वनभोजमा रमाए हात्ती
चितवन : टेबलमा हात्तीलाई मनपर्ने परिकार राखिएको थियो। हात्तीका अगाडि उनीहरूलाई मन पर्ने खिरदेखि ड्र्यागन फ्रुट, स्याउ, उखु, केरा, घाँस, खर्बुजा, भुइँकटहर, मकै, पाउरोटी, सुन्तला, भेलिमा लगायतका खानेकुरा राखिएको थियो।
पर्यटन र संरक्षणमा जोडिएका घरपालुवाले शनिबार बिदा पाए। पर्यटकलाई ढाडमा बोकेर जंगल सफारी गराउने हात्तीले बिदामा वनभोज खाए। हात्तीले पनि सबै खानाको स्वाद लिए। सौराहामा भएको चितवन हात्ती तथा पर्यटन महोत्सवमा आयोजना गरिएको वनभोजमा हात्ती रमाए। ‘जसरी हामी पिकनिक जाँदा रमाउँछौं, त्यसरी नै हात्तीलाई मनपर्ने खानेकुरा खुवाउँदा हात्ती खुसी हुन्छन्’, युनाइटेड हात्ती सञ्चालन सहकारीका अध्यक्ष दीपेन्द्र खतिवडाले भने, ‘राम्रो खुवाउने र स्याहार गर्नुपर्छ भन्ने सन्देश पनि हो यो।’
बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा आयोजना गरिएको हात्तीको वजभोजमा दर्शक पनि उत्तिकै रमाए। हात्तीको नजिक गएर हात्तीलाई खानेकुरा खुवाएका थिए। यसपटक ३५ वटा हात्तीलाई वनभोज खुवाइएको थियो। पर्यटन प्रबद्र्धनसँगै हात्तीको संरक्षण र यसको महत्व, वन्यजन्तु संरक्षणमा जागरण ल्याउन हात्ती महोत्सव गरिएको संयोजक रामकुमार अर्यालले बताए। पर्यटन व्यवसाय धान्ने हात्तीको संरक्षण र महत्व बुझाउन महोत्सव गरेका हौं,’ अर्यालले भने, हात्तीप्रति सद्भाव प्रकट गर्न हामीले वनभोज गरेका हौं’, उनले भने, ‘काममा मात्र होइन, बिदा दिएर उनीहरूलाई खुसी बनाएर स्याहारमा पनि उत्तिकै गम्भीर छौं भन्ने देखाउन खोजेका हौं।’
पर्यटकको आकर्षणका लागि सन् २०१४ बाट हात्तीको वनभोज कार्यक्रम सञ्चालनमा छ। हरेक वर्ष हात्ती महोत्सवमा हात्तीको वनभोज आयोजना गरिन्छ। १८औं संस्करणको हात्ती महोत्सवअन्तर्गत शनिबार हात्तीको वनभोज र पेनाल्टी सुटआउट भएको थियो। सन् २००५ देखि क्षेत्रीय होटल संघ सौराहाले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर हात्ती महोत्सव गर्दै आएको छ।
महोत्सवमा हात्तीको पेनल्टी शूट आउट, सुन्दरी प्रतियोगिता र हात्तीहरूको वनभोज कार्यक्रम आयोजना गरिएको हो। हात्ती महोत्सव पुस १५ सम्म चल्नेछ।