भारतीय राजदूतले गरे नेपाली कूटनीतिज्ञ तथा अधिकारीहरूसँग अन्तर्क्रिया
काठमाडौं : भारतीय विदेश मन्त्रालयको सुषमा स्वराज विदेश सेवा संस्थानमा प्रशिक्षण लिइएका २६ नेपाली कूटनीतिज्ञ तथा अधिकारीसँग भारतीय राजदूत नवीन श्रीवास्तवले अन्तर्क्रिया गरेका छन्। उनले भविष्यमा थप लक्षित र उपयोगी कोर्सहरूबारे योजना बनाउन भारतले कसरी सहयोग गर्न सक्छ भन्ने विषयमा उनीहरूसँग छलफल गरेका हुन्।
नेपाल सरकारका १० प्रमुख मन्त्रालय र विभागका २६ जना नेपाली कूटनीतिज्ञ तथा अधिकारी सम्मिलित प्रतिनिधिमण्लले मंसिर ५ देखि १५ गतेसम्म भारतको भ्रमण गरेको थियो।
परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शहरी विकास मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागका प्रतिनिधिहरू भारतको विशेष प्रशिक्षणमा सहभागी भएका थिए।
उक्त प्रशिक्षणले विश्वव्यापी भूराजनीतिक र भू-आर्थिक विषय, आर्थिक कूटनीति (व्यापार, प्रतिभा, पर्यटन, कनेक्टिभिटी, र विकास साझेदारी), भारत-नेपाल सम्बन्ध, हाम्रा साझा सांस्कृतिक सम्पदा, र डिजिटल पब्लिक इन्फास्ट्रक्चर र रेस्पोन्सिबल एआईसहित थुप्रै विषवस्तुलाई समेटेको भारतीय दूतावासले जनाएको छ।
उक्त कार्यक्रममा राष्ट्रपति भवन, दक्षिण-ग्लोबल साउथ सेन्टर अफ एक्सिलेन्स, भारतको राष्ट्रीय आपदा प्रबन्धन प्राधिकरण र प्रधानमन्त्री संग्रहालयको स्थलगत भ्रमण पनि समावेश थिए। प्रशिक्षण कार्यक्रममा वाराणसी, सारनाथ र अयोध्याको सांस्कृतिक र पर्यटकीय भ्रमणहरू पनि समावेश थिए। कार्यक्रमको समापनमा सहभागीहरूले भारतका विदेश सचिवसँग अन्तरक्रियासमेत गरेका थिए।
नेपाली कूटनीतिज्ञ तथा अधिकारीहरूका लागि पहिलो विशेष प्रशिक्षण कार्यक्रमले भारत र नेपालबीचको संस्थागत आदानप्रदानलाई सुदृढ गर्ने निरन्तर प्रतिबद्धतालाई झल्काउनुका साथै हाम्रो घनिष्ठ द्विपक्षीय सम्बन्धलाई दर्शाएको भारतीय दूतावासको भनाइ छ।