दोस्रो मुसिकोट महोत्सव सुरु

दोस्रो मुसिकोट महोत्सव सुरु
सुन्नुहोस्

गुल्मी : गुल्मीमा दोस्रो मुसिकोट कृषि, पर्यटन, खेलकुद, सांस्कृतिक, औद्योगिक एवम् व्यापार महोत्सव सुरु भएको छ। मुसिकोट आसपास क्षेत्रका घरेलु तथा स्थानीय उत्पादनको प्रदर्शनी सहित प्रचारप्रसार, उद्योगको संरक्षण, विकास तथा उनीहरूको उत्पादनलाई बजारीकरण, संस्कृतिको संरक्षण सँगै खेलकुद क्षेत्रको विकासका लागि महोत्सव आयोजना गरिएको गुल्मी मुसिकोट उद्योग वाणिज्य संघका अध्यक्ष गोपीकृष्ण खरेलले जानकारी दिए। 

उनले यस महोत्सवको माध्यमबाट स्थानीय कला र संस्कृतिको संरक्षण गर्दै मुसिकोट नगरपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पर्यटक भित्राउने अपेक्षा राखिएको बताए। मुसिकोट दरबार, वामीको शालीमे दह, वामी कोट, ताराखसे, कुर्घाको मालिका मन्दिर, स्वाँरा होमस्टे, पौदी अमराइको छत्रभुमी मन्दिर, सीता गुफा, तिलेचुली बडागाउँको लालीगुराँस थुमपार्क लगायतका विभिन्न स्थान यस क्षेत्रमा पर्ने पर्यटकीय स्थलहरू छन्। 

गुल्मी मुसिकोट उद्योग वाणिज्य सघंको आयोजनामा सुरु भएको महोत्सवको मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले उद्घाटन गरेका हुन्। महोत्सवको उद्घाटन गर्दै नगरप्रमुख खरेलले यहाँका व्यवसायी र नगरवासीको हित र रक्षाका लागि नगरपालिका सँगै रहेको बताए। उनले स्थानीय कला संस्कृतिको जगेर्ना गर्दै उत्पादनसँग युवालाई जोड्न सकेमा पछिल्लो समय देखिएको बढ्दो बसाइँसराई रोक्न थप टेवा पुग्ने बताए। मेला महोत्सवको माध्यमबाट यहाँका स्थानीय कला, संस्कृति, कृषि प्रदर्शनी, नेपाली मौलिकताका साथै नगरपालिका भित्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरेर पर्यटन प्रवर्द्धन सहयोग मिल्ने नगरप्रमुख खरेलले बताए। 

नगरपालिका संरक्षक रहेको महोत्सव आगामी पुस २१ गतेसम्म चल्ने छ। १२ दिनसम्म चल्ने महोत्सवमा दैनिक राष्ट्रिय स्तरका कलाकारहरू प्रस्तुति रहने छ। महोत्सवमा नगरपालिका भित्रका विभिन्न परम्परागत झाँकीहरू सराँय नाच, लाखे नाच, भजन, नौमती बाजा, सोरठी, हेम्फाई नाच लगायत संस्कृतिको संरक्षण, झिनिया रोटी लगायत विभिन्न खानाका परिकारहरूको प्रचारप्रसार गरी प्रवर्द्धन गर्ने लक्ष्य राखिएको वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा सांस्कृतिक कार्यक्रम संयोजक ज्ञानहरि सापकोटाले बताए। उनले महोत्सवमा ७० वटा स्टल राखिएको बताए। जसमा कृषि प्रदर्शनी, घरेलु तथा साना उद्योग र महिला उद्यमीका लागि निःशुल्क स्टल व्यवस्था गरिएको छ। 

महोत्सवमा स्टल राख्ने मुसिकोट नगरपालिका भित्रका व्यवसायीलाई १५ प्रतिशत छुट गरिएको वरिष्ठ उपाध्यक्ष सापकोटाले बताए। महोत्सवमा विद्यार्थीलाई ५० रुपैयाँ र सर्वसाधारणलाई ८० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ।’ 

महोत्सवमा स्थानीय कृषि उपज, उद्योग उत्पादन र शैक्षिक सामाग्री प्रदर्शनी गरिने भएको छ भने विद्यालय स्तरीय सामूहिक नृत्य प्रतियोगिताको समेत आयोजना गरिएको बताइएको छ। महोत्सवको दोस्रो दिन गायन आइडल, मुसिकोट डान्स आइडल र भलिबल खेल सञ्चालन गरिने प्रचारप्रसार उपसमितिका संयोजक वसन्त अधिकारीले जानकारी दिए। 

संयोजक अधिकारीका अनुसार मुसिकोट लोक आइडल र डान्स प्रतियोगितामा प्रथम हुनेले १० हजार, कप र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै दोस्रोले ७ हजार, तेस्रोले ५ हजार र सान्त्वना हुनेले ३ हजार कप र प्रमाणपत्र प्राप्त गर्नेछन्। 

खुला पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने समूहले २ लाख १ हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। जसमा दोस्रोले १ लाख १ हजार, तेस्रोले ५० हजार र सान्त्वनाले २५ हजार कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। दोस्रो मुसिकोट महोत्सवमा १ करोड २५ लाख बराबरको कारोबार र करिब ३० हजार दर्शक भित्राउने आयोजकले लक्ष्य राखेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.