नगर बन्यो कुरूप, हरायो भवनको मौलिकता
जनकपुरधाम : घरधनीले नयाँ तल्ला पछि थप्ने योजनासहित घरमा पिलर हालेर त्यसै छाड्छन्। यी पिलरहरू न त घरका लागि राम्रो र गुणस्तरीय हुन्छन् न यिनको प्रयोगले घरलाई आकर्षक नै बनाउँछ। भविष्यलाई सोचेर छाडिएका पिलरहरूले वर्तमानमा नगरलाई कुरूप र अव्यवस्थित बनाउँदै गएको हुन्छ।
काम न काजका पिलर
दिलीप ठाकुरले ११ वर्षपहिले जनकपुरधाम उपमहानगरपालिका— ४ मा दुईतल्ले घर बनाए। उनले घर बनाउने बेलामा घरनिर्माण अनुमति (नक्सा) पनि दुई तल्लाकै पास गराएका थिए। तर, घर निर्माण भइसकेपछि काममा लागेका राजमिस्त्रीले डन्डी, बालुवा, गिट्टीलगायतका निर्माण सामग्रीहरू उब्रिएको हुँदा बरु खेर फाल्नुभन्दा दुई तल्ला माथि पिलरनै ढालेर छाड्न सुझाव दिए। ‘हाम्रो त पिलर हाल्ने योजना नै थिएन। दुई तल्लाभन्दा बढीको घर बनाउने त्यस्तो बजेट पनि थिएन र हाम्रो परिवारका लागि दुई तल्ला पर्याप्त थियो। तर, घर बनाउने मिस्त्रीहरूले यति धेरै कर गर्न थालेकी हामीले पनि विवश भएर ल त उब्रेका सामानहरूबाट पिलर ढालेर छाडम् भन्ने निष्कर्षमा पुग्यौं र पिलर हालियो’, दिलीपले घर माथि खिया लागिसकेको पिलरको डन्डी र कालो परिसकेको पिलरहरूलाई नियाल्दै भने, ‘अब ११ वर्ष बितिसक्दा पनि तल्ला थपेका छैनौं माथिबाट यो पिलरहरूकै कारणले पनि घर कुरूप देखिन थालेको छ।’
दिलीपको जस्तै अवस्था सोही वडामा बस्ने उपेन्द्र साहको घरको पनि छ। करिब ९ वर्ष अगाडि चार कोठाको एक तल्ले घर बनाएका साहले बिना कुनै उद्देश्य र योजनाकै दोस्रो तल्लाको पिलर ढालेर छाडे। घामपानीले पिलर खिइन थाले पनि उनले अहिलेसम्म अर्को तल्ला भने थप्न सकेका छैनन्। किराना पसल थापेर जेनतेन परिवार चलाइराखेका साहलाई आर्थिक रूपमा पनि एक तल्ला थप्दा नै साहै्र भार परेको थियो तर, छरछिमेकीको लहलहै र देखासिकीमै छतमा पिलर थपेर छाडे। तर त्यो काम न काजको भएको छ। ‘एक त जसो तसो ऋण कर्जा खोजेर ऊ बेला घर बनाएको थिएँ। आफ्नो सानो परिवारको लागि एक तल्ला घर पनि ठीकै छ। पैसा भएको भए माथिल्ला तल्ला थप्दा अझैं सजिलो हुन्थ्यो होला तर, न त पैसा छ न त्यति धेरै आम्दानीनै माथिबाट अहिले त निर्माण सामग्रीहरूको मूल्य पनि आकाश छुने जस्तो भइसकेको छ अब यो पिलरहरू बिना कामकै बिग्रिने भयो। केही काम छैन्’, साहले अन्नपूर्णकर्मीसँग कुरा सुनाए।
छाडा पिलरहरू घरका लागि क्यान्सर समान
प्राय:जसो घर निर्माणको क्रममा राजमिस्त्रीहरू र कामदारहरूको दबाब, छरछिमेकीको लहलहै र भविष्यमा तल्ला थप्न सक्ने सम्भावनाहरूलाई हेरेर अधिकांश घरधनीहरूले छतमा पिलर उभ्याएर छाड्ने गर्छन्। नेपालको परिपे्रक्ष्यमा ‘६० प्रतिशत’ भन्दा माथि घरहरूमा ती पिलरहरूमा समयमा भवन नबन्ने, लामो समयसम्म त्यतिकै छाड्दा डन्डीमा खिया लाग्ने, हावापानीले संरचनालाई बिगार्ने समस्याहरू देखिने गरेको र अन्तमा घरधनीहरू असुरक्षित निर्माणतर्फ उन्मुख हुने गरेको सिभिल इन्जिनियर विकास झा बताउँछन्। ‘मान्छेले जब घर बनाउँछ अनि वर्तमानभन्दा भविष्यको बढी सोच राख्ने आम मानिसको मानसिकता छ। यहाँ त सबै ग्रेडका मानिस छन्। अब त्यत्तिकै डन्डी छाड्यो भने सुरक्षाको दृष्टिकोणले पनि सही हुँदैन र आर्थिक अभावका कारणले एकैपटक सोचे जति तल्ला निर्माण गर्न पनि गाह्रो हुन्छ। त्यसैले पनि पिलर हालेर छाड्ने काम प्राय:ले गर्छन्’, इन्जिनियर झा भन्छन्, ‘यदि हामीले पिलरको आयुकै कुरा गर्ने हो भने हामीले घरको छतमा त्यतिकै पिलर ढालेर छाड्यौं भने डन्डीमा घामपानीले असर गरेर खिया लाग्न सुरु हुन्छ। यदि तीन सुत्ताको डन्डी छ र त्यसलाई तीन वर्षसम्म बिना कामको छाड्यो भने त्यो खिया लागेर दुई सुत्ताको बन्छ। यस्तोमा त्यो पिलर त घरको क्यान्सर सरह नै हुन जान्छ। त्यसैले जति तल्ला भवन निर्माण गर्ने हाम्रो योजना हुन्छ त्यति तल्लानै बनाएर सकाउनु सबैभन्दा राम्रो हो।’
नेपालको परिपे्रक्ष्यमा ६० प्रतिशतभन्दा माथि घरहरूमा ती पिलरहरूमा समयमा भवन नबन्ने, लामो समयसम्म त्यतिकै छाड्दा डन्डीमा खिया लाग्ने, हावापानीले संरचनालाई बिगार्ने समस्याहरू देखिने गरेको छ। घर बनाउँदा त्यत्तिकै डन्डी छाड्यो भने सुरक्षाको दृष्टिकोणले पनि सही हँुदैन। डन्डीमा घामपानीले असर गरेर खिया लाग्न सुरु हुन्छ। तीन सुत्ताको डन्डी छ र त्यसलाई तीन वर्षसम्म बिना काम छाड्यो भने त्यो खिया लागेर दुई सुत्ताको बन्छ। यस्तोमा त्यो पिलर त घरको क्यान्सर सरह नै हुन जान्छ। त्यसैले जति तल्ला भवन निर्माण गर्ने हाम्रो योजना हुन्छ त्यति तल्लानै बनाएर सकाउनु सबैभन्दा राम्रो हुन्छ। : विकास झा, सिभिल इन्जिनियर
‘घर निर्माणको क्रममा पिलर दिएर छाड्नु त कुनै पनि दृष्टिकोणले सही छैन,’ जनकपुरधाम उपमहानगरपालिकाका नक्सा शाखा प्रमुख ऋषि साह भन्छन्, ‘हामीले जति तल्लाको नक्सा स्वीकृत गरेका छौं, त्यति तल्लाको भवन पूर्ण रूपमा निर्माण गरी निर्माण सम्पन्न अनुमतिपत्र लिनुपर्ने कानुनी प्रावधान छ तर, यहाँ अधिकांशले के गर्छन् नक्सा पास दुई तल्लाको गरायो र पछि एक तल्ला बनाउने भन्दै पिलर उठाएर वर्षौंवर्षसम्म छाड्ने गर्छन्। यो न त कानुनी रूपमा सही भयो न घर निर्माणको सुरक्षाकै दृष्टिकोणले सही भयो। नक्सा पास यदि दुई तल्लाको गराएर एक तल्ला भवन बनाइएको छ र अर्को तल्लामा पिलर हालिएको छ भने त्यसको पनि म्याद हुन्छ। यदि दुई वर्षभित्र निर्माणकार्य सम्पन्न भएन भने त्यो कानुनी रूपमा पनि सही हुन्न।’
पिलर छाड्ने प्रतिस्पर्धा
जनकपुर नगर क्षेत्रमात्रै नभई ग्रामीण भेगमा समेत पछिल्लो समय पिलरवाला घर बनाउने होडबाजी चलेको छ। प्राय:जसो वैदेशिक रोजगारमा गएकाहरू त्यहाँबाट आर्थिक उपार्जन गरेर फर्किएपछि छरछिमेकको सिको गर्दै छिमेकीले १२ वटा पिलर हालेर घर बनाएको छ भने आफूले २० वटा हालेर घर बनाउने र आफूलाई सम्पत्तिवान् देखाउन पिलर छाड्ने प्रतिस्पर्धा नै बढेको जनकपुरधाम उपमहानगरपालिका २५ लोहना निवासी त्रिभुवन विश्वविद्यालयका अवकाश प्राप्त प्राध्यापक अब्दुल कयुम बताउँछन्। उनी भन्छन्, ‘अहिलेको ग्रामीण परिवेशमा घरबाट प्रतिष्ठाको आकलन गर्ने गरिन्छ। त्यसमा पनि घर पक्कीमात्रै नभई अर्काभन्दा बढी पिलर भएको हुनुपर्ने धारणा व्यापक रूपमा विकसित भएको देख्छु। मेरै गाउँमा पनि ७० प्रतिशतभन्दा बढी घरहरू यस्ता छन् जसमा वर्षांैदेखि पिलर छतमा ठडिएको देख्छु तर, तल्ला थप्ने अत्तोपत्तो छैन।’ गाउँमा आफैं घर बनाउँदाको अनुभव सुनाउँदै उनले भने, ‘मैले जब जागिरबाट अवकाश प्राप्त गरेँ अनि गाउँमा संयुक्त परिवारका लागि घर बनाउने तयारीमा लागेँ, हामीले दुईतल्ले घर बनाउने निर्णय गर्यौं जुन हाम्रो परिवारको लागि पर्याप्त थियो। बढी तामझाम नगरेर सामान्य घर ठडायौं तर, छर छिमेकीहरूले आएर कुरा सुनाउँथे। ए जिन्दगीभरि जागिर गरिस् अनि जाबो यति सानो घर बनाएको भन्थे। अलि बढी पिलर हालेर फराकिलो र ठूलो बनाउनु पथ्र्यो नि भन्छन्। यी सबै कुराहरूले अनावश्यक मानसिक दबाब र हीनताबोध गराउने गरेको म देख्छु।’
आफूलाई के चाहिएको छ भन्दा पनि अर्काले के भन्छ भन्ने सोचका कारण पनि घरलाई प्रतिष्ठासँग जोडेर हेर्ने र सोहीअनुसार आफ्नो अनुकूलताभन्दा पनि अर्कालाई देखाउनकै लागि गरिने उनले बताए। कर्जा पैंचो लिएर समेत पिलर ढलाउने परिपाटी बढेको बताउँदै लोहनाकै बासिन्दा आलोक ठाकुर भन्छन्, ‘काठमाडौंबाट हवाईजहाज चढेर जनकपुर आउनु भो भने जहाज तल आउन लाग्दा माथिबाट हेर्यो भने कुरूप पिलर नै पिलर भएका निर्माणमात्रै हेर्न पाईन्छ। यसले एकातर्फ कुरूप निर्माणको दृश्य देखाउँछ भने अर्कोतर्फ हाम्रो स्थानीय पालिकाहरूले समेत यसको नियन्त्रण वा अव्यवस्थित निर्माणलाई रोक्न कुनै किसिमको जनचेतना फैलाउन नसकेको कुरालाई प्रष्ट्याउँछ।’
भवन निर्माण संहिता कार्यान्वयनको खाँचो
नेपालमा बन्ने अधिकांश आवासीय घरहरू स्वयं घरधनीको रेखदेखमै निर्माण हुने गर्दछ। घरधनीहरू आफ्नो घर निर्माणको कार्यमा सुरुदेखि निर्माण नसकिएसम्म निरीक्षकको र व्यवस्थापकको रूपमा संलग्न हुने गर्छन्। घरधनीहरू आफैं नक्सापासको निम्ति स्थानीय सरकारका विभिन्न निकायसँग सम्पर्क गर्ने प्रचलन पनि छ। त्यसका साथै भवन निर्माणमा सम्बन्धित व्यक्तिहरू जस्तै आर्किटेक्ट-इन्जिनियर, ठेकेदार, डकर्मी, सिकर्मी, प्लम्बर, निर्माणसामग्री बिक्रेता आदिसँग पनि घरधनी आफैंले सम्पर्क गर्ने प्रचलन छ। तर, घरधनीहरू घर निर्माणको प्राविधिक पक्षका बारेमा थोरै मात्र जानकार हुन्छन्। सुरक्षित घर निर्माणबारे कहाँबाट, कोसँग, कसरी जानकारी प्राप्त गर्ने भन्ने थाहा हुँदैन। त्यसको परिणामस्वरूप भवन निर्माण संहिताको पालना नै नगरी जस्तो पाए त्यस्तै बनाउने गरेको पर्याप्त उदाहरणहरू छन्।
के हो त भवन निर्माण संहिता
भवन निर्माण संहिता मानवीय सुरक्षा तथा सामाजिक हित सुनिश्चित गर्ने प्रयोजनको लागि भवनको डिजाइन, निर्माण पद्धति, निर्माण सामग्री तथा उपयोगजस्ता भवनका विभिन्न पक्षहरूलाई नियमन गरी भवनको संरचनात्मक सुरक्षा र क्षति प्रतिरोधात्मक क्षमता सुनिश्चित गर्न २०५२ सालमा बनाइएको नेपाल सरकारको आधिकारिक अभिलेख हो। भवन निर्माण सुरक्षित र नियमित गराउन नेपाल सरकारले राष्ट्रिय भवन निर्माण संहिता लागू गरेको हो।
भूकम्प, आगजनी तथा अन्य प्रकोपबाट भवनहरूमा पर्न सक्ने क्षतिलाई यथासम्भव कम गर्न भवन निर्माण संहिता नेपाल सरकारले २०६० साउन १२ गतेको निर्णयानुसार स्वीकृत भई हाल कार्यान्वयनमा रहेको छ। विगतको भूकम्पबाट भएको क्षतिको प्रकृति अध्ययन गर्दा भवन निर्माण संहिता अनुसरण नगरी बनाइएका घरहरूमा बढी क्षति भएको देखिएको छ।
भवनको वर्गीकरण
भवन ऐन २०५५, संशोधित २०६४ अनुसार, भवन निर्माण संहिताको तर्जुमा तथा कार्यान्वयन गर्ने प्रयोजनका लागि भवनलाई चार वर्गमा वर्गीकरण गरिएको छ।
‘क’ वर्ग : विकसित मुलुकमा अपनाइएका भवन निर्माण संहिता समेतको अनुसरण गरी इन्टरनेसनल स्टेट अफ आर्टअनुसार विदेशी विकसित निर्माण शैलीमा आधारित हुने गरी बनाइएको अत्याधुनिक भवनहरू।
‘ख’ वर्ग : भुइँतलाको क्षेत्रफल एक हजार वर्गफिटभन्दा बढी भएका, तीन तल्लाभन्दा बढी भएका, घरको संरचनात्मक भाग (पिलर, गारो) बीचको दूरी ४.५ मिटरभन्दा बढी भएका भवनहरू।
‘ग’ वर्ग : भुइँतलाको क्षेत्रफल एक हजार वर्गफिटभन्दा कम भएका, तीन तलाभन्दा कम भएका, घरको संरचनात्मक भाग (पिलर, गारो ) बीचको दूरी ४.५ मिटरभन्दा कम भएका भवनहरू।
हाम्रो जनकपुरमा त ५० प्रतिशतभन्दा बढी घर बिनानक्सा पास बनाइएको छ। नक्साबिना घर जथाभावी बन्नुको कारण के छ भने यहाँ सयौं घरहरू गुठीका जग्गामा बनाइएका छन्। त्यस्ता घरहरूको नक्सापास गर्ने अधिकार हामीलाई छैन किनकि ती घरहरू बनेको जग्गाको लालपुर्जा नै छैन। उपमहानगरपालिकाबाट भुइँतल्ला र पहिलो तल्लाको नक्सापास गराउँछन्। तर, दोस्रो तल्लामा गएर पिलर छाडिदिन्छन्। उनीहरूले यतिसम्मको सोच राख्छन् कि पिलर भयो भने मेरो छोरा, नातिले त कम्तीमा तल्ला थप्छ होला नि ! : मनोज साह, नगर प्रमुख, जनकपुरधाम उपमहानगरपालिका
‘घ’ वर्ग : काँचो वा पाको इँटा, ढुंगा, माटो, बाँस, खर आदि प्रयोग गरी बनाइने एक तला घर वा टहराहरू।के भन्छ त भवन निर्माण मापदण्डले भवन निर्माणको मापदण्ड नेपालमा रहेको सबै सहरी क्षेत्रको योजनाबद्ध विकासलाई निर्देशित गर्ने उद्देश्य राखी तयार गरिएको हुन्छ। भवन मापदण्डको मुख्य उद्देश्य नै स्वच्छ, हराभरा, स्वस्थ तथा दिगो सहरी वातावरण सुनिश्चित गर्नुहुन्छ। बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मार्गदर्शन, २०७२ अनुसार आवासीय भवनको लागि निम्न मापदण्ड निर्धारण गरिएको छ।
– सडकको चौडाइ न्यूनतम ६ मिटर र सेटब्याक सडक किनाराबाट न्यूनतम १.५ मिटर छोडिएको हुनुपर्ने।
– सडकको क्षेत्राधिकार र सेटव्याकभित्र टप, बार्दली आदि कुनै पनि संरचनाहरू बनाउन नपाइने। भवन निर्माण क्षेत्रभित्र पनि एक मिटरभन्दा बढीको टप, बार्दली निकाल्न नपाइने।
– २५० वर्गमिटर सम्मको क्षेत्रमा घर बनाउँदा ३० प्रतिशत र सोभन्दा बढीमा ४० प्रतिशत जमिन खाली राखेर भवन निर्माण गर्नुपर्नेछ।
– झ्याल राख्न सेटब्याक ५ फिट हुनुपर्दछ।
– आवासीय प्रयोजनको लागि निर्माण हुने भवनहरूमा सटर तथा पसल राख्न नपाइने व्यवस्था छ। यदि कसैले सटर, पसल राखी भवन निर्माणको स्वीकृति लिएमा सो भवनलाई स्वत: व्यापारिक भवन मानिनेछ। साथै ६ मिटरभन्दा कम चौडाइको सडकको पहुँच भएको भवनमा सटर राख्न पाइने छैन र सटर राख्दा कम्तीमा दुई मिटरको सेटब्याक छोड्नु पर्दछ।
– मापदण्डविपरीत निर्माण भएका भवनलाई सम्बन्धित स्थानीय निकायले पूर्ण वा आंशिक रूपमा भत्काउन लगाउन सक्नेछ।
भवनको उचाइसम्बन्धी व्यवस्था
सहरी योजना तथा भवन निर्माण मापदण्डअनुसार भवनको उचाइ कतिसम्म राख्ने भनेर स्पष्ट व्यवस्था गरिएको छ। सो व्यवस्थामा निम्न कुराहरू उल्लेखित छन्।
– स्थानीय तहहरूले गाउँ, नगरसभाको निर्णयबाट सहरी विकास मन्त्रालयसँग प्राविधिक समन्वय गरी भुइँ क्षेत्रको अनुपातको सट्टामा भवनको उचाइको व्यवस्था कार्यान्वयनमा ल्याउन सक्छ।
– गाउँपालिकाहरूले भवनको उचाइको सीमा निर्धारण गर्दा भुँइ तल्लासहित बढीमा तीन तल्ला मात्र कायम हुने गरी भवनको उचाइ निर्धारण गर्नु पर्दछ। सोभन्दा बढी उचाइ निर्धारण गर्दा सहरी विकास मन्त्रालयको प्राविधिक परामर्श लिएर गर्नु पर्दछ।
– स्थानीय तहहरूले आवासीय र व्यापारिक भवनका लागि अलगअलग उचाई निर्धारण गर्न सक्नेछन्।
– भवनको उचाइ निर्धारण गर्दा नेपाल सरकारबाट जारी गरिएको बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ का प्रावधानहरूको पालना गर्नुपर्दछ।
– स्थानीय तहले भवनको उचाइ निर्धारण गर्दा अलगअलग सडकका लागि अलग उचाइ वा स्थानीय तह भरी एउटै उचाइ निर्धारण गर्न सक्छन्।
– सम्पदा बस्ती क्षेत्रमा छानासमेत भवनको अधिकतम उचाइ ३५ फिट रहने गर्दछ। तर, प्राचीन स्मारक हुनुपर्ने चोक वा क्षेत्रमा पर्ने भवनको हकमा त्यस्तो स्मारकभन्दा अग्लो हुनेगरी भवन निर्माण गर्न पाइने छैन।
पिलरवाला घर बनाउन ध्यान दिनुपर्ने कुराहरू
पिलरवाला घर बलियो नै हुन्छ भन्ने छैन। जग्गाको अनुसार घर कस्तो खालको बनाउने भन्ने कुरा निर्णय गर्न सकिन्छ। इन्जिनियर दीपक साह भन्छन्, ‘पिलरवाला घर बनाउँदासमेत हामीले थुप्रै कुराहरूको ख्याल गर्नु आवश्यक हुन्छ।
सर्वप्रथम वृत्ताकार वा आयाताकारको नियमित आकारको घर हुनुपर्छ। लामो र साँघुरो घर निर्माण गर्दा पिलर हाल्नु उपयुक्त हुँदैन। तपाईंको घरको चौडाइ तपाईंको घरको लम्बाइभन्दा तीन गुणा बढी हुनुपर्दछ अनि मात्रै पिलरको प्रयोग गर्दा उपयुक्त हुन्छ।
त्यसैगरी बिम र पिलरको स्थान सुनिश्चित गर्नु पनि अति आवश्यक रहेको इन्जिनियरहरू बताउँछन्। जसमा ग्रिडको लाइनबाट पिलर वा बिम हटाउनु हुँदैन। पिलरहरूलाई एउटै ग्रिडको लाइनबाट राख्नुपर्छ र सबै पिलरहरूलाई बिमले जोड्नुपर्छ। पिलरको संख्या भवनहरूमा दुवै दिशामा एकभन्दा बढी नालको हुनुपर्दछ। एकभन्दा बढी नाल भार बाहक संरचना राख्नुपर्ने स्थिति आएमा उपयुक्त ठाउँमा ढलानको गारो राख्नु आवश्यक हुन्छ। त्यसैगरी जगको लम्बाइ, चौडाइ र डन्डीको विवरण पिलरको स्थान र माटोको प्रकारअनुसार हुनुपर्छ।
पिलरवाला घरको नाममा भवनहरूको मौलिकता नै हरायो
कुनै पनि सहर वा नगरको आफ्नो मौलिकता हुन्छ। तर, पछिल्लो समय यो सस्तो र बलियो घर बनाउने नाउँमा पिलर हालेर घर बनाउन थालिएपछि पौराणिक घरको मौलिकतानै हराएको जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहको ठम्याइँ छ। ‘हाम्रो जनकपुरमा त ५० प्रतिशतभन्दा बढी घर बिनानक्सा पास गरेरै बनाइएको छ। तर, हामी यसको अनुगमन गर्न सकिरहेका छैनौं। न त उपमहानगरपालिकासँग त्यत्ति धेरै जनशक्ति छ न हामीसँग आन्तरिक आयस्रोत नै छ। यसले गर्दा हामी कर्मचारी थप्न सकिरहेको छैनौं।
छरछिमेकको सिको गर्दै छिमेकीले १२ वटा पिलर हालेर घर बनाएको छ भने आफूले २० वटा हालेर बनाउने र आफूलाई सम्पत्तिवान् देखाउन पिलर छाड्ने प्रतिस्पर्धा बढेको छ। अहिलेको ग्रामीण परिवेशमा घरबाट प्रतिष्ठाको आकलन गर्ने गरिन्छ। त्यसमा पनि घर पक्कीमात्रै नभई अर्काभन्दा बढी पिलर भएको हुनुपर्ने धारणा व्यापक रूपमा विकसित भएको देख्छु। मेरै गाउँमा पनि ७० प्रतिशतभन्दा बढी घरहरू यस्ता छन् जसमा वर्षांैदेखि पिलर छतमा ठडिएका छन् तर तल्ला थप्ने अत्तोपत्तो छैन। : अब्दुल केयू, प्राध्यापक, त्रिभुवन विश्वविद्यालय
नक्साबिना घर जथाभावी बन्नुको अर्को कारण के छ भने यहाँ सयौं घरहरू गुठीका जग्गामा बनाइएका छन्। त्यस्ता घरहरूको नक्सापास गर्ने अधिकार हामीलाई छैन किनकि ती घरहरू बनेको जग्गाको लालपुर्जा नै छैन। अर्को समस्या के छ भने गुठी संस्थान स्थानीय तहको अधिकार क्षेत्रभित्र नपर्ने हुनाले हामीले जथाभावी बनेका यी घरहरूको सौन्दर्यीकरण वा यिनीहरूको मापदण्डबारे कुनै प्रकारको निर्णय गर्न सकेका छैनौं,’ नगरप्रमुख साह थप्छन्, ‘हामी ललितपुर वा भक्तपुरमा गएर हेर्यौ भने सबै पुराना घरहरू एकै खालका देख्न पाउँछौं। तिनीहरू मौलिक घरहरू हुन् तर, जनकपुरलगायत तराईका विभिन्न सहरहरू जहाँ पुरानो समयमा माटो, खपडा वा फुसका छाना भएको कच्ची घरहरू बढी हुन्थे, हाल आएर पक्की घरमा परिणत भएको छ र त्यसमा पनि पिलरवाला घरको निर्माण तीव्र गतिमा बढेको छ। आफ्नो निजी मौलिकता भएको घर नै छैन। जनकपुरको कुरा गर्ने हो भने त यहाँ जानकी मन्दिरबाहेक कुनै पनि पौराणिक भवन नै बाँकी छ जस्तो मलाई लाग्दैन।
अब नगरवासीको निजी संरचनामा उपमहानगरपालिकाबाट भुइँतल्ला र पहिलो तल्लाको नक्सापास गराउँछन्। तर, दोस्रो तल्लामा गएर पिलर छाडिदिन्छन्। उनीहरूले यतिसम्मको सोच राख्छन् कि पिलर भयो भने मेरो छोरा, नातिले त कम्तीमा तल्ला थप्छ होला नि। अब यस्तो खालको सोच राख्नेहरूलाई अनुगमन गरेर कारबाही गर्ने वा नियन्त्रण गर्ने भन्ने काम हामीले गर्न सकिरहेका छैनौं। एउटा वार्डमा एक जना सचिव र एउटा कर्मचारीमात्रैले काम गरिरहेको हुन्छ अब उसले नाता प्रमाणित गर्र्दैमा समय बित्छ। ऊ गएर घरहरूको अनुगमन गरोस् भन्ने सम्भव नै छैन। त्यसैले पनि नगरमा यी अनावश्यक छाडिएका पिलरहरूको कारणले फोहोर भइरहेको देखिरहँदा पनि हामी मूकदर्शक बनी बसिराख्न बाध्य छौं।’