नवलपरासीको पण्डितपुर बौद्धकालीन प्राचीन सहर भएको थप पुष्टि
परासी : नवलपरासीको रामग्राम नगरपालिका-१८ मा रहेको पण्डितपुर क्षेत्र बौद्धकालीन कोलीय गणराज्यको प्राचीन सहर भएको थप प्रमाण फेला परेका छन्। यसअघि गरिएको सर्वेक्षण र उत्खननका क्रममा उक्त स्थल कोलीय गणराज्यको प्राचीन सहर भएको पुष्टि भइसकेको थियो। त्यसलाई थप पुष्टि गर्न र पण्डितपुरको सांस्कृतिक इतिहास अध्ययन गर्न २५ दिनअघिबाट पुरातत्त्व विभागले उत्खनन सुरु गरेको थियो। उत्खनन कार्य शनिबार सकिएको छ।
सांस्कृतिक इतिहास र भू-भौतिक सर्वेक्षणले देखाएको प्राचीन संरचनाको अध्ययन गर्न चार स्थानबाट उत्खनन सुरु गरिएको थियो। उत्खननबाट प्राप्त उपलब्धिबारे जानकारी दिँदै पुरातत्त्व विभागका पुरातत्त्व शाखा प्रमुख एवं पुरातत्त्वविद् भाष्कर ज्ञवालीले उत्खननको प्रारम्भिक अध्ययनबाट बुद्धको समयदेखि मुस्लिम समयसम्मका विभिन्न संरचनाका साथै पुरातात्त्विक महत्त्वका वस्तु फेला परेको बताए।
उत्खननका क्रममा त्यस समयको मानव बसोबास र उनीहरूले प्रयोग गर्ने विभिन्न सामग्रीहरू फेला परेका छन्। ‘यसअघि गरिएका भू-भौतिक सर्वेक्षण (जियोफिजिक्स) र उत्खननबाट फेला परेका पुरातात्त्विक संरचनाका आधारमा अहिले उत्खनन गरिएको हो। त्यसबेला यस क्षेत्र गौतम बुद्धको मावली क्षेत्र (कोलीय गणराज्यको क्षेत्र) रहेको पुष्टि भएको र अहिले फेला परेका प्रमाणले त्यसलाई थप पुष्टि गरेको छ’, ज्ञवालीले भने।
त्यस क्षेत्रको आर्थिक वर्ष २०६८/६९ देखि आर्थिक वर्ष ०७२/०७३ सम्म उत्खनन गरिएको थियो भने आर्थिक वर्ष २०७५/०७६ देखि आर्थिक वर्ष २०८०/८१ सम्म भू-भौतिक सर्वेक्षण गरिएको थियो। ६० बिघा क्षेत्रफलमा फैलिएको त्यस क्षेत्रमा अहिलेसम्म ३२ बिघा क्षेत्रफलमा भूभौतिक सर्वेक्षण गरिएको ज्ञवालीले जानकारी दिए। हालसम्म गरिएको भू-भौतिक सर्वेक्षणका क्रममा त्यस क्षेत्रमा चक्राकार सहरी योजनामा बनेको प्राचीन सहरको भग्नावशेष फेला परेको थियो।
विगतमा उत्खनन गर्दा प्राप्त ‘डेटिङ नमुना’ को बेलायतमा परीक्षण गर्दा ईसापूर्व छैटौं शताब्दीसम्मको बुद्धको समकालीन सांस्कृतिक इतिहास पत्ता लागेको पुरातत्त्वविद् ज्ञवालीले बताए। बुद्धको समकालीन र भू-भौतिक सर्वेक्षणमा प्राचीन सहरको विशेषता पत्ता लागेकाले यस क्षेत्रको महत्त्व थप बढेर गएको ज्ञवालीको भनाइ छ।
उत्खनन टोलीले पण्डितपुरको चारैतर्फ एक हजार मिटरको क्षेत्र तोकेर त्यस क्षेत्रभित्र कुनै पनि संरचना निर्माण नगर्न सुझाव दिएको छ। त्यस क्षेत्रको संवेदनशील क्षेत्रमा नापी टोलीबाट नाप नक्सा गरी क्षेत्र यकिन गर्नुपर्ने पुरातत्त्वविद् ज्ञवालीको भनाइ छ। ‘पहिला नापी गरेर निजी र सार्वजनिक जग्गा छुट्ट्याउनु पर्यो, त्यसपछि पुरातत्त्व विभागले त्यस क्षेत्रलाई सुरक्षित इलाका घोषणा गर्न नेपाल सरकार समक्ष सिफारिस गर्नेछ’, ज्ञवालीले भने।
त्यस क्षेत्रमा अधिकांश जग्गा निजी रहेको र घर तथा अन्य भौतिक संरचना निर्माण भइसकेकाले उक्त जग्गाको अतिग्रहण गरेर पण्डितपुरलाई सुरक्षित राख्नुपर्ने ज्ञवालीको सुझाव छ। उत्खनन कार्य सकेको टोलीले अहिले ड्रइङ, डिजाइन, ड्रोन फोटोग्राफी, नक्सांकन र फेला परेका वस्तुलाई सुरक्षित रूपमा राख्न काम गरिरहेको छ। उक्त काम सक्न अझै दुई दिन लाग्न सक्ने ज्ञवालीले बताए। फेला परेका पुरातात्त्विक महत्त्वका वस्तुहरू पुरातत्त्व विभागमा राखिने टोलीले जनाएको छ।