अहिलेको सरकार असफल भए देश अराजकतातर्फ जान्छ : शेखर कोइराला
धनुषा : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको सरकार असफल भए देश अराजकतातर्फ जाने दाबी गरेका छन्। आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले वर्तमान सरकारलाई सफल बनाउन सबै पक्षले जिम्मेवार भएर काम गर्नुपर्ने बताएका हुन्।
‘राजनीतिक अस्थिरताले देशको विकासमा अवरोध सिर्जना गरिरहेको अवस्थामा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सहमति भइ वर्तमान सरकार गठन भएको छ। यदि वर्तमान सरकार असफल भयो भने देश अराजकतातर्फ जान सक्छ।’ कोइराला भने, ‘वर्तमान सरकारलाई कुनै पनि हालतमा सफल बनाउनुपर्छ ।’
उनले अहिलेको गठबन्धन सरकार दुई पार्टीको सहमतिको आधारमा बनेकाले अबको डेढ वर्षपछि एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्नु हुने र काँग्रेसको नेतृत्वमा २०८४ को निर्वाचन हुने जानकारी गराए।
कोइरालाले नेपाली कांग्रेसलाई एकताबद्ध बनाएर लैजानुपर्ने बताए। आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्न तयार रहेको उल्लेख गर्दै पार्टीभित्र कुनै पनि प्रकारको मनमुटाव नरहेको कोइरालाको भनाई छ। उनले सभापति शेरबहादुर देउवासँग आफ्नो पूर्ण सहकार्य एवं समन्वय भएको बताउँदै पार्टीमा कुनै प्रकारको विवाद र मतभेद नभएको स्पष्ट पारे। कोइरालाले गगन थापा आफूहरूसँग नै रहेको भन्दै आगामी महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने विषयमा कुनै कुराकानी नभएको बताए।
पार्टीमा १५ वर्षसम्म महाधिवेशन प्रतिनिधि भएका कुनै पनि नेता सभापति पदका लागि उम्मेदवार बन्न सक्ने वैधानिक व्यवस्था रहेको उनले स्पष्ट बताए। उनले गगन थापा र पूर्वराजाबीच भेटवार्ता भएको विषयमा आफूलाई कुनै जानकारी नभएको जिकिर गरे।