जीबीसहित १९ जनाविरुद्ध कास्की अदालतमा पूरक अभियोजन दर्ता
पोखरा : सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अध्यक्ष जितेन्द्रबहादुर राई (जीबी)सहित १९ जनाविरुद्ध शुक्रबार जिल्ला अदालत कास्कीमा थप पूरक अभियोग दर्ता गरिएको छ। पूरक अभियोग दर्ता गरिएकोमा उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल पनि छन्।
पुरानो बिगो १ अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ सहित अभियोग माग दाबी गरिएकोमा थप बिगो कायम गरी कुल बिगो १ अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ माग दाबीसहित पूरक अभियोगपत्र प्राप्त हुन आएको जिल्ला अदालत कास्कीका निमित्त स्रेस्तेदार ख्यामनारायण लामिछानेले बताए। १९ जना प्रतिवादीलाई नै सहकारीको दफा ६ बिगो थप माग दाबी गरिएको पनि उनले बताए।
१९ जनामध्ये १६ जनालाई सहकारीको दफा ६ बिगो थपसहित संगठित अपराधको दफा ६ माग दाबी गरिएको छ। जीबी राईको हकमा मात्र सहकारीको दफा ६ बिगो थप, संगठित अपराधको दफासहित राष्ट्र बैंक ऐनअनुसारको दफासहित पूरक अभियोगपत्र प्राप्त हुन आएको लामिछानेले बताए। रवि लामिछानेलगायत अन्य नयाँ प्रतिवादीको हकमा प्रतिवादी कायम भई अभियोग आउन बाँकी रहेको उनले बताए।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले शुक्रबार ढिलो गरी ३ बजेर ४० मिनेट जाँदा थप अभियोग र बिगो दाबी गर्दै पूरक अभियोगपत्र अदालतमा पेस गरेको थियो। २०८० असोजमा १९ जनाविरुद्ध सहकारी ठगीसम्बन्धी कसुरमा मुद्दा चलाइएकोमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत थप गरेर मुद्दा चलाइएको हो। सहकारी ठगीसम्बन्धी कसुरमा मुद्दा चलाइएका १९ जनामध्ये १० जना फरार छन्।
रास्वपा सभापति रवि लामिछानेसहित कास्की प्रहरीको हिरासतमा रहेका पाँच जनाविरुद्ध आइतबार मात्र अभियोगपत्र अदालतमा बुझाइने सरकारी वकिलको कार्यालयले जनाएको छ। पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेको शुक्रबार ९० दिन पुगेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अधिकतम ९० दिन थुनामा राखेर अनसुन्धान गर्न पाइने कानुनी प्रबन्ध रहेको छ।
शुक्रबार राति १२ बजे उक्त म्याद सकिने र शनिबार बिदा भएकोले आइतबार मात्र अभियोजनपत्र दर्ता गरिने जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ। लामिछानेसहित पाँच जनालाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अभियोगपत्र दायर गरिनेछ। मुद्दा दर्ता भएपछि जिल्ला अदालतले लामिछानेसहित पाँच जनाको बयान लिनेछ। बयानपछि थुनछेक बहस हुनेछ।