सुरु भयो 'घुम्न जाउँ बर्दिया' अभियान
अर्घाखाँची : लुम्बिनी प्रदेशको महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बर्दियालाई लक्षित गरेर प्रदेश सरकारले घुम्न जाउँ बर्दिया अभियान शुभारम्भ गरेको छ। स्थानीय सरकार ठाकुर बाबा नगरपालिकासँग सहकार्य गरेर प्रदेश सरकारले घुम्न जाउँ बर्दिया अभियान शुभारम्भ गरेको हो।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अभियानको शुभारम्भ गरे। प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत घुम्न जाउँ बर्दिया अभियान सञ्चालन गरिएको लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री प्रचण्डविक्रम न्यौपानेले बताए।
प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग र पूर्वाधार विकासलाई समृद्धिको आधारको रूपमा लिएको छ। जसअन्तर्गत आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न बर्दिया जिल्लालाई लक्षित गरेर अभियान चलाइएको हो। अभियानको शुभारम्भ गर्दै मुख्यन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले पर्यटन क्षेत्रको विकासका लागि ध्यान दिएको र त्यसको सुरुवात बर्दियाबाट गरिएको बताए। ‘बर्दिया जिल्लाको ऐतिहासिक स्थल र यहाँ रहेको राष्ट्रिय निकुञ्ज भ्रमणको गन्तव्यस्थल हो’, उनले भने ।
प्रदेश सरकारले कर्मचारीलाई आन्तरिक पर्यटकीय क्षेत्रको भ्रमणका लागि १० दिनको समय उपलब्ध गराउने गरेको जानकारी दिँदै मुख्यमन्त्री आचार्यले उनीहरूलाई पनि बर्दिया जिल्लाको भ्रमणका लागि आह्वान गरे। उनले भने, ‘समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेशको अभियान पर्यटनबाट सम्भव छ। त्यही भएर सरकारले यसलाई उच्च प्राथमिकतामा राखेको छ।’
बर्दिया राष्ट्रिय निकुञ्जसँगसँगै जिल्लाकै पर्यटकीय क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने मुख्य उद्देश्यले घुम्न जाउँ बर्दिया कार्यक्रम आयोजना गरिएको लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्डविक्रम न्यौपानेको भनाइ छ।