गैंडाको खाग तस्करी गरेको अभियोगमा एकजना पक्राउ
हेटौंडा : नेपाली सेनाको टोलीले गैंडाको खाग तस्करीको आशंकामा एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चितवन राष्ट्रिय निकुञ्जबाट आएको नेपाली सेनाको टोलीले गैंडाको खाग तस्करीको आशंकामा हेटौंडा–८ स्थित कालिका टोलबाट आज एक जनालाई पक्राउ गरेको हो।
मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक विश्वराज खड्काका अनुसार पक्राउ गरिएको व्यक्तिलाई नेपाली सेनाको टोलीले चितवनस्थित राष्ट्रिय निकुञ्जमै लिएर गएको छ। पक्राउ गरिएको व्यक्तिको नाम अझै खुलेको छैन। सोही क्रममा सेनाले पाँच राउण्ड गोली चलाएको थियो। गोली चलेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो।
घटनाका प्रत्यक्षदर्शीका अनुसार सेनाले अनावश्यक रुपमा गोली चलाएका थिए। ‘सेनाले मान्छेलाई पूर्णरुपमा नियन्त्रणमा लिइसकेका थिए। तर, अनावश्यक रुपमा हवाइफायर गरे।’, घटनाको प्रत्यक्षदर्शीले भने। सेनाले पक्राउ गरेको मानिसको खुट्टामा समेत एक गोली प्रहार गरेको आरोप स्थानीयले लगाएका छन्। ‘पक्राउ गरेको मान्छे भाग्ने सक्ने सम्भावना नै थिएन। एकजनालाई ६–८ जनाले घेरेका थिए। यस्तो अवस्थामा सेनाले अनावश्यक रुपमा गोली प्रहार गरेर स्थानीयलाई त्रसित बनाए।’, प्रत्यक्षदर्शीका अनुसार पक्राउ गरेको मानिसलाई बोरामा कोचेर राखिएको थियो।
स्थानीयले सेनाको गाडि नियन्त्रणमा लिएपछि सेनाको टोलीले स्थानीयसँग माफी मागेका थिए। प्रहरीका अनुसार चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका संरक्षण अधिकृत दिनेश श्रेष्ठ, निकुञ्जका सुरक्षार्थ खटिएका नयाँ गोरख गणका उपसेनानी दीपक बास्कोटा नेतृत्वको टोली खाग तस्करको आरोपीलाई पक्राउ गर्न हेटौंडा आएका थिए।