एकान्तमा भेटिएको एकान्तको अर्थ
सर्वोत्कृष्ट प्राणी हो मानिस। जो आफ्ना खुसी र दुःख अरूसँग बाँड्न चाहन्छ। खुसी तथा दुःख बाँड्ने स्थानको अभावमा मानिस एक्लो हुन्छ अनि एकान्त खोज्दै हिँड्ने गर्छ। तर एकान्त कहाँ छ त? एक्लोपन हटाउने साथहरूमा छ कि ! आमाको काखमा छ या बाबुको काँधमा ? कतै मानिसहरूको भिडमा छ या शून्यताले भरिएको सुनसानमा ! मानिसहरूको भिडैभिडमा पनि मानिसले आफूलाई एक्लो देखिरहेको हुनसक्छ। आफ्नै आफ्नाहरूको माझमा पनि एक्लो महसुस गरिरहेको हुनसक्छ। अनुत्तरित प्रश्नहरूको भण्डार बोकेर एकान्तको खोजीमा हिँडिरहेको हुन्छ, मानिस।
भनिन्छ, एकान्तमा धेरै समय बस्न रुचाउने मानिसहरू बढी चिन्तन गर्छन् रे ! चिन्तित देखिन्छन् रे ! यसले मानिसको मानसिक अवस्थालाई असर गर्न सक्छ भन्ने एक किसिमको धारणा पनि आएको छ। मनोवैज्ञानिकहरूले एक्लै धेरै समय नबस्न र साथीभाइ तथा परिवारसँग बढी समय घुलमिल गर्न सुझाव दिने पनि गर्छन्। अर्कोतर्फ, एकान्तमा रहँदा तनाव कम हुन्छ, दिमाग ताजा र एकाग्र रहन्छ भन्नेहरू पनि छन्।
एकान्तले मानिसका धेरै अनुत्तरित पहेलीहरू फुकाइदिन पनि सक्छ। सिर्जनात्मक सोच भएका प्रतिभावान् मानिसहरू बढी एकान्त मन पराउँछन् भन्ने पनि छ। सामान्य अर्थमा हेर्दा एकान्तमा मानिस एक्लो नै देखिन्छ। तर उसले एक्लो भने महसुस गरिरहेको हुँदैन। आफूले आफैंसँग वार्ता गरिरहेको हुन्छ। उसलाई उसको मन–मस्तिष्क, आत्मा अर्थात् विशुद्ध ‘म’ले साथ दिइरहेको हुन्छ।
एकान्तले मानिसको जीवनमा सुन्दरता थपिरहेको पनि हुन्छ। नयाँ सिर्जनाको थलो पनि हो एकान्त। एकान्तमा प्राप्त महसुसले मानिसलाई अरू र आफैंसँग पुनः जोडिने अवसर पनि प्रदान गर्छ। अवसरलाई कसरी प्रयोग गर्ने भन्ने मानिसको इच्छा र उद्देश्यमा निर्भर हुन्छ। कहिलेकाँही मानिस मानिसैहरूबाट घेरिँदा पनि उसले आफूलाई एक्लो महसुस गरिरहेको हुन्छ। एक्लोपनलाई मानिसको संख्या र भिडले प्रभाव पार्ने होइन। न आफ्ना र पराइले नै अर्थ राख्छ। कोबाट घेरिएँ ? किन घेरिँदैछु ? भन्ने सवालका जवाफहरूले मानिसलाई एक्लो बनाइरहेको हुन्छ। अनि एक्लो हुनुको पीडा र महिमा व्यक्त गर्न एकान्त खोज्छ। उसलाई थाहा छ कि एकान्तमा उसले आफैंलाई बाहेक अरू कसैलाई जवाफ दिनु पर्दैन।
कहिलेकाहिँ मानिस एक्लै हुन आवश्यक पनि छ। एक्लोपन महसुस हुनु भनेको सामान्य मानवको अनुभव हुनु पनि हो। उसलाई समाज चिन्ने अवसर पनि हो। आफैंले आफैंबाट समाधान खोज्ने मार्ग पनि हो। एकान्तले मानिसलाई मर्नका लागि मात्र होइन, बाँच्नका लागि पनि उत्प्रेरित गर्छ। मानिस आफूले आफूलाई कसरी र कस्तो बनाउने भनेर सिक्न सक्छ। संसारका सबै महान र बहुमूल्य चीजहरू पनि एक्लो नै छन् भनेर जान्न पनि वातावरण दिन्छ।
जीवनमा आइपरेका चुनौतीहरूको सामना गर्ने हिम्मत जगाउँछ। कहिलेकाहिँ मानिस आफ्नै आँखा चिम्लेर बन्द नयनमा पनि एकान्त महसुस गरिरहेको हुन्छ। एकाग्र केन्द्रित एकान्तसँग पनि रमाइरहेको हुन्छ। आफूले आफैंसँग सम्बन्ध गाँसिरहेको हुन्छ। एकान्तले मानिसलाई अर्थपूर्ण सम्बन्धहरू बनाउन र सामना गर्ने रणनीतिहरू पत्ता लगाउन पनि मद्दत गर्छ। कोही पश्चातापमा त कोही प्रायश्चितका लागि पनि एकान्त खोजिरहेका हुन्छन्।
मानिस अरूले दिएका चोटहरूबाट मात्र पीडा भोगिरहेको हुँदैन। आफूले गरेका कार्यहरूबाट पनि आफूले आफैंलाई चोट दिइरहेका हुन्छन्। जितमा खुसी हुने रहरमा हारिरहेको पनि हुन्छ मानिस। मुर्छिंदै बौराउँदै किन नहोस् कसैका लागि बाँचिरहेका पनि हुन्छन् मानिस। उसको जीवनमा कसैको खुसी अडेको पनि हुनसक्छ। कहीँ देखाउनका लागि त कहीँ आफैंलाई छल्नकै लागि भए पनि ओठहरू मुस्कुराइरहेका हुनसक्छन्।
वास्तविक जीवनको यथार्थता फरक हुनसक्छ। ओठका मुस्कानमा हजारौं भावनाहरू लुकेका हुनसक्छन्। कहिलेकाहीँ जीवनका अप्ठ्याराहरूले जिउन कठिन बनाइदिइरहेको हुन्छ। न चिच्याएर रुन सक्छ। न कसैलाई सुनाएरै हिँड्न सक्छ। अनि, रुन र यसलाई पार गर्ने आशामा मानिसले एकान्त खोजिरहेका पनि हुन्छन्।
रमाउनका लागि पनि मानिसले एकान्त खोजिरहेको हुन्छ। एकान्तमा मानिसले शान्ति मात्र होइन, जीवनमा डिप्रेसन तथा डिमेन्सियाका जोखिमहरू निम्त्याइरहेको पनि हुन सक्छन्। मानिसले किन एकान्त खोजिरहेछ भन्ने सबैभन्दा महत्वपूर्ण कुरा हो। अस्वस्थ्यकर व्यवहारहरू गर्ने मानिसले पनि एकान्त खोजिरहेका हुन्छ।
उसले प्राप्त गर्ने नतिजालाई उसले लिएको उद्देश्यले निर्धारण गर्छ। एकान्तमा कोही जीवन खोज्छन् त कोही मृत्यु। कोही खुसी लिन नपाएर तड्िपन्छन् त कोही खुसी। उद्देश्य अनुरूप नतिजाको अपेक्षामा रोजिएका वा खोजिएका एकान्तहरूले कहीँ जीवनमा चोट पुर्याउँछ त कहीँ खुसी। कहीँ ओखती बनेर जीवन दिइरहेको पनि हुन्छ।
एक्लो हुनु र एक्लो महसुस गर्नु फरक कुरा हो। आफूले आफैंसँग मित्रता गर्ने मानिसले कहिलै एक्लो महसुस गर्दैन। दुःख, सुख, सफलता, असफलता, आँसु, हाँसो, पीडा र आनन्दहरू महसुसभित्र भेटिने नतिजाहरू हुन्। अनुकूल र प्रतिकूलका समयको चक्रसँगै नतिजाहरू घुमिरहन्छन्। एउटै स्थान र एउटै परिस्थितिमा बसिराख्दैनन्।
सोचाइसँगै महसुसले रूप र आकार पनि परिवर्तन गरिरहेको हुन्छ। यी महसुसहरू आफैं आउने पनि होइनन्। मानिस आफैंले ल्याउने हो। मन र मस्तिष्कमा जसरी प्रवेश दियो, त्यसरी नै जीवनमा फैलिने हो। परिस्थिति अनुरूप अघि बढ्न सक्ने जीवनले नै अरूलाई खुसी बनाउँछ भने आफूलाई पनि सदैव खुसी राख्छ।