छैन। मुलुकमा समतामूलक समाज निर्माणका प्रयास भने नभएको होइन। यसका लागि समावेशीकरण, सकारात्मक विभेद, समानुपातिक प्रतिनिधित्व, आरक्षण र कोटाका माध्यमबाट पहुँच, सशक्तिकरण र मूलप्रवाहीकरण गर्न प्रयत्न गरिएको देखिन्छ। तथापी, नेपाल जस्तो  विविधतायुक्त मुलुकमा यसको परिणाम देखिन समय लाग्ने देखिएको छ। समतामूलक समाज एक आदर्श समाज हो। यस्तो समाजमा शान्ति, सकारात्मक चिन्तन र आलोचनात्मक चेतनाको समुचित विकास हुने अपेक्षा गरिन्छ। यसैकारण सभ्य समाज निर्माणमा समतामूलक समाज अपरिहार्य देखिन्छ।    

पछिल्लो चरणमा संस्कार एवं संस्कृति मनाउँदा असाध्यै भड्िकलो, असहिष्णु, असामाजिक र निकै नै खर्चिलो ढंगले मनाउने भद्दा संस्कृतिको विकास हुन थालेको छ। सीमित आम्दानी हुनेले चाडपर्व नै मनाउन नसक्ने अवस्था हुँदै गएको देखिन्छ। यसले मानिसहरूलाई अनियमितता, गैरकानुनी क्रियाकलाप तथा भ्रष्ट आचरण तर्फ उन्मुख बनाएको पाइन्छ। 

एकातर्फ स्थापित कला संस्कृतिको गलत व्यख्या हुन थालेको छ भने अर्कातर्फ समाजलाई अनुशासनहिन बनाउन उत्प्रेरित गरेको देखिन्छ। यसको निरन्तरताले अहिलेको पुस्तालाई मात्र नभई भावी सन्ततिलाई समेत गलत सन्देश प्रवाह गर्ने धेरैको बुझाई छ। मुलुकमा समृद्ध नेपाल, सुखी नेपालीको नारा अगाडि सारिएको छ। यसको अर्थ देशलाई समृद्धिको बाटोतर्फ डोर्‍याउने संकल्प गरिएको बुझिन्छ। समृद्धि भन्ने बित्तिकै धेरैको बुझाई आर्थिक पक्षमा मात्र केन्द्रित देखिन्छ। मुलुकमा आर्थिक पूर्वाधारको विकास, औद्योगिकीकरण, रोजगारी सिर्जना, उत्पादन तथा आम्दानीको वृद्धिले मात्र समृद्धिको प्रत्याभूति हुने आम धारणा छ। यसमा सत्यता पनि छ । तथापी, समृद्धिलाई यति साँघुरो घेरामा मात्र बाध्न भने मिल्दैन। संसारमा यस्ता धेरै मुलुकहरू छन्। जहाँ आर्थिक पूर्वाधारको विकासका बाबजुद पनि त्यहाँका नागरिकहरूको जीवनस्तर उठ्न सकेको छैन। आफूहरू सुरक्षित भएको महसुस गर्न सकेका छैनन्। शान्ति सुरक्षाको प्रत्याभूति प्राप्त गर्न सकेका छैनन्। यसको मुख्य कारण त्यहाँको सामाजिक परिवेशलाई लिने गरिएको छ। तसर्थ, समृद्ध समाजबिना मुलुकको समृद्धि अधुरो देखिएको छ। 

 समृद्ध समाजको निर्माणमा मुलुकका अग्रज बौद्धिक व्यक्तित्वहरूको भूमिका महत्वपूर्ण देखिन्छ। समाजलाई सभ्य र मर्यादित बनाउन पछिल्लो समय हरेक क्षेत्रमा मौलाउँदै गएको बेथितिलाई तोड्दै अगाडि बढ्नुपर्ने आवश्यकता देखिएको छ। स्थापित धर्म, संस्कृति, संस्कार तथा रितिरिवाजहरूको मर्म, आवश्यकता र महत्वबारे समाजलाई सही तरिकाले सुसूचित गर्नुपर्ने देखिन्छ। यसरी नियम, कानुन र अनुशासनको दायरामा बसेको समाज नै सभ्य समाज बन्न सक्छ।  र यसबाट मात्रै समृद्ध मुलुकको आशा गर्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.