सिर्जनाको त्यागले आमा सम्झायो
सिर्जनाको कथा देखेर मेरो आफ्नै आमाको त्यागको याद आयो। सन् १९८६ तिर बुबा मजदुरी गर्न ताइवान जानुभएको बेला बिरामी हुनुभयो। ठूलो मेसिन चलाउने उहाँको ३ वर्ष काम गरेपछि किड्नी फेल भयो। लगत्तै उहाँ झन् बिरामी हुँदै जानुभयो। सन् १९८९ मा ह्विलचेयरमा उहाँलाई घर नेपाल फर्काइयो।
एक वर्षसम्म रातारात अस्पताल पुर्याउँदै, छरछिमेकको ढोका ढक्ढक्याउँदै कहिले ‘इमर्जेन्सी’मा त कहिले यसै अस्पताल भर्ना गरियो। ‘ब्लड ट्रान्सफ्युजन’ एकदमै महँगो थियो। उहाँको धेरैपल्ट यस किसिमले उपचार गरियो। आमाको ‘ब्लड प्रेसर’ ‘लो’ हुँदाहुँदै पनि घरीघरी रगत निकालेर बुवालाई दिइन्थ्यो।
रातदिन नसुती आमाले एक वर्ष हेरचाह गर्नुभयो बुबाको। यति सबै गर्दा पनि निको नभएपछि डाक्टरले ‘बरु यो बाँकी भएको पैसा पाँचजना नाबालिग छोरीका लागि बचाउनुस्, उहाँ बाँच्नुहुन्न’ भनिदिए। ठूलो दिदी १२ वर्षकी र कान्छी म चार वर्षकी थिएँ। हामी जम्मा पाँच दिदीबहिनी। उहाँको पिसाबमा रगतका चोक्टाहरू देखिन थालेका थिए। नभन्दै एक बिहान घरको सुत्ने कोठाबाट आमाको चिच्याहट सुनें। हामी बाहिर बारीमा खेलिरहेको थियौं। आमा रुन थाल्नुभएको रहेछ। म दौडिँदै बैठक कोठासम्म गए। दुई÷तीन महिनादेखि बुवालाई राखिरहेको त्यो कोठामा हामीलाई प्रवेश गर्न मनाही थियो। कोठाबाट हजुरआमा (बुवाको आमा) रुँदै निस्कनुभयो। त्यसपछि डाक्टर निस्कनुभयो। ठूलो दिदी अनि हामी दिदीबहिनीलाई उहाँले भन्नुभयो कि बुबाले सास छोड्नुभयो।
लासको अन्त्येष्टि गर्न आमा पैसा खोज्न लाग्नुभयो। रुने समय नै पाउनु भएन उहाँले। बुवाले विदेशबाट कमाएर ल्याउनुभएको पैसा सबै उपचारमा सिद्धिसकेको थियो। आमाले काम गर्नुभएको थिएन। मुग्लान गएर कमाउनु भएको भैंसेपाटीको घर पनि बुवाको उपचारकै लागि बेचिसकेका थियौं। सानो एउटा पुर्ख्यौली घरमा फेरि कोचिएका थियौं। मर्दा पर्दा हाम्रो भोजभतेर यता उता गर्दै धेरै खर्च लाग्ने हुन्छ।
दिउँसोसम्ममा बल्ल लास उठ्यो बुवाको। आमाले ऋण लिनुभयो, पैसा जुट्यो र साँझतिर लास जलाउन परिवारका पुरुषहरू खोलातिर लागे। बल्ल आमा एउटा हरियो रङको सानो कुशनमा अनुहार गाडेर ग्वाँ ग्वाँ रुन थाल्नुभयो। म त्यही नजिकै थिएँ। आमा रोएको देखेपछि पाँच वर्षकी कान्छी छोरी म पनि रुन थालें। अरू दिदीहरू कोही बिच्छा (लासको अघिपछि चामल छर्न) जानुभएको थियो। घरमा बसी आमासँगै रुने ‘प्रिभिलेज’ मेरो मात्र थियो।
रगत दिन नहुने मान्छे हाम्री आमा बिस्तारै सिकिस्त बिरामी हुँदै गइन्। घरमा आम्दानी ल्याउने एकमात्र बुबाको निधनपछि खान लाउन धौ धौ पर्न थाल्यो। सम्पन्न भनाउँदो परिवारको काठमाडौंमै बस्ने हामी मध्यम वर्गकालाई गरिब झैं हात फैलाउनलाई पनि अप्ठ्यारो। ३० वर्षको उमेरमा विधवा भएकी मेरी आमा ओछ्यानमा सधैं ढलिरहेकी अस्वस्थ अवस्थामा हुन्थिन्, वियोग वा ‘डिप्रेसन’ले होला। बुबाले अरूलाई ऋण दिनुभएको पैसा उठाउन जाँदा हामी ५–१३ वर्षका छोरीहरूलाई आफन्तले ढुंगाले हान्थे। पुलिस बोलाइदिने धम्की पनि दिन्थे। अनि घरमा लास उठाउन लिएको ऋण फिर्ता लिन हरेक दिन धम्क्याउन आउँथे। सानी म यो कलह देखिराख्दा सोच्थें –आमा किन उठ्नु भएन ? किन यो मान्छेहरूसँग मेरी १३–१२–११ वर्षकी दिदीहरू रोइकराई मामिला साम्य पार्न खोज्दै छन्? आमामा बल बाँकी थिएन रहेछ : उहाँलाई थकाइ लागेको रहेछ।
गहिरो निद्रामा हुनुहुन्थ्यो सधैं।
स्कुलको शुल्क नतिरेकाले हरेक हप्ता कक्षा बाहिर कुखुरा बनाएर राखिन्थ्यो हामीलाई। आमालाई बोलाऊ, टुहुराका लागि विशेष कर छुट छ, उहाँले अपिल गर्नुभयो भने तिमीहरूलाई सजिलो हुन्छ भन्नु हुन्थ्यो। तर आमा उठ्नु भएन, जानु भएन। सुतिरहनु हुन्थ्यो। सिरकले अनुहार छोपेर गहिरो निद्रामा हुनुहुन्थ्यो सधैं। ५ कक्षापछि घरको आर्थिक परिस्थिति कमजोर हुँदै गएकाले एक वर्ष स्कुल नगई घरै बसें। ‘पेट खाली छ, खाना देऊ’ भन्न पनि लाज लाग्ने। हाम्रो मध्यम वर्गीय नेवारको हैसियतले दिँदैनथ्यो। यतिखेर आमाले ओछ्यानबाटै भन्थिन्, ‘जे भए पनि आफ्नो स्वाभिमान नछोड्नू, आँसु नदेखाउनू, आँसु देखायो भने मान्छेले रमिता देखाउँछन्।’
सोच्थें, आमाले बुवाको उपचारमा भैंसेपाटीको घर नबेचेको भए, हाम्रा लागि पनि अलिअलि बाँकी राखिदिएको भए, यसरी पेटमा पटुका बाँधेर सुत्नु त पर्दैनथ्यो। मलाई भने सधैं खुवाउँथे। कान्छी थिएँ, सानी थिएँ त्यसैले सायद। धेरै रात दिदीहरू भोक मार्न पेटलाई बेसरी पटुकाले बेरेर सुत्नु हुन्थ्यो।
यही कुरा थाहा पाएर मेरो माइली माइजु दुर्गाले हामीलाई चामल, दाल, तरकारी खुसुक्क लुकाएर दिनुहुन्थ्यो। अझै इज्जत गरेर घरमा बोलाई धेरै थरी खाना परिकार पकाएर खुवाउनु हुन्थ्यो। उहाँ आफैं परिश्रमी अनि मामा दयालु। स्वाभिमानी हाम्री आमालाई थाहा नदिई हामी चामल र दाल माग्न जाँदा सधैं तेल, बेसार र नून थपिदिनु हुन्थ्यो। अहिले उहाँहरूको ‘माइला दाइ र दुर्गा भाउजूको हाँसको छोइला’ भन्ने रेस्टुरेन्ट छ धोबीघाटमा। यस्तो नजिकको अरू पनि केहीका गुणले हामी केही समय बाँच्यौ।
पछि आमा अलि स्वस्थ्य हुँदै जाँदा ‘म्यानपावर’ खोल्नु भयो र बिस्तारै हाम्रो आर्थिक अवस्था ठिक हुँदै गयो। दिदीहरू ठूलो हुँदै जागिर गर्न थाल्नु भयो। अनि ती कहालीलाग्दा दिनहरू छुटे। आमाले आफूले पठाएका हरेक मान्छेलाई राम्रो सुरक्षित ठाउँमा पठाउनु भयो। ता कि मेरा बुवा जस्तो जोखिमपूर्ण अवस्थामा काम गर्न नपरोस्। ती कामदारहरूको भने स्वास्थ्य जोगियोस्, छोराछोरी टुहुरा हुन नपरोस् भन्ने मनसायले काम गर्नुभयो।
सिर्जनाको त्याग, हरेक पलको संघर्ष देख्दा र त्यति प्रयासका बावजुद आफ्नो श्रीमान्लाई गुमाउँदा मेरी आमाको कथाको याद आयो। धन्न सृजनाका बच्चा छैनन्। पाँचजना स–साना छोरीहरू एक मध्यम वर्गीय परिवार, त्यो पनि ९० को दशकको समाज छैनन्।
धन्यवाद सृजना ! आज मेरो मनको भार बिसाउने अवसर दिनु भयो। तपाईंका दुःख र मेरो आमाको दुःख धेरै फरक छन्, दाँज्न नमिल्ला तर आफ्नो जीवन साथीप्रति शतप्रतिशत तन, मन र धनले अन्तिम साससम्म साथ दिने आत्मबल मेरी आमाको जस्तै लाग्यो। केही समय आँसु सुकेपछि आराम गर्नुहोला, ती हातहरू थाकेका होलान्। धन्यवाद, सिर्जना र विवेक !
तपाईंहरूको प्रेम–कथा मेरा लागि अमर रहनेछ।