परनिर्भरता घटाउन व्यावहारिक शिक्षा
कुनै पनि व्यक्तिलाई जीवनमा आइपर्ने आधारभूत कार्यहरू गर्न सक्षम बनाउनु शिक्षाको मूलभूत उद्देश्य हो। यस्तो शिक्षा जीवन उपयोगी हुन्छ। नेपालमा हालसम्म पनि शास्त्रीय शैलीको शिक्षा प्रदान गरिन्छ। यस्तो शिक्षाले अरूको बारेमा ज्ञान तथा सूचना त प्रदान गर्छ नै, तर शिक्षित व्यक्तिहरूलाई व्यावहारिक तथा सिर्जनशील बनाउन सक्दैन। वास्तवमा विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मका पढाइमा कुनै व्यवसाय रोज्न, खोज्न र टिकाउन सक्ने ज्ञान तथा सीपको कमी छ।
कुनै पनि व्यक्तिले पढेका र सिकेका कुरालाई व्यवहारमा उतार्न सक्नु व्यावहारिक शिक्षाको विशेषता हो। यस्तो शिक्षाले कुनै पनि व्यक्तिलाई घर, खेतबारी, वनजंगल, जल, स्थल आदि क्षेत्रहरूमा व्यावसायिक रूपमा काम गर्न सिकाउँछ। हालसम्म पनि यहाँका विद्यालयदेखि विश्वविद्यालयसम्म सैद्धान्तिक ज्ञान प्रदान गरिन्छ। त्यसैले, विभिन्न घरायसी कामका लागि हामीले अरूको भर पर्नुपर्ने बाध्यता छ। नेपालमा पेसागत सीपमा आधारित ज्ञान तथा व्यावसायिक सीपमा आधारित शिक्षा प्रदान गरिएको भए यहाँ व्यावसायिक कामहरू गर्न सक्षम जनशक्ति उत्पादन गर्न सकिन्थ्यो। यसबाहेक परम्परागत पेशालाई आवश्यकता अनुरूप आधुनिकीकरण गर्दै व्यावहारिक बनाउन सकेको भए यहाँको हिमाल, पहाड र तराईमा विभिन्न किसिमका उत्पादनका सम्भावनाका आधारमा आयआर्जनका स्रोतहरूको खोजी गर्न सकिन्थ्यो।
परन्तु, नेपालमा व्यावहारिक शिक्षाको कमी छ। जसले गर्दा शिक्षित युवाहरूले स्वरोजगारका क्षेत्रहरू पहिचान गर्न सकेका छैनन्। तसर्थ, रोजगारीका लागि उनीहरू बिदेसिन रुचाउँछन्। नेपालका पहाडी विद्यालयहरूमा व्यावहारिक ज्ञान प्रदान गर्न सकेको भए त्यहाँ पढेका विद्यार्थीले कृषि पेसामा पनि भविष्य देख्न सक्थे। उन्नत जातका गाई, भैंसी, बाख्रा, बंगुर, कुखुरा र माछापालन गर्न सक्षम हुने थिए भने अर्कोतिर फलफूल तथा पुष्पखेती गर्न सक्षम भई आयआर्जन गर्न सक्थे। यसैगरी, उनीहरूले तराई क्षेत्रमा खाद्यान्न, तेलहन, फलफूल र अन्य कृषिजन्य वस्तुहरूको अधिकतम उत्पादनका लागि आधुनिक फार्महरू सञ्चालन गरी स्वदेशमै रोजगारी पाउने थिए। तर, यहाँ व्यावहारिक शिक्षाको कमीले यस्तो हुन सकेको छैन।
आज केही विकसित देशहरू विकासको उत्कर्षमा पुगेर चन्द्रमामा मानव पठाउन र मंगल ग्रहलगायत अन्य आकाशीय जीवको सम्भावनाबारे गहन अनुसन्धानमा संलग्न छन्। यतिमात्र होइन, अमेरिकास्थित नासाको अभियानले अन्तर्राष्ट्रिय जगत्मा नै विशेष ध्यान आकृष्ट गरेको छ। तर, नेपालमा भने यी कुराहरू एकादेशको कथा झै भएको छ। कृषिप्रधान देश भए पनि खाद्यान्नका लागि विदेशमा भर पर्नु परेको छ। योबाहेक सागसब्जी, फलफूल र अन्य दैनिक सामग्रीहरूका लागि पनि विदेशमा भर पर्नुपरेको छ। कुनै पनि कृषिप्रधान देशमा पशुपालनले महत्वपूर्ण भूमिका खेल्छ किनभने यसबाट एकातिर स्वास्थ्यवद्र्धक दूध, दही, मोही र घिउ प्राप्त हुन्छ भने अर्कोतिर खेतीका लागि मलमूत्र पनि प्राप्त हुन्छ। परन्तु यी चीजहरूका लागि विशेषतः भारत र अन्य देशहरूमा निर्भर हुनु परेको छ। यहाँका शिक्षित व्यक्तिहरूमा व्यावहारिक ज्ञान नहुनाले यस्तो भएको हो।
आज विश्वमा सञ्चार क्षेत्रमा निकै प्रगति भएको छ। कम्प्युटर, ल्यापटप र मोबाइलको प्रयोग धेरै बढेको छ। नेपालमा पनि यिनीहरूको प्रयोग दिनदिनै बढिरहेको छ। तर, यिनीहरूको उत्पादन यहाँ नहुनाले विदेशमा भर पर्नु परेको छ। व्यावहारिक शिक्षा नहुनाले यस्तो भएको हो। यहाँ बारम्बार रेल ल्याउने कुरा चर्चामा आउँछ। तर, यहाँ बनाएको रेल होइन, भारत वा अन्य देशले बनाइदिएको रेल। यहाँ त केवल रेलको बाहिर नेपालको झन्डा र नक्सा बनाइन्छ। यसमा हामी गौरव ठान्छौं।
वास्तवमा रेलमार्ग सर्वेक्षण गर्ने विदेशी इन्जिनियर, निर्माणकार्य ठेक्का लिने विदेशी कम्पनी, रेल चल्ने इन्धन विदेशको र रेलबाट भित्रिने सामानहरू पनि विदेशी हुन्। तर पनि हामीलाई यस सम्बन्धमा कुनै संकोच छैन। यहाँका अस्पतालमा प्रयोग गरिने भेन्टिलेटर, स्वाब कलेक्सन बक्स, पीपीई आदि विदेशबाट ल्याइन्छ भने जटिल खालका स्वास्थ्य परीक्षण विदेशमा गरिन्छ। यति मात्र होइन, यहाँ पठनपाठन गरिने पुस्तकहरूका लागि पनि विदेशमै भर पर्नु परेको छ।
यथार्थतः यहाँ परनिर्भरताले हद नाघेको छ। मूल कारण यहाँ विद्यमान अव्यावहारिक शिक्षा नै हो। यहाँको शिक्षा प्रणाली पुराना भएकोले अनुसन्धानको संस्कार बस्न सकेको छैन। वर्तमान समयमा पनि यहाँ विद्यमान शिक्षा प्रणालीले सैद्धान्तिक ज्ञान मात्र प्रदान गरेकोले व्यावहारिक बन्न सकेको छैन। र, शिक्षित बेरोजगारहरूको संख्या बढिरहेको छ। तसर्थ, शिक्षामा गरिएको लगानी बालुवामा पानी हाले सरह भएको छ। यदि भविष्यमा यहाँको परनिर्भरता घटाउने हो भने शिक्षा व्यावहारिक हुनुपर्छ। जसको लागि आमूल परिवर्तन गर्नुपर्छ। जसका लागि सम्बन्धित पक्षको ध्यान यथाशीघ्र आकृष्ट हुनु जरुरी छ।