पोखरामा १० औं चार्टर विमान अवतरण, पञ्चेबाजाले पाहुनालाई स्वागत
पोखरा : पोखरा विमानस्थल उद्घाटन गरेको दुई वर्ष पुग्दै छ। दुई वर्ष पुग्दै गर्दा पोखराबाट १० चार्टर उडानमात्र भएका छन्। बिहीबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर विमान अवतरण भयो। चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको जहाज चार्टर गरेर १ सय २९ चिनियाँ खेलाडी, अफिसियलसहितको टोली पोखरा आइपुग्दा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, चिनियाँ राजदूतलगायतले स्वागत गरे।
सिचुवान एयरको पोखरा विमानस्थलमा यो तेस्रो चार्टर उडान हो।
पोखराको फेवातालमा पुस १४ र १५ गते हुने दोस्रो ड्रागन बोट फेस्टिभलका लागि चिनियाँ टोली विमान चार्टर गरेर पोखरा आइपुगेका हुन्।
विमानस्थलको अन्तर्राष्ट्रिय ट्रमिनलबाट बाहिरने ढोका अगाडि नै पञ्चेबाजा बजाएर नेपाली पहिरनमा नृत्य गर्दै पोखरेली कलाकारले चिनियाँ टोलीलाई स्वागत गरेका थिए। यसरी हरेक चार्टर प्लेनबाट आउने पाहुनालाई पोखरेलीले यसैगरी स्वागत गर्ने गरेका छन्।
विमानस्थल सञ्चालनको दुई वर्ष पुग्नै लाग्दा कहिलेदेखि नियमित अन्तर्राष्ट्रिय उडान हुने हो र चार्टर विमानमा आएका पर्यटकलाई यसरी नै स्वागत गर्ने शृंखला कहिलेसम्म चल्ने हो टुंगो भने छैन।
पोखरामा चीन, भुटान र भारतबाट गरी अहिलेसम्म दस वटा चार्टर उडान भए पनि रेगुरल उडान कहिलेबाट हुन्छ भन्ने अझै यकिन नभएको हो।
पुस १७ गते पोखरा विमानस्थल उद्घाटन गरेको दुई वर्ष पुग्दैछ। दुई वर्ष पुग्दै गर्दा पोखराबाट १० चार्टर उडानमात्र भएका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आन्तरिक उडानबाटै सन् २०२३ जनवरी १ मा गरिएको थियो।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले त्रिभुवन विमानस्थलले हाल क्षमताभन्दा बढी भार व्यहोरिरहेकाले उक्त भार पोखरा र भैरहवामा विभाजन गर्न सके दुवै विमानस्थल चल्ने बताए।
सरकारले त्रिभुवन विमानस्थलको भार कम गर्न पोखरा र भैरहवामा विमानस्थल बनाएको पनि अधिकारीले बताए। त्रिभुवन विमानस्थल टर्मिनलको वार्षिक क्षमताभन्दा दोब्बर बढीमा सेवा दिनु परेको उनले सुनाए। विमानस्थल टर्मिनलको वार्षिक क्षमता ५० लाख यात्रु रहेको तर अहिले एक करोडलाई सेवा दिनु परेको उनले बताए। पोखरा र भैरहवालाई बाँड्न सके त्रिभुवन विमानस्थलको लोड कम हुने र पोखरा र भैरहवा विमानस्थल पनि नियमित उडान हुने उनले बताए।
त्रिभुवन विमानस्थलको लोड कम गरेर नेपाल एयर लक्ड हुने खतराबाट बचाउन राज्यले रणनीतिक हिसाबले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल बनाएको नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशले बुधबार पोखरामा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै अधिकारीले सुनाए। त्रिभुवन विमानस्थलको ट्राफिकलाई पोखरा र भैरहवामा लैजानतर्फ राज्यले नियमन गरेर लैजान पहल गर्नुपर्नेमा उनको जोड थियो। यसका लागि पोखरेलीले पनि पहल गर्नुपर्ने उनले सुनाए।
महानिर्देशक अधिकारीले पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि गण्डकी प्रदेशबाट वैदेशिक रोजगारीमा जाने श्रमिकलाई यहीँबाट उड्ने व्यवस्था गर्नुपर्ने बताए। गण्डकीबाट वैदेशिक रोजगारमा जाने यात्रु पोखराबाट उडाउन सके त्रिभुवन विमानस्थलको यात्रु चाप पनि कम हुने उनले बताए।
यसैगरी लुम्बिनी प्रदेशबाट वैदेशिक रोजगारमा जानेहरूलाई भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट जाने सुविधा पाउने गरी उडानको व्यवस्था मिलाउन सके दुवै विमानस्थलबाट पनि नियमित उडान हुने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको लोड पनि कम हुने उनले बताए। पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान शीघ्र सञ्चालन गर्ने सम्बन्धमा पोखराका व्यवसायीले नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीसँग बिहीबार पोखरामा आयोजना गरेको छलफलमा बोल्दै महानिर्देशक अधिकारीले पोखरा र भैरहवा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि स्थानीयले पनि पहल गर्नुपर्नेमा जोड दिएका थिए।
छलफल कार्यक्रममा पोखराका पर्यटन व्यवसायीले नियमित अन्तर्राष्ट्रिय उडान हुने र पर्यटकको आगमन बढ्ने विश्वासमा पर्यटन पूर्वाधारमा खर्बौं लगानी बढाएको तर विमानस्थबाट नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन क्षेत्र प्रभावित भएको बताएका थिए।