जाजरकोटमा फेरि भूकम्प, टहरामै त्रसित स्थानीय

जाजरकोटमा फेरि भूकम्प, टहरामै त्रसित स्थानीय

जाजरकोट : जाजरकोट बारेकोट गाउँपालिका–५ नायकवाडाका मोतीलाल विश्वकर्मा बिहीबार बिहान उठ्ने तरखर गर्दै थिए। एक्कासि भूकम्पले जमिन हल्लिन थाल्यो, सुतिरहेकी छोरीलाई काखमा च्यापेर बाहिर निस्के। दुई वर्षअघि पत्नीको मृत्यु भएपछि सात वर्षकी छोरीको जिम्मा उनकै काँधमा छ। आर्थिक अभावले गर्दा भूकम्प गएको वर्ष दिन बितिसक्दा पनि उनी टहरामै गुजारा चलाउन बाध्य छन्। गत वर्ष जस्तै ठूलो भूकम्प आउँछ कि भन्ने चिन्ताले उनी दिनभर त्रसित भैरहे।

टहरामा चिसो निकै भएपछि गत वर्षको भूकम्पले चर्किएर ढल्ने अवस्थामा पुगेको घरमै सुत्ने गरेका नायकवाडा दीपबहादुर सिंह पनि भूकम्पको झड्काले झसंग भए। निन्द्रा ब्युझिसकेको थियो। चिसोले गर्दा बाहिर निस्किन सकेको थिइन्, उनले भने, ‘एक्कासि भूकम्पले सुतिरहेको बेड र घर हल्लाउन थालेपछि सबै परिवार बाहिर निस्क्यौं। फेरि भूकम्प आउँछ कि भन्ने त्रासले घरभित्र पसेनौं। बाहिरै आगो तापेर बस्यौ।’

बिहीबार बिहान ६ बजेर ३६ मिनेटमा जाजरकोटमा भूकम्प गयो। टहरामा दिन बिताइरहेका अरूमा त्रास फैलियो। ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार जिल्लाको बारेकोट गाँउपालिका–५ नायकवाडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। गत वर्ष कात्तिक १७ गते बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्र विन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा १ सय ५४ जनाको ज्यान गएको थियो। हजारौ निजी घर, विद्यालय र सार्वजनिक भवनमा क्षति पुगेको थियो।

 भूकम्प गएको १४ महिना पुग्न लाग्दा पनि  सरकारी बेवास्ताले गर्दा पीडितहरूको बिजोग छ। भूकम्पपीडितहरू चिसोले गर्दा बिरामी पर्न थालेका छन्। कठ्याग्रिँदो चिसोमा टहरामा झनै चिसो हुने गरेको पीडितहरूको गुनासो छ। टिनको टहरामा शीत चुहिने भएकाले पीडितहरू निकै मारमा परिरहेका छन्। 

नलगाड नगरपालिका–४ सार्कीवाडाकी धनमाया विक २१ दिनकी सुत्केरी हुन्। टिनको टहरामा बास छ। उनले भनिन्, ‘चिसोले निकै सताउने गरेको छ। चिसोले गर्दा मलाई ज्वरो आउने र टाउको दुख्ने समस्या देखिन थालेको छ। सानो बाबुलाई कसरी जोगाउने भन्ने चिन्ता छ।’ 

उनी जस्तै भर्खर सुत्केरी भएका आमा र नवजात शिशुहरू बिरामी पर्न थालेपछि उनीहरूलाई चिसोबाट जोगाउन निकै सकस भैरहेको वडाध्यक्ष बद्री पन्तले बताए। अस्थायी टहरामा बस्दै आएका भूकम्पपीडितहरू चिसोले बिरामी पर्न थालेका छन्। नवजात शिशु, बालबालिका, सुत्केरी र ज्येष्ठ नागरिक चिसोको मारमा परेको वडाध्यक्ष पन्तको भनाइ छ।

सोही वडाकी प्रेमा रावलले चिसोले गर्दा छोराछोरीलाई रुघाखोकीले निकै सताएको गुनासो गरिन्। पोहोरसालको हिउँद पनि टहरामै बितायौ। वैशाख जेठको गर्मी सह्यौं। यो हिउँद कसरी काट्ने हो। चिसोले मरिन्छ कि भन्ने चिन्ताले सताइरहेको छ उनले भनिन्, ‘एकसरो लुगाले मुटु छेड्ने सिरेटो छेक्नै मुस्किल पर्छ। चिसोले रातभर निन्द्रा नै लाग्दैन। न्यानो घरमा कहिले बस्न पाइएला ?   ’

 चिसोका कारण केही दिनयता झाडापखाला, ज्वरो, रुघाखोकीका बिरामी बढिरहेको नलगाड नगर अस्पतालका डा. विशाल उप्रेतीले बताए। चिसो थेग्न नसक्दा गत वर्ष जाजरकोटमा त्रिपाल र अस्थायी टहरामा ३८ जनाको ज्यान गयो भने झन्डै ६ हजार बालबालिका, वृद्धवृद्धा, सुत्केरी र गर्भवती बिरामी परेका थिए। जिल्ला अस्पताल जाजरकोटका प्रमुख डा. सुनील पुनले चिसोका बिरामी बढे पनि असामान्य अवस्था नरहेको तर सचेत रहन सबै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई आग्रह गरका छांै। सर्वसाधारणलाई पनि चिसोबाट जोगिन उनले आग्रह गरे।

सरकारले अस्थायी आवासकै दोस्रो किस्ता रकम दिन सकिरहेको छैन। तर, पीडितहरू भने  घर बनाउनका लागि सरकारी अनुदान कुरेर बसिरहेका छन्।

भूकम्पपीडितका लागि अस्थायी आवास बनाउन संघीय सरकारले २ किस्तामा २५-२५ हजारका दरले रकम दिने गरी कार्यविधि बनाएको थियो। तर, अझै पनि झन्डै ७५ प्रतिशत भूकम्पपीडितले दोस्रो किस्ताबापतको रकम पाउन सकेका छैनन्।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीका अनुसार अहिलेसम्म झन्डै ११ हजार लाभग्राहीलाई मात्र दोस्रो किस्ताबापतको २५ हजार रकम दिइएको छ। जाजरकोटमा ४० हजार ४१ लाभग्राही कायम गरिएकोमा अझै २९ हजारले दोस्रो किस्ता रकमसमेत पाउन सकेका छैनन्। स्थानीय तहमा गएर होल्ड भएको रकमबाहेक अझै दोस्रो किस्ताका लागि ६० करोड रुपैयाँ आवश्यक पर्छ। उक्त रकम राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत सरकारसँग माग गरेको हप्ता दिन भइसक्दा पनि प्राप्त हुन सकेको छैन।

त्यस्तै रुकुमपश्चिममा ३४ हजार ९ सय ९७ लाभग्राही कायम गरिएकोमा करिब १६ हजारले दोस्रो किस्ताबापतको रकम पाएको प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीले बताए।

अहिलेसम्म क्षतिको पूर्णविवरण अर्थात् डिटेल ड्यामेज एसिस्मेन्ट (डीडीए) पनि हुन सकेको छैन, जसले पुनर्निर्माण कहिले हुने हो भन्ने अन्योल छ। पुनर्निर्माणको कार्यविधि नबन्दा समस्या भइरहेको जिल्ला समन्वय समितिका प्रमुख कालीबहादुर खत्रीले बताए। ‘कार्यविधि मन्त्रिपरिषद्मा गएको छ भन्ने सुनिएको छ, त्यसपछि क्षतिग्रस्त संरचनाको पुनर्मूल्यांकन काम पनि होला,’ उनले भने, ‘सरकारले छिटोभन्दा छिटो पुनर्निर्माणको प्रक्रिया थाल्न ढिला गर्नुहुँदैन। नत्र पीडितको अवस्था झनै बिजोग हुनेछ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.