पारखीको रोजाइ, ‘रोयल हिमालयन कफी’

पारखीको रोजाइ, ‘रोयल हिमालयन कफी’

काठमाडौं : साथीसँग भेट भयो, कफी खान जाउँ। कसैलाई कुर्नुपर्‍यो, कफी खाउँ। मान्ड फ्रेस बनाउन पर्‍यो, कफी खाउँ। आजकल कफीकल्चर यति व्यापक बनिसकेको छ, सायद कफी नपिउने मान्छे कमै होलान्। गाउँले परिवेशले दूध, दही र मोहीबाट हात धुँदो अवस्थामा छ। सहरका हरेक चोक र गल्लीले कफीसपलाई स्वीकार गरिसकेको छ। इथियोपियाबाट सुरु भएको एउटा कल्चर, जुन हाल विश्व बजारमा प्रथम सूचीमध्ये प्रथममा छ। 

नेपालमा कफीको इतिहास हेर्ने हो भने धेरै लामो इतिहास छैन। विसं १९९५ मा हीरा गिरी नाम गरेका भिक्षुले सर्वप्रथम अरेबिया जातको कफी ल्याएर रोपे। तर, २०२५ सालसम्म नेपालीहरूलाई कफीको कुन भाग खाने भन्ने थाहा थिएन। पात खाने कि गेडा ? सबैजना अनविज्ञ थिए। ५६ वर्ष अघिसम्म कफीको के खाने भन्नेबारे थाहा नभएको नेपाली समाज हाल कफी पिउनेमात्रै नभएर व्यावसायिक खेतीतर्फसमेत आकर्षित हुँदै गइरहेको छ। नेपालबाट उच्च गुणस्तरको कफी उत्पादन गर्दै निर्यातसमेत भइरहेको छ। 

000

सिन्धुपाल्चोक मेलम्ची घर भएका केदार सापकोटा (मदन) पनि बाल्यकालमा कफी कसरी बनाएर खाने भन्ने सोच्थे। गाउँमा कफीका बोट थिए, दाना राता भएपछि टिपेर खान्थे, गुलियो स्वाद हुन्थ्यो। तर, जब १० कक्षाको पढाइ सकेर उनी काठमाडौं छिरे, सहरकोे कफीको स्वाद बिल्कुलै फरक पाए। गाउँमा गुलियो हुने कफी सहरमा तितो भयो। कसरी ? ‘कफी कसरी तीतो हुन्छ ? ’ उनलाई कैतुहलता बढ्न थाल्यो। कफीबारे बढ्दै गएको कैतुहलता मेट्न उनले ‘हिमालयन बिन्स’ मा काम गर्न थाले। सन् २०१० देखि २०१५ सम्म उनले कफीको उत्पादनदेखि लिएर प्रशोधन, माग, खपत, बिक्री, निर्यातलगायत सबैबारे जानकारी लिए। पाँच वर्षको सिकाइले उनलाई धेरै अनुभव दियो। त्यो पाँच वर्षमा उनले कफीलाई यसरी बुझे मानौं कफी नै उनको साथी हो र उनको लक्ष्य केवल कफीसँग मात्रै जोडिएको छ। 

सुरुमा मदनलाई कफीप्रतिभन्दा पनि कफी किसानसँग प्रत्यक्ष रूपमा जोडिएर काम गर्ने चाहना थियो। चाहना बिस्तारै सपनामा परिणत हुँदै गयो। पाँच वर्षको अनुभव र नेपालमा कफीको माग अनि खपत उनलाई यति नै अथाह भइदियो। उनी आफैंले कम्पनी खोले। नाम रह्यो,– ‘रोयल हिमालयन कफी’। जसले कफीको उत्पादन बिक्री, वितरण र विभिन्न देशमा निर्यात समेत गरिरहेको छ।

लगभग एक दशकअघि सञ्चालनमा आएको रोयल हिमालयनले किसानलाई व्यावसायिक कफीखेतीतर्फ आकर्षित गराएको निर्देशक मदन बताउँछन्। ‘सुरुमा कफी कसरी खानेसमेत थाहा नभएको मानिसले अहिले व्यावसायिक खेतीमा लागेका छन्। तर मानिसमा कफीबारे चेतना अझै कम भएकाले मागअनुसार उत्पादन भने हुन सकिरहेको छैन।’

रोयलले उत्पादन गरेका कफी जापान, कोरियालगायतका विश्वका विभिन्न ठाउँमा पुग्छन्। तर, स्थानीय बजारमा नै आपूर्ति गर्न नसक्दा कफीले लिनुपर्ने व्यापार भने लिन सकिरहेको छैन। छिमेकी देश भारतको डाटा हेर्ने हो भने भारतले मात्रै वार्षिक ३ लाख टन कफी उत्पादन गर्छ। एसियन राष्ट्र भियतनाममा ९ लाख टन कफी उत्पादन भइरहँदा नेपालमा भने ५ सयदेखि ६ सय टनमात्रै उत्पादन हुन्छ। जुन नेपाली बजारको मागभन्दा आधा पनि छैन। हाल नेपाली बजारमा वार्षिक १५ सय टन कफीको आवश्यक छ। तर, किसानहरू व्यावसायिक कफीखेतीप्रति आकर्षित हुन सकिरहेका भने छैनन्। कारण हो– कफीबारे हाम्रो दिमागमा बसेको धारणा। यसैसँगै युवा किसानहरू देशमा नहुनु र पुराना पुस्ताका किसानलाई कफीबारे बुझाउन नसक्दा कफीको व्यावसायिक खेती हुन नसकेको मदनको बुझाइ छ। उनी भन्छन्, ‘बजारमा कफीको मार्केट धेरै राम्रो छ। उत्पादन गर्ने हो भने सबै नेपाली बजारमै खपत हुन्छ, तर यहाँ उत्पादन भएको कफीले नेपाली बजारमा नै पुग्दैन। मुख्यतयाः गाउँमा जनशक्तिको अभाव हुनु र भए पनि युवा किसान नहनु र व्यावसायिक कफीखेती नहुनु हो।’ 

कफीखेती मध्यपहाडका ४२ भन्दा बढी जिल्लाहरूमा विस्तार भएता पनि २५ देखि ३० जिल्लाहरूमा मात्रै व्यावसायिक रूपमा खेती गरेको पाइन्छ। त्यसमा पनि मुख्य गरी गुल्मी, पाल्पा, स्याङ्जा, अर्घाखाँची र प्यूठान, स्याङ्जा, कास्की, धादिङ, ललितपुर, काभ्रे, नुवाकोट, सिन्धुपाल्चोक, इलाम, धनकुटा रहेका छन्। 

रोयलले उत्पादन गरेका कफी नेपालका हरेक होटल र हस्पिटालिटीको रोजाइमा पर्ने गरेको छ। कफीखेतीसँगै कफीकल्चरलार्ई अघि बढाइरहेको रोयलका चार सयभन्दा बढी ग्राहक छन्। जसको माग धान्न रोयललाई गाह्रो छ। जसकारण रोयल कफी किसानहरूलाई सहयोगसमेत गर्दै आइरहेको छ। किसानलाई कफीको बिरुवा दिने, विभिन्न जिल्लामा गएर तालिम दिने, पल्पर मोसिन दिने, नर्सरीका लागि पोलीब्याग दिने, बायोफर्टिलाइजर दिने आदिजस्ता काम रोयल हिमालयनले गर्दै आइरहेको छ। यससँगै रोयल हिमालयनले यदि कुनै किसानले म चार, पाँच रोपनीमा कफीखेती गर्छु भनेर भनेमा त्यसको जिम्मासमेत लिने मदन बताउँछन्। उनी भन्छन्, ‘यदि कुनै किसान कफीखेती गर्छु भनेर आउनुभयो भने हामी उहाँहरूलाई ग्यारेन्टी गरेर कन्ट्र्याक्ट साइन गरेर लिन्छौं, उहाँहरूलाई चाहिने टेक्निकल सपोर्ट पनि हामी नै दिन्छौं र कफी पनि हामी नै किन्छौं। ’ 

सामान्यतया मानिसले कफी भन्नासाथ ‘इन्स्टेन्ट कफी’ भन्ने बुझ्छन्, तर वास्तवमा कफीलाई दुई चरणमा बुझनुपर्छ। एक ‘इन्स्टेन्ट कफी’ र अर्को ‘बिन्स कफी’। जसको उत्पादनदेखि लिएर बनाउने तरिकासम्म फरक हुन्छ। ‘बजारको मागअनुसार उचित मूल्य पाउने हो भने कफीको मार्केट राम्रो छ। नेपालमा पनि राम्रो र गुणस्तरीय कफी उत्पादन हुन्छ।’ रोयल हिमालयनले यही कुरालाई मध्यनजर गर्दै उत्कृष्ट कफी उत्पादन गरिरहेको मदन बताउँछन्। ‘हामीले २५ जिल्लाका किसानहरूबाट प्रत्यक्षरूपमा कफी लिएर, प्रोसेसिङ गरेर ग्रीन बिन्स बनाउने गरिरहको छौं। जसको उत्पादनदेखि लिएर प्याकेजिङसम्म धेरै फरक हुन्छ।’ उनी भन्छन्, ‘किसानबाट राता दाना भएको कफी लिएपछि पल्पस मेसिनमा राखेर ब्रोका छोडाउने काम हुन्छ। ब्रोका छोडाएका कफीलाई ४८ घण्टासम्म पानीमा भिजाएर राखेपछि पुनः १४–२२ दिनसम्म घाम सुकाइन्छ, त्यसपछि मात्रै हलिङको काम सुरु हुन्छ। त्यसलाई पखाल्ने वा भिजाएर राखेन भने रियाक्ट गर्ने चान्स हुन्छ। कफी सुकेपछि क्वालिटीअनुसार कफी छान्ने काम हुन्छ र छानेका कफीलाई ग्रेडिङ गरेर फाइन क्वालिटीको ग्रिन बिन्स बनाउँछौं र अन्तिममा त्यसलाई रोस्ट गर्ने र आफैं प्याकेजिङ गरेर डिलरहरूबाट सप्लाई गर्छौं। त्यसकारण रोयल हिमालयनको कफीको उत्पादन उत्कृष्ट छ।’ 

कफी नाप्ने विभिन्न प्यारामिटर हुन्छन्। जस्तै खानुअघिको बास्ना, खाँदाखेरी र खाइसकेपछिको स्वाद, हेर्दा कस्तो देखिन्छन् आदि विभिन्न प्रकारका प्यारमिटरहरू हुन्छन्। जसमा नेपाली कफी सबैभन्दा उत्कृष्ट भएको उनी बताउँछन्।

के कस्ता छन् चुनौती ?

नेपालमा विशेषता अनुसन्धान नहुँदा कफीप्रति मानिसहरू आकर्षित हुन सकेका छैनन्। पुरानै बालीले लगातार रूपमा धेरै फल दिन नसक्नु त्यसका लागि अनुसन्धान गरेर नयाँ प्रजातिको कफीका बिरुवा र भौगोलिकता, वातावरणअनुसार तयार गर्न नसक्नु चुनौती भएको मदन बताउँछन्। 

‘नेपालमा पहिलादेखि नै लगाउँदै आएको कफीको उत्पादन क्षमता कम छ। नेपालको भौगोलिकता, वातावरणअनुसार कुन जातका कफी राम्रो हुन्छ, त्यो बारे अनुसन्धान हुनुपर्छ। नयाँ प्रजातिका र समयसापेक्ष कफीका बोट भएमा कफी उत्पादनमा पनि वृद्धि हुन्छ र लागत पनि कम लाग्छ,’ उनले भने। 

यस्तै उनी सबैभन्दा ठूलो चुनौती युवा पलायनलाई मान्छन्। युवाहरू पलायन नभई यही मेहनत गर्न सके, कफीको उत्पादमा वृद्धि हुने बताउँछन्। व्यवसायीहरूले किसानहरूको उत्पादनको ग्यारेन्टी लिनुपर्ने उनी बताउँछन्। 

उनी भन्छन्, ‘युवाहरूले विदेशमा गएर गर्ने मेहेनत यही नेपालमा गर्‍यो भने हामीले अन्त कतै जानु पर्दैन, किन विदेशमा गएर मानसिक तनाव लिएर काम गर्नुपर्‍यो ? , यहीँ सबैथोक हुन्छ मेहनत र धैर्य गर्नुस् सब हुन्छ र किसाने कफीबारे बुझनुपर्‍यो, कफी के हो, कस्तो ठाउँमा रोप्नुपर्छ, कसरी स्याहार गर्न सकिन्छ, कसरी हेरचाह गर्ने भन्नेबारे जानेर मात्रै रोप्नुपर्छ, जस्तो पनि ठाउँमा रोपेर कफी फल्दैन, अरूलाई जस्तै यसलाई पनि मलिलो माटो चाहिन्छ आदि सबै कुराको जानकारी लिएर मात्रै रोप्नुपर्छ र व्यापारीहरूले पनि उत्पादनको ग्यारेन्टी लिनुपर्छ।’

000

विश्व बजारमा नेपाली कफीको अधिक माग छ। यहाँको हावापानी, भूगोल जग्गाजमिन सबै उच्च गुणस्तरको कफी उत्पादनका लागी उपयुक्त छ। जसकारण नेपालको मध्यपहाडी जिल्लाहरूमा व्यावसायिक कफी उत्पादनको प्रचुर सम्भावना छ। जसका लागि प्रविधि, अनुसन्धान, सरकारी निकायको मद्दत र किसानहरूको हौसला भएमा नेपालले कफीमार्फत अर्थतन्त्रमा कायापलट गर्न सक्दछ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.