ओखलढुंगा: सत्यवती गाउँपालिका—१ स्थित अस्लेवा गुल्मीमा जन्मेका दुर्गा पाण्डेय कक्षा ७ पूरा नगर्दै मजदुरीका लागि भारत पसे। पारिवारिक अवस्थाले उनलाई पढाइ पूरा गर्न दिएन। उनी मजदुरी गर्न भारतको बम्बई पुगे र होटलमा काम गर्न थाले।
उनले मासिक ५० रुपैयाँ तलबमा काम पाएका थिए। खान बस्न होटलमै पाइन्थ्यो। होटल तथा रेस्टुरेन्टमा उनले करिब १० वर्ष काम गर्दाको कष्ट र संघर्ष भनी साध्य थिएन त्यसपछि केही साझेदार भेटेर आफैंले होटल तथा रेस्टुरेन्ट चलाए। ९ वर्ष कामदार भएर काम गरेपछि लगानीकर्ता साझेदार भेटेको बताउने पाण्डेय भन्छन्, ‘आफ्नो इमान्दारिता र लगनशीलता देखेर साझेदारले विश्वास गरेका थिए, त्यहाँ मेरो नेतृत्वमा दुई वटा रेस्टुरेन्ट सञ्चालन भएका थिए।’
उनले अरू १० वर्ष रेस्टुरेन्ट चलाएर २० वर्ष भारतको बम्बईमा बिताए। त्यसबेला उनले गरेको दुःखबाट जमाएको सम्पत्ति सदुपयोग गर्दा अहिले उनी नेपालमा करोडौंको मालिक र करिब दुई सय जनालाई रोजगार दिन सक्ने हैसियतमा छन्। ‘२० वर्ष भारतमा गरेको कमाइ नेपाल ल्याएर लगानी गरेको छु, अहिले मुस्ताङको मार्फा, धादिङको चरौंदी र पोखराको लेकसाइडमा रेस्टुरेन्ट सञ्चालन गरेको छु’ उनले भने।
मार्फामा मार्फा होम्स सञ्चालनमा ल्याएका उनले १५ जनालाई रोजगारी दिएका छन्। धादिङको चरौंदीमा इन्द्रेनी फुडल्यान्ड सञ्चालनमा छ। त्यहाँ २५ जना बढीले रोजगारी पाएका छन्। पोखराको लेकसाइडमा मझेरी रिसोर्ट एन्ड स्पामा ६५ जनाले काम गर्छन्। टुर एन्ड ट्राभल्सको व्यवसायबाट धेरै भारतीय पर्यटकहरू उनैले पोखरा र मुस्ताङ पु¥याएका छन्। टुर एन्ड ट्राभल्सका विभिन्न ठाउँमा ८० जनालाई रोजगारी दिएको पाण्डेयले सुनाए। ‘करिब दुई सय जतिलाई रोजगारी दिएको छु, सबै ठाउँमा मेरो १२ करोड जति लगानी भएको छ। कोभिडले व्यवसाय थलिए पनि अब उठ्ने आशा छ’ उनले भने।
भारतमा राम्रो कमाइ हुँदाहुँदै स्वदेशमै केही गरौं भनेर नेपाल फर्किएका पाण्डेय नेपालमै केही गर्न सकिन्छ भनेर लाग्नेहरूका लागि प्रेरणा भएको गुल्मीकी स्थानीय विष्णुमाया पाण्डेय बताउँछिन्। ‘उहाँ नेपालमा केही हुँदैन, सम्भावना छैन भन्नेहरूका लागि गतिलो जवाफ हो’ उनले भनिन्। यही कुरा स्थापित गर्न नेपाल फर्किएको स्वयं दुर्गाले पनि बताउने गरेका छन्।
व्यवसायमा यहाँ सम्मको सफलताका लागि श्रीमती नन्दा पाण्डेयलाई जस दिन्छन्। नन्दाले आफूलाई जीवनको अन्तिम क्षणसम्म साथ दिएको सम्झँदा उनी भक्कानिए। कोभिडले व्यवसाय धराप भएको समयमा आफू पनि जीवनको अन्तिम लडाइँ लडिरहँदा श्रीमतीको साथले नै सफल भएको उनले सुनाए। अघि भने– ‘५० दिन म आईसीयूमा बस्दा मलाई र व्यवसाय सम्हाल्न नन्दा नभएको भए अहिले केही रहने थिएन, अब म नेपालमै केही गर्न सकिन्छ भनेर युवाहरूलाई सन्देश दिने गरी काम गर्छु।’